अमेरिकाकै आग्रहमा नोबेल शान्ति पुरस्कारमा ट्रम्प सिफारिस
वासिङ्टनको अनुरोधमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री सिन्जो आबेले मनोनयन गरेको एक जापानी पत्रिकाले आइतबारको संस्करणमा उल्लेख गरेको छ ।
वासिङ्टनले गत बर्षको जुनमा उत्तर कोरियाली नेता किम जोङ उनसँगको महत्वपूर्ण शिखर सम्मेलनपछि ट्रम्पको नाम मनोनयन गर्न जापानलाई आग्रह गरेको आसाही शिम्वुनले लेखेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार आफ्नो नाम शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री आबेले मनोनयन गरेको बताएपछि उक्त रिपोर्ट बाहिर आएको हो ।
आबेले नोबेल शान्ति पुरस्कार समितिलाई पठाएको पाँच पाना लामो पत्रको प्रतिलिपी आफूलाई पठाएको ट्रम्पले बताएका थिए । पत्रमा जापानी नेताले प्योङयाङसँग चलेको तनाव शान्त बनाउन खेलेको योगदानको प्रशंसा गरेका थिए ।
ट्रम्पले सञ्चारकर्मीसँग जापानी नेताले पत्रमा ‘मैले तपाईलाई नोबेल शान्ति पुरस्कार दिनका लागि अनुरोध गरेको छु भनी भनेको र आफूले उहाँलाई धन्यवाद दिएको’ बताएका थिए ।
तर, ट्रम्पकै चाहनामा आबेले यस्तो सिफारिस गरेको बारे भने खुलासा भएको थिएन ।
ट्रम्पको दावीबारे प्रतिक्रियाका लागि एएफपीले गरेको अनुरोधलाई जापानी अधिकारीले कुनै प्रतिक्रिया दिएनन् । –रासस/एएफपी