महानगरका ६८ परिवार नदीबाटै जीवीकोपार्जन गर्दै
स्मार्ट सिटीका लागि तथ्याङ्क सङ्कलन गरिरहेको चितवनको भरतपुर महानगरपालिकामा बसोबास गर्ने ६८ परिवार नदीको भरमा जीवीकोपार्जन गर्दै आएका छन् । नारायणी र राप्ती नदीमा माछा मारेर उनीहरुले जीवीकोपार्जन गर्दै आएका हुन् ।
चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने ती नदीमा माछा मार्नका लागि निकुञ्जसँग अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार पछिल्ला वर्षमा नयाँ अनुमति नदिइएको भए पनि पुरानाको नवीकरण भइरहेको छ । तीमध्ये भरतपुर महानगरपालिकाका मात्रै ६८ जना रहेका छन् ।
यसैगरी खैरहनी नगरपालिकाका आठ जना, रत्ननगर नगरपालिकाका चार जना र माडी नगरपालिकाका एक जना रहेका छन् । अन्य जिल्लामा घर भएर निकुञ्ज हुँदै बग्ने नदीमा माछा मार्नका लागि करीब ३०० जनाले अनुमति लिएको उनले बताए ।
हाते जाल प्रयोग गरी माछा मार्नका लागि अनुमति लिने अधिकांश बोटे समुदायका रहेका छन् । उनीहरुको परम्परागत पेशा माछा मार्ने हो । अनुमति पत्र लिनेहरुले महाजाल, विष प्रयोग गर्न पाउँदैनन् । नदीमा जाल प्रयोग गरेर माछा मार्नेहरुले राम्रो आम्दानी गर्न नसकेको बताउँछन् ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नदीमा आश्रितलाई वैकल्पिक रोजगारीको व्यवस्था गरेर नदीप्रतिको निर्भरता घटाउनेतर्फ लाग्नुपर्ने बताइन । यही पेशाबाट जीवनस्तर उकास्न सम्भव नहुने भएकाले राज्यले वैकल्पिक व्यवस्था गर्नुपर्ने दाहालको भनाई छ ।