अस्ट्रेलियाली संसदको कम्प्युटर ह्याक
अस्ट्रेलियाले मुलुकका प्रमुख राजनीतिक दलहरु र संसदका सूचनाहरु ह्याक भएको जनाएको छ । निकै प्रतिस्पर्धात्मक हुने ठानिएको अस्ट्रेलियाको आमनिर्वाचनको संघारमै गोप्य सूचना बाहिरिएको छ ।
प्रधानमन्त्री स्कट मोरिसनले अनुसन्धाताहरुले दुई हप्ताअघि संसदको कम्प्युटर ह्याक भएको विषयमा छानबिन गरिरहेको संसदमा जानकारी दिएका छन् । उनले केही राजनीतिक दलको सम्पर्क प्रणाली पनि छिन्नभिन्न पारिएको बताए ।
“हाम्रा साइबर विज्ञहरुको भनाइमा कुनै सरकारी पक्षले नै यस्तो गलत गतिविधि गरेका हुन्,” प्रधानमन्त्री मोरिसनले बताए । अरु के कस्ता सामग्री चोरी गरिएको भन्ने बारे अझै थाहा नभएको उनले बताए ।
यसै महिनाको शुरुमा पनि अस्ट्रेलियाको संसदको कम्प्युटर प्रणालीमा अनधिकृत व्यक्तिको पहुँच रहेको समाचार बाहिरिएको थियो । अस्ट्रेलियाले सुरक्षा निकायहरुले यस्तो आक्रमण कसले गरेको हो भन्ने अनुसन्धान गरिरहेको बताएका छन् ।
उक्त घटनापछि प्रधानमन्त्री र मन्त्रीहरु स्वयंले आफ्ना पासवर्ड परिवर्तन गर्नुका साथै सुरक्षाका अन्य उपाय अवलम्बन गर्न बाध्य भएका थिए ।
साइबर सुरक्षा विज्ञ फर्गस हान्सोनले एक वा दुई मुलुकका विज्ञले मात्र यस्तो कार्य गर्न सक्ने बताएका छन् । उनले सम्भावित शंकास्पद मुलुकमा चीन पहिलो श्रेणीमा रहेको पनि दाबी गरे । उनले रुससँग पनि यस्तो क्षमता रहेको बताए । –रासस/एएफपी