नुन किन्न सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्य
डोटीको ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आयोडिनयुक्त नुनको प्रयोग गर्न थालेका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड दिपायल शाखाले स्थानीय तहसँग मिलेर गाउँमा पनि नुनको गोदामको व्यवस्था गरी बिक्री गर्न थालेपछि आयोडिनयुक्त नुन प्रयोगकर्ता पनि बढ्न थालेका हुन् ।
यसअघि उनिहरुले वर्षौदेखि ढिके नुनको प्रयोग गर्दै आएका थिए । सहजै आयोडिनयुक्त नुन पाउन थालेपछि ढिके नुनको प्रयोग घट्दै गएको जोरायल गाउँपालिका–५ का डम्बर विष्टले बताए । ‘पहिला आयोडिनयुक्त नुन पाउँदैन थियो, अहिले सहजै आयोडिनयुक्त नुन पाउन थालेपछि हामीले ढिके नुन खान छोड्दै छौँ’, उनले भने ।
जिल्लाका सातवटै स्थानीय तहका ग्रामीण क्षेत्रमा प्रतिकिलो रु १६ मा आयोडिनयुक्त नुन किन्न पाईन्छ । जसका कारण नुन किन्न सदरमुकाम लगायतका बजारमा धाउनुपर्ने अवस्थाको अन्त्य भएको सलेनाका स्थानीयवासी जगतबहादुर बलायरले बताए ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड दिपायलका अनुसार गाउँ बस्तीमै सरकारी अनुदानको आयोडिन नुन वितरण हुन थालेपछि ढिके नुनको प्रयोग घट्दै गएको छ ।
आयोडिनयुक्त नुन उपभोगले बालबालिकामा गलगाड आउने, लाटो, लठेब्रो हुने जस्ता शारीरिक समस्या कम हुँदै गएको रानागाँउ इलाका स्वास्थ्य कार्यालयका प्रमुख बेद जोशीले बताए । -रासस