ब्लगसोमबार, ६ फाल्गुण , २०७५

ऐतिहासिक गैंडा, जो दक्षिणएशियाबाट युरोप पुग्यो

कनकमणि दीक्षित

एउटा ऐतिहासिक गैंडाको कुरा गरौं, जसले पाँच शताब्दी अघि दक्षिणएशियाबाट युरोप पुग्नुपर्‍यो, विरानो महाद्वीपमा चिडियाखानाको बन्दी भएर अनेकन् कष्ट झेल्नुपर्‍यो, र अन्ततः जहाज दुर्घटनामा प्राण त्याग्नुपर्‍यो ।

नेपालमा गैंडा पाइनुको महत्व शायद हामी नागरिकले पर्याप्त बुझेका छैनौं । गैंडालाई मूलतः पर्यटनको आँखाले हेर्छौं, तर अरु केही सम्भावना देखिए गैंडादेखि जंगल र वातावरणसम्मलाई पूरै बिर्सेर व्यापार, ‘कनेक्टिभिटी’ र धार्मिक अतिक्रमणलाई ठाउँ दिन्छौं ।

सर्वोच्च अदालतलाई मुरीमुरी धन्यवाद ! २ फागुनमा आनन्दमोहन भट्टराई र तेजबहादुर केसीको संयुक्त इजलासले चितवन राष्ट्रिय निकुञ्जको पश्चिम भेकमा हुनलागेको ‘हुलाकी राजमार्ग’ विस्तारमा रोक लगाएको छ । यो निर्णयले आउँदा दिनमा निकुञ्जसँगै अन्य हरित क्षेत्रमाथि आँखा लाग्न कम हुनेछ ।

एकसिंगे गैंडा होस् वा हिउँचितुवा, बाह्रसिङ्गा, पाटेबाघ, घडियाल गोही वा जंगली हात्ती, यिनको बारेमा विद्यालय तहदेखि नै ज्ञान बढाउँदा वातावरणीय संवेदनशीलता अलि बढ्थ्यो । साथै, आज जसरी वातावरण र सम्पदाको पक्षमा बोल्ने जोकोहीलाई ‘विकास विरोधी’ भन्ने चलन बढेको छ, त्यसो हुन पाउँदैनथ्यो ।

अल्ब्रेख्त डुररको सन् १५१५ को चित्र (बायाँ) र ५००० वर्षअघिको सिन्धुघाटी सभ्यताको ‘सिल’ ।

एकसिंगे गैंडा प्राग्ऐतिहासिक प्राणी हो, जसको उत्पत्ति पाँच करोड वर्षअघिको पारासेर्थरिएम् नामको प्रजातिबाट शुरु भएको थियो । आजको गैंडाको पूर्वज मानव जाति भन्दा धेरै अघिदेखि पृथ्वीमा बसोबास गर्दै आएको हो । आज अफ्रिका र एशियामा गरेर मात्र पाँच प्रजातिका गैंडा पाइन्छन्, र जंगल र फाँटको अतिक्रमणले दुर्लभ बन्दै गएको यो प्राणी खतराको सूचीमा छ ।

एकताका दक्षिणएशियामा एकसिंगे गैंडा असम र बाङ्लादेशदेखि इन्दस् (सिन्धु) नदीसम्म फैलिएको थियो । संसारकै प्राचीन मानव वासस्थान हालको पाकिस्तानमा केन्द्रित सिन्धुघाटी सभ्यताको उत्खननमा पैसाको रूपमा प्रयोग हुने ‘सिल’ (टाँचा) मा गैंडा पनि अंकित पाइन्छ ।

आदिवासी समुदाय र उत्तरपूर्वबाट आगन्तुकहरुको प्रवेशसँगै सिन्धु र गंगा मैदानमा जंगल फँडानी बढ्यो र गैंडाको क्षेत्र पूर्वतर्फ खुम्चियो । तैपनि २५०० वर्षअघि गौतम बुद्धको पालामा गंगा मैदानको अधिकांश थलोमा गैंडा पाइन्थे । तर आवादी अझै बढ्दै गयो र चीनसँगै सिन्धु–गंगा–ब्रह्मपुत्र मैदान संसारकै घना वस्तीको क्षेत्र बन्न पुग्यो — परिणाम; गैंडा, पाटेबाघ लगायत वन्यजन्तुको वासस्थान हराउँदै गए ।

वि.सं. २००७ सम्म आइपुग्दा भारतको उत्तरप्रदेश, विहार, पश्चिम बंगाल र वर्तमान बाङ्लादेशको क्षेत्रबाट जंगल र गैंडा लोप भइसकेका थिए ।

कतै गैंडा बाँकी थियो त असम र नेपालका जंगलमा । तर औलो उन्मूलन तथा परिवर्तित सरकारी नीतिको कारण चारकोसे झाडी पातलिंदै गयो, दाङ र चितवन दुनमा वस्ती बसाइयो ।

आज गैंडाको मुख्य वासस्थान राप्ती नदीको दक्षिण चितवन राष्ट्रिय निकुञ्ज रहेको छ, तर हामी नासोको रूपमा पाएको गैंडाको अस्तित्वबारे हुनुपर्ने जति चिन्तित छैनौं ।

प्राणी भएको नाताले हामीमा गैंडाप्रति सह–अनुभूति जाग्नुपर्ने हो । त्यस्तो सह–अनुभूति जगाउन एउटा ऐतिहासिक गैंडाको कुरा गरौं, जसले पाँच शताब्दी अघि दक्षिणएशियाबाट युरोप पुग्नुपर्‍यो, विरानो महाद्वीपमा चिडियाखानाको बन्दी भएर अनेकन् कष्ट झेल्नुपर्‍यो, र अन्ततः जहाज दुर्घटनामा प्राण त्याग्नुपर्‍यो ।

कुरो १६औं शताब्दीको शुरुआततिरको हो, जतिबेला भास्को डी गामा समुद्री यात्राबाट युरोपदेखि अफ्रिका रिङ्दै भारतको तटसम्म आएपश्चात् पोर्चुगलले दक्षिणएशियाली उपमहाद्वीपमा आफ्नो हात पसार्न खोजिरहेथ्यो ।

पोर्चुगाली नौसेना प्रमुख अल्फन्सो दे अल्बकर्कले दिउ भन्ने बन्दरगाहमा एउटा अखडा राख्न चाहन्थे, गुजरातको क्याम्बे राज्यका प्रमुख सुल्तान मुजफ्फर शाहलाई भने त्यो कुरा जँचेन । तर सुल्तानले पोर्चुगलका राजा डन् म्यानुएललाई सौहार्दता दर्शाउन उपहार पठाए — एक थान गैंडा ।

त्यतिबेलासम्म गैंडाको फैलावट साह्रै खुम्चिसकेकोले आजको उत्तरप्रदेश वा विहारको उत्तरी भाग (या नेपाल नै) बाट उक्त गैंडा ल्याइएको अनुमान गर्न सकिन्छ ।

सन् १५१५ जनवरीमा गैंडालाई पानीजहाज चढाइयो, रखवार गर्ने ओसेम् नामका एक स्थानीयसहित । अफ्रिकाको केप अफ् गुड होप् छिचोल्दै चार महीनाको यात्रापछि जहाज पोर्चुगलको राजधानी लिज्बन पुग्यो । विलासी राजा डन् म्यानुएलले गैंडालाई आफ्नो शाही चिडियाखानामा भित्र्याए ।

केही महीनापछि हाम्रो दक्षिण एशियाली एकसिंगे युरोपेली भूराजनीतिको गोटी बन्न पुग्यो । पोर्चुगलको उपनिवेश बनाउँदै हिंड्ने यात्रामा चुनौती बनेर आउँदै थियो, स्पेन । यो खेलमा स्पेनलाई ठाउँमा राख्न इटालीको रोममा बस्ने पोप लियो (दशौं) लाई रिझाउनुपर्ने भएपछि पोर्चुगाली राजाले पोपलाई गैंडा उपहार दिने निर्णय गरे — एक किसिमको घूस ।

गैंडा र रखवाला ओसेम् सन् १५१६ को फेब्रुअरीमा पोर्चुगलबाट रोम जान पानीजहाज चढे । अफसोच ∕ यात्राको क्रममा भीषण आँधीबेहरीबीच जहाज भूमध्यसागरमा डुब्यो ।

ओसेम्को अवस्था इतिहासले बताउँदैन, तर सिक्रीले खुट्टा बाँधिएको गैंडा जहाजसँगै डुब्छ । पछि समुद्र किनारमा फेला परेको गैंडाको शवलाई लिज्बन लगेर पराल र भुस हाली ‘स्टफ्’ गरिन्छ, र फेरि उपहारस्वरुप रोम पठाइन्छ ।

सन् १५१५ मा गैंडा हेर्न जोकोही लिज्बन् जान्थे, यसबारे वर्णन सबैतिर फैलियो । यो चर्चा जर्मनीको नुरेम्बर्ग बस्ने युरोपका प्रख्यात कलाकार अल्ब्रेख्त् डुररले सुने । लिज्बनमा रहेको गैंडा नदेखे पनि अरूले भनेकै आधारमा उनले ‘वुड्कट्’ (काठ कुँदेर बनाइएको) चित्र कोरे । दुई–तीन शताब्दीसम्म पश्चिमा जगतले अचम्मको जनावर गैंडा भनेर बुझ्ने यही चित्र रह्यो ।

यसरी ५०० वर्ष अगाडि युरोप भ्रमणमा हिंडेको एउटा गैंडाको पोट्रेट हामीसामु रह्यो । यस चित्रले पनि हामीलाई गैंडा र यसको वासस्थानप्रति ध्यान दिन मद्दत गरोस् !

प्रतिकृया दिनुहोस