बालश्रमिक राख्नेलाई सरकारी सेवा सुविधा नदिने
दिपायल सिलगढी नगरपालिकाले बालश्रमिक राख्नेलाई नगरपालिकाबाट प्रदान गरिने सेवा सुविधा नदिने भएको छ ।
नगरपालिकालाई बालश्रमिक मुक्तनगर बनाउन नगरपालिकाले यस्तो अभियान शुरु गरेको हो । नगरपालिका प्रमुख मञ्जु मलासीले नगरक्षेत्रमा बसोबास गर्ने जोकसैले कुनै पनि बहानामा बालश्रमिक राखे सरकारी सेवा सुविधा नदिने बताइन् ।
नगरपालिकाको सामाजिक विकास समितिले आयोजना गरेको अभिमुखीकरण तथा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख मलासीले नगरपालिकामा बालश्रमिक राख्ने कुरा ‘फेसन’को रुपमा अगाडि बढिरहेको भन्दै त्यसलाई अन्त्य गर्ने घोषणा गरिन ।
‘हामी एक वर्षदेखि लागि बालश्रम अन्त्य गर्ने प्रयासमा छौँ, कसैले कुनै पनि बहानामा बालश्रम राखेको पाइए तिनलाई सरकारी सेवा सुविधाबाट वञ्चित गराउनेछौँ’, उनले भनिन ।
कोही कसैले कसैको बच्चालाई पढाइदिने र पालिदिने भन्दै घरमा राखी श्रममा लगाएको देखिए त्यस्ता व्यक्तिको घर परिवारको सूची तयार पारी कालो सूचीमा समेत नाम राख्ने नीति नगरपालिकाले बनाइरहेको उनले बताइइन् । - रासस