नेपालको आर्थिक परिदृश्य अनुकुलः आईएमएफ
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को नयाँ प्रतिवेदनले यो आर्थिक वर्ष २०७५/७६ नेपालको आर्थिक विस्तारको परिदृश्य अनुकूल देखिएको जनाएको छ ।
पुनर्निर्माण, जलविद्युत् परियोजनाहरुको निर्माण तथा पर्यटनसम्बन्धित गतिविधिका कारण यो वर्षको आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने आईएमएफले प्रक्षेपण गरेको हो ।
गत आर्थिक वर्ष २०७४/७५ मा नेपालले ६ दशमलव ३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको थियो । गत मंसीरमा नेपाल आएको आईएमएफको टोली (आर्टिकल–४) को अध्ययनपश्चात् आईएमएफको कार्यकारी बोर्डले नेपालको अर्थतन्त्रको परिदृश्यको आँकलन गरेर प्रतिवेदन सार्वजनिक गरेको हो ।
आईएमएफले आगामी आर्थिक वर्ष २०७६/७७ मा पनि नेपालले ६.३ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने आँकलन गरेको छ । मूल्यवृद्धि दर भने गत वर्षको भन्दा केही बढ्ने संस्थाको आँकलन छ ।
चालु आर्थिक वर्षमा ४.९ प्रतिशतको मूल्यवृद्धि पुग्ने अनुमान छ । गत आर्थिक वर्षमा मूल्यवृद्धि दर ४.२ प्रतिशत थियो ।
आईएमएफका अनुसार, मुलुकको बृहत् आर्थिक र वित्तीय क्षेत्रको अवस्था भने अनुकुल छैन । गैरखाद्य समूहको मूल्यवृद्धि, बढ्दो चालू खाता घाटा, वैदेशिक मुद्राको घट्दो सञ्चिति तथा वित्तीय क्षेत्रमा जोखिम नेपालका लागि चुनौति पूर्ण रहेको संस्थाको विश्लेषण छ ।
चालू खाता घाटा यो वर्ष र आउने वर्षमा पनि थप नकारात्मक हुँदै जाने भन्दैं आईएमएफले गत वर्ष कुल गार्हस्थ उत्पादनको ८.२ प्रतिशत रहेको चालू खाता घाटा यो वर्षको अन्त्यसम्ममा ९.६ प्रतिशत पुग्ने अनुमान गरेको छ ।
आईएमएफ निर्देशकहरुले प्रतिस्पर्धा विस्तारका लागि, लगानीका लागि अनुकूल वातावरण बनाउन तथा भ्रष्टाचार न्यूनीकरणका लागि नेपाल सरकारको पहललाई स्वागत गरेको छ । तर, सार्वजनिक खरीद कानूनको सुधार एवं व्यवसाय थाल्न देखिएको व्यवधान हटाउन संरचनागत सुधार गर्न सरकारलाई सुझाव दिएको छ ।
प्रतिवेदनमा आईएमएफका निर्देशकहरुले वैदेशिक लगानी भित्र्याउन, सुशासन कायम गर्दै संस्थाहरुलाई बलियो पार्न वित्तीय पहुँच विस्तार सरकारको प्राथमिकतामा पर्नुपर्ने उल्लेख गरेका छन् ।