४० वर्ष घडियाल गोही संरक्षण : जम्मा दुईसय भेटिए
संसारमै दुर्लभ घडियाल गोहीको संरक्षणका लागि सरकारको पहल उपलब्धिबिहीन जस्तै बनेको छ ।
४० वर्षदेखि चितवन राष्ट्रिय निकुञ्जको कसरामा स्थापना भएको गोही प्रजनन केन्द्र स्थापना गरी गोही संरक्षण गर्दै आए पनि प्रकृतिमा छाडिएका गोहीको सङ्ख्यामा भने वृद्धि आउन सकेको छैन ।
यस अवधिमा प्रजनन केन्द्रमा हुर्काएर एक हजार ३०० भन्दा बढी गोही नदीमा छाडे पनि करीब २०० मात्र जीउँदा भेटिएको निकुञ्जले जनाएको छ । छन् । निकुञ्जले वर्षेनी पाँच वर्ष उमेर पुगेका १५० वटाभन्दा बढी घडियालाई राप्ती, नारायणी तथा बबई नदीमा छाड्ने गरेको छ ।
प्रजनन केन्द्रले राप्ती तथा नारायणी नदीको जोखिमयुक्त ठाँउमा रहेका घडियालका गुँडबाट अण्डा सङ्कलन गरी यसबाट बच्चा उत्पादन गर्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले जानकारी दिए ।
‘एउटा घडियाललाई पाँच वर्षको बनाउन करीब रु १० लाख खर्च हुन्छ’, उनले भने, ‘वर्षेनी गोहीलाई नदीमा छाड्ने गरे पनि सङ्ख्यामा भने वृद्धि आएको छैन । यसको मुख्य कारण प्रदूषित पानी नै हो ।’
गोहीको बासस्थान रहेको ठाउँमा गिट्टी बालुवाको उत्खनन, माझीको तियारी जालमा परेर गोही मर्ने र केही गोहीलाई बाढीले भारततिर बगाउँदा गोहीको संरक्षणमा समस्या देखिएको खड्काले बताए ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालले नदीमा हुने प्रदूषण र जलचर प्राणीलाई असर गर्ने गतिविधि नरोकिए घडियाल लोप भएर जाने बताए ।
घडियालले अण्डा पार्नेदेखि बच्चा जन्माउने काममा बालुवाकै प्रयोग गर्ने भएकाले गोही पाइने क्षेत्रमा नदीजन्य पदार्थको उत्खननमा पूर्णरूपमा रोक लगाउनुपर्ने उनको भनाइ छ । निकुञ्जको तथ्याङ्कअनुसार गत भदौदेखि माघसम्म तियारी जालमा परेर ४ वटा घडियाल मरेका छन् ।
घडियाल संरक्षण गर्न १० जना कर्मचारी खटिएका छन् । घडियाल गोहीले माछा मात्रै खाने भएकोले प्रजनन केन्द्रले गोहीको आहाराको लागि वार्षिक १३ सय किलो पोखरीको माछा खुवाउने गरेको छ ।
मानिसले माछा मार्दा घडियालको आहारा कम हुने हुँदा गोही संरक्षणमा समस्या पर्दै आएको छ । गोहीको क्षेत्रमा ठूलो खर्च भए पनि प्राकृतिकरूपमा यसको सङ्ख्यामा वृद्धि नहुँदा संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् ।