प्रतिनिधिसभामा पशुपतिको चर्चा
प्रतिनिधिसभाको आजको बैठकमा पशुपति शर्माले गाएको ‘लुट्न सके लुट कान्छा’ गीतको चर्चा भएको छ ।
बैठकमा सत्तापक्षले पशुपति शर्मालाई दबाब दिएर गीत यूट्यूबबाट हटाउन लगाएको भन्दै प्रतिपक्ष सांसदहरुले सरकारको चर्को आलोचना गरेका छन् ।
नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले ‘लुट्न सके लुट’ गीत हटाउन लगाउनु लोकतान्त्रिक अधिकार र अभिव्यक्ति स्वतन्त्रता विपरीत भएको बताए । सिंहले सरकारले कलाकारको सम्मान गर्न सिक्नुपर्ने पनि धारणा राखे ।
त्यस्तै नेकपाका सांसद झपटबहादुर रावलले शर्माको गीतमा सरकार र सत्तापक्षका कुनै पनि संगठनले प्रतिबन्ध नलगाएको जिकिर गरे ।
आजको बैठकमा भ्रष्टाचारमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई कारबाही गर्नुपर्ने आवाज पनि उठेको छ ।
सांसद अमृता थापा र गणेश पहाडीले पदबाट राजीनामा दिंदैमा छुट पाउन नहुने भन्दै छानबिन गरी दोषी देखिए कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन् ।