वरिष्ठ भाषाशास्त्री पोखरेल आईसीयूमा
वरिष्ठ साहित्यकार एवं भाषाशास्त्री प्राध्यापक बालकृष्ण पोखरेल (८६) एक महिनादेखि बिरामी छन् ।
मस्तिष्कघातबाट पीडित पोखरेलको रक्तचाप घटेपछि विराटनगरको श्री अस्पतालमा आईसीयूमा राखिएको छ ।
भारतको सिक्किमस्थित गान्टोकमा छोरीको घरमा गएका बेला मस्तिष्कघात भएपछि उनलाई काठमाडौं ल्याइएको थियो । काठमाडौंमा नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारपछि उनलाई विराटनगरको स्पार्क अस्पतालमा भर्ना गरिएको थियो ।
४ फागुन बेलुका स्वास्थ्यमा थप समस्या देखिएकाले पोखरेललाई पुनःअस्पताल भर्ना गराइएको परिवारले जनाएको छ ।
साहित्यकार हरि बरालका अनुसार, आईसीयूमा राखिएका पोखरेललाई अरुसँग भेटघाट गर्न दिइएको छैन । “डाक्टरले गुरुलाई दुई, तीन दिनमा घर पठाउने भनेका छन्” बरालले भने ।
५ फागुनमा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतबहादुर कार्कीले पोखरेललाई अस्पताल गएर भेटेका थिए । मन्त्री कार्कीले उनको स्वास्थोपचारमा प्रदेश सरकारले सहयोग गर्ने वचन दिएका छन् ।
पछिल्ला वर्षहरुमा आफूसँग समय कम र गर्नुपर्ने काम धेरै भएको भन्दैं पोखरेलले अधिकांश सार्वजनिक कार्यक्रमहरुको निम्ता अस्वीकार गर्दै आएका थिए ।
नेपाली भाषाको शब्दकोष निमार्णमा नेतृत्वदायी भूमिका खेलेका पोखरेलका ३७ वटा उपन्यास प्रकाशित छन् । निबन्ध, कविता, समालोचनामा पनि उनको उत्तिकै दख्खल छ ।