टिप्पणीमंगलबार, ७ फाल्गुण , २०७५

बनारसको ‘नेपाली मन्दिर’

वसन्त महर्जन

नेपालसँग ऐतिहासिक साइनो र नेपाली माहोल रहेको बनारसलाई उपयोग गरेर पर्यटन प्रवर्द्धन गर्न सकिन्छ।

तस्वीर: वसन्त महर्जन

प्रसिद्ध तीर्थस्थल बनारस (भारत) नेपाली पर्यटन उद्योगको गतिलो प्रचारस्थल बन्न सक्छ । विदेशी भन्दा बढी भारतीय नागरिकले नै आन्तरिक पर्यटन गर्ने बनारसमा ‘नेपाली माहोल’ पनि छ ।

गंगा किनारस्थित ललिताघाट भन्दा ठीक माथि रहेको ‘नेपाली मन्दिर’ नामले प्रसिद्ध साम्राज्येश्वर महादेव मन्दिरको अवस्थिति गंगा दर्शनका लागि उपयुक्त थलो हो र यही थलोबाटै नेपाल भ्रमणको प्रचारप्रसार गर्न सकिन्छ । नेपाली कला, वास्तुकला र धर्म–संस्कृतिको प्रतिनिधित्व गर्ने मन्दिर परिसरमा पूरै नेपाली वातावरण छ ।

सरकार ‘नेपाल भ्रमण वर्ष–२०२०’ को तयारीमा छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको यो कार्यक्रमको प्रचारप्रचार शैलीमा खासै नौलोपन नहुँदा पर्यटकको आगमनको ग्राफ बढे पनि प्रवृत्ति पुरानै हुने अर्थात् भारतीय पर्यटककै वर्चस्व कायम रहने देखिन्छ । अधिकांश भारतीय पर्यटकको रुचिमा पशुपतिनाथ लगायत हिन्दू तथा बौद्ध तीर्थस्थल र पोखरा पर्ने गर्छन् ।

फुर्सदको दिन गंगा किनारमा बसेर यो पंक्तिकारले करीब तीन घन्टा एउटा अनौपचारिक सर्वेक्षण गरेको थियो । नजिक परेजति सबैसँग कुरा गरिएको त्यो सर्वेक्षणमा भारतका विभिन्न ठाउँबाट बनारस आएका पर्यटकहरूका लागि नेपाल र पशुपतिनाथ मन्दिर पर्यायवाची जस्तै रहेको थाहा भयो । उनीहरू सबैजसो पशुपतिनाथ मन्दिरको दर्शन गर्न इच्छुक देखिन्थे । पर्यटनका लागि गन्तव्य निर्धारण गर्दा उनीहरू कुनै पुस्तक वा एजेन्सीको कुरामा भन्दा फिल्म वा कोही विश्वासीले दिएको सुझावबाट बढी प्रभावित हुँदारहेछन् ।

विभिन्न कामविशेषले बनारसलाई नै बसोवासको स्थायी थलो बनाएका नेपालीको बाक्लो उपस्थिति छ, यहाँ । नेपालसँग आत्मीयता राख्ने यही नेपाली समाजलाई उपयोग गर्न सकिन्छ नेपालको पर्यटन प्रवर्द्धनमा ।

भारतस्थित नेपाली राजदूतलाई संरक्षक बनाई यहाँका नेपालीहरूले ‘साम्राज्येश्वर पशुपतिनाथ मन्दिर तथा धर्मशाला संचालक समिति’ गठन गरेका छन् । समिति बन्नुअघि (वि.सं. २०५६) यहाँका नेपालीहरूमा मन्दिरसँग भावनात्मक सम्बन्ध मात्रै थियो ।

मन्दिरका पुजारीका अनुसार मन्दिर र नेपाली समाजबीच औपचारिक सम्बन्धकोे संयन्त्र नै थिएन । तर अहिले समिति बनेपछि मन्दिर तथा सत्तल पहिलेको तुलनामा सुव्यवस्थित भएको छ ।

मन्दिरको गजुरको अभिलेख अनुसार नेपालका तत्कालीन राजा राजेन्द्रविक्रम शाह र युवराज सुरेन्द्रविक्रम शाहले संवत् १९०० साल माघ वदि ३ रोज ४ का दिन उक्त गजुर चढाएका हुन् ।

नेपालका बडामहारानी साम्राज्यलक्ष्मीदेवीले शेषअघि (१८९८) आफ्नो नाममा बनारसमा एउटा शिव मन्दिर बनाउन हुकुम दिए अनुसार यो मन्दिर बनाएको बुझिन्छ । कुल लागत खर्च ‘४४४० ।।।’ मा नेपाली कालिगडबाटै निर्मित यो मन्दिर अहिले मर्मत गर्नुपर्दा पनि नेपालबाटै कालिगड जाने गर्छन् । त्यसको खर्च पनि नेपालबाट नै हुने व्यवस्था छ ।

बनारससँग नेपालको धार्मिक तथा सांस्कृतिक साइनो जति पुरानो भए पनि ऐतिहासिक सामग्रीका अभावमा स्पष्टसँग भन्न सकिने अवस्था छैन । तर युद्धको थालनीअघि गोत्र परिवर्तन र हातहतियारको बन्दोबस्त गर्न गोरखाका राजा पृथ्वीनारायण शाह बनारस गएका थिए ।

यसरी नै भक्तपुरका राजा रणजीत मल्लले यहाँ निर्वासित जीवन बिताएका थिए । राजा रणबहादुर शाह तथा भीमसेन थापा रहँदा त यो स्थल नेपालको एउटा शक्तिकेन्द्र जस्तै थियोे । राणाशासन विरुद्ध क्रान्तिको जग पनि यहाँ अध्ययन गर्न आएका नेपाली विद्यार्थीले नै बसालेका थिए ।

बनारसस्थित नेपाली मन्दिरको वास्तुकला मौलिक छ, कला र अन्य संरचना पनि विशिष्ट खालको छ । फरक भएकै कारण यो मन्दिरको प्राङ्गणमा पुग्दासाथ पर्यटकहरू छक्क पर्दै अनेक जिज्ञासा राख्न थाल्छन् । तर, ती जिज्ञासाको जवाफ दिन सक्ने व्यक्तिको उपस्थिति छैन ।

मन्दिरको टुँडालमा रहेका मैथुनरत आकृतिलाई मध्यप्रदेशस्थित खजुराहो मन्दिरमा रहेका आकृति अनुकूल बुझ्ने र बुझाउने गरिएको पनि पाइन्छ, जबकि यी दुई मन्दिरमा प्रयुक्त मैथुनरत आकृतिको अर्थ नितान्त रूपमा फरक छ ।

यस्ता कुरा बुझाउँदै पर्यटकलाई नेपालतर्फ आकर्षित गर्न ऐतिहासिक साइनो रहेको र प्रशस्तै पर्यटक जाने गरेको बनारसलाई उपयोग गर्न सके नेपाल भ्रमण वर्ष–२०२० को पनि प्रवर्द्धन हुनेछ ।

प्रतिकृया दिनुहोस