रिपोर्टसोमबार, ६ फाल्गुण , २०७५

माटाेविनाकाे खेतीबाट वार्षिक २० लाख कमाई

गोपाल गडतौला

पानी र मानव मूत्रको घोलमा लहलहाउँदो तरकारी फलाइरहेका धरानका कृष्ण राई (३५)ले वार्षिक २० लाख रुपैयाँ खुद मुनाफा गरिरहेका छन्।

एक फुट गहिरो खाल्डोमा थर्मोकुल राखेर निश्चित दूरीमा प्वाल खोपिएका छन्, तिनमा स–साना छिद्र पारेका प्लास्टिकका गिलास छन्। गिलासमा फोम हालेर धनियाँका बिरुवा रोपिएको छ। जमीनमाथि पनि फलामको स्ट्याण्डमा दुवै मुख टालिएका प्लास्टिकका पाइपहरूमा सोही विधिबाट रोपिएको लेटस साग लहलहाइरहेको छ।

यो हो सुनसरीको धरान उपमहानगरपालिका–४ वसन्तटारका युवा कृष्ण राईको तरकारी बारी। माटो विना खेतीको कल्पना हत्तपत्त गरिन्न, तर राईले घरको कौसी र रेलिङमै ‘हाइड्रोपोनिक्स’ विधिबाट गरिरहेको तरकारी खेती यो क्षेत्रमै उदाहरणीय बनेको छ। प्लास्टिकका गिलास, बोतल र पाइप आदिमा तरकारी फलाएर उनले राम्रो कमाइ गरिरहेका छन्।

यो खेती विधिमा उनले बिरुवाका जरालाई पोषण दिन विशेष प्रकारको घोल वितरण प्रणाली नै बनाएका छन्। त्यसका लागि उनी गाईवस्तुका साथै मानव मूत्र संकलन गर्छन्। एक लिटर पिसाबलाई चार लिटर पानीमा मिसाएर मसिनो पाइपबाट बिरुवाका जरा अडिएको फोमसम्म पु¥याएका छन्। यस्तो पोषण पाएका बिरुवा सजिलै हुर्किन्छन्। राई भन्छन्, “शुरूमा स्ट्याण्ड बनाउन केही खर्चिलो परे पनि लामो समय टिक्ने भएकाले यो विधि फाइदाजनक छ।”

१० धुर क्षेत्रफलमा दुई वटा स्ट्याण्ड र टनेल बनाउन उनले साढे पाँच लाख रुपैयाँ लगानी गरेका छन्, जुन कम्तीमा १५ वर्ष प्रयोगमा आउने उनको अपेक्षा छ। स्ट्याण्ड राखिएको क्षेत्रलाई खेती गरिएको ठाउँ मान्दा जमीनमा रोपिनेभन्दा ११ गुणा बढी बिरुवा पाइपमा अटाएका छन्। योसहित दुई बिघा क्षेत्रफलमा गरेको तरकारी खेतीबाट वार्षिक रु.४५ लाख आम्दानी भइरहेको उनको भनाइ छ। उनी भन्छन्, “सबै खर्च कटाएर वार्षिक करीब २० लाख रुपैयाँ खुद मुनाफा हुन्छ।” सलादको रूपमा खपत हुने लेटस साग बिक्रीबाट मात्रै उनले वार्षिक रु.१ लाख ५० हजार कमाउँछन्। यो साग धरान र वरपरका महँगा होटलहरूले प्रतिकिलो रु.८०० मा खरीद गर्दै आएका छन्।

्६÷७ वर्षयता अर्गानिक खेतीमा लागिरहँदा यी युवा सबैको आँखामा परेका छन्। अर्गानिक खेतीमा उनको ध्याउन्न र सफलता कतिसम्म उदाहरणीय छ भने, उनको सोताङ अर्गानिक फार्म हेर्न विभिन्न ठाउँबाट मानिसहरू आइरहेका हुन्छन्। कृषि प्राविधिक र जिल्ला कृषि विकास कार्यालयका हाकिमहरू उनलाई ‘अर्गानिक भाइ’ भनेर सम्बोधन गर्छन्।

हाइड्रोपोनिक्स विधिबाट उत्पादन गरिएको धनियाँ । दिसा–पिसाब छुट्याएर जम्मा गर्न सकिने इकोसान शौचालय । तस्वीरहरु: गाेपाल गड्ताैला


पिसाब र पानीको घोलको काइदा

रासायनिक मल र विषादीको विकल्पमा राईले मानव मूत्र र गाईवस्तुको मलमूत्र उपयोग गर्दै आएका छन्। आधुनिक खेती प्रणाली र बालीमा लाग्ने रोग–कीरा नियन्त्रणका उपाय जान्न उनी इन्टरनेट चहारिरहेका हुन्छन्। तरकारी खेतीमा पानी र मलको किफायती प्रयोगको काइदा त्यहींबाट निस्किएको हो।

मानिसको दिसा–पिसाब बेग्लाबेग्लै सञ्चित गर्न सकिने ‘इकोसान’ शौचालय केही वर्षअघि इन्टरनेटमा देखेपछि उनले त्यो प्रणाली बनाएका हुन्। तरकारी खरीद गर्न आउने र आफ्नो कृषि फर्मका कामदारलाई उनी सकेसम्म दिसा–पिसाब गर्न अन्यत्र नजान आग्रह नै गर्छन्। उनको शौचालयमा दैनिक २५ लिटर पिसाब संकलन हुन्छ, जसबाट कम्तीमा एक सय लिटर पानीलाई बिरुवाको लागि पोषणयुक्त घोल बनाउन सकिन्छ।

तरकारी बालीमा लाग्ने रोगकीरा नियन्त्रण गर्न राईले विशेष तरिका अपनाउँदै आएका छन्। लाई कीराले बोडी सखाप पार्न थालेपछि उनले कृषि प्राविधिकसँग सल्लाह मागे, सबैले विषादी छर्कन सल्लाह दिए। तर, २०७० सालयता उनले विषादी र रासायनिक मल किन्न छोडिसकेका थिए। खोजी गर्दै जाँदा लाईले मसिना काँडा र झुस पटक्कै रुचाउँदैन भन्ने थाहा पाए। त्यसपछि उनले बोडीका ड्याङका बीचमा फर्सी रोपिदिए। कीराको प्रकोप करीब ९० प्रतिशत हट्यो, तर फर्सीलाई रातो खपटे कीराबाट जोगाउने अर्को चुनौती थपियो।

खोज्ने क्रममै रातो खपटे कीराले रातो रङ मन पराउँदैन भन्ने पनि बुझे। फर्सी जोगाउन उनले चुकन्दर रोपे। “धेरै खालको बाली यसरी मिलाएर लगाउँदा खर्च नै नगरी रोग–कीराबाट जोगाउन सकिंदोरहेछ”, कृष्ण भन्छन्। खेतीको यो काइदालाई तिरिमिरी खेती भनिने उनी बताउँछन्। बालीलाई कीराबाट जोगाउन पहेंलो कपडा पनि केही प्रभावकारी हुने उनले पहिल्याएका छन्। धेरैजसो कीरा–फट्याङ्ग्राले पहेंलो रङ मन पराउने भएकोले खेतबारीमा पहेंलो कपडा राख्दा कीरा त्यसमै अल्मलिन्छन्। असुरो, धुस्रे, कालीझर, बोझे, सुर्ती, नीमको पत्ता जस्ता वनस्पतिको झेलले पनि कम खर्चमा रोग–कीराको प्रकोप हटाउन सकिने उनको अनुभव छ।

अधियाँदारबाट जमीनको मालिक

कृष्णले थाहा पाउँदा उनका बाबुको धरानस्थित वसन्तटारमा ६ कट्ठा पाखोबारी थियो। अधियाँमा गरेको खेतीबाट परिवार जेनतेन पालिएको थियो। सानैदेखि फूल र बोटबिरुवाका सौखिन उनले १३ वर्षको उमेरमा रु.१० मा किनेको काँक्राको बियाँबाट चार महीनामा रु.५५०० आम्दानी भएपछि परिवारको खेती गर्ने तरिका नै बदलियो। अरू बाली छोडेर तरकारी खेती शुरू भयो।

तरकारी फलाएर दुई दशकयता उनले धरानको वसन्तटारमा एक बिघा १९ कट्ठा जग्गा खरीद गरेका छन्। उनले धरानमा हरेक शनिबार अर्गानिक तरकारी बजार समेत शुरू गरेका छन्। उनी कुनै बेला एकै महीनामा दुई÷तीन लाख रुपैयाँको तरकारी बेच्ने गर्छन्।

तरकारीसँगै उनले पशुपक्षी पालन समेत गरेका छन्। उनको अर्गानिक फर्ममा हाल १३ वटा गाई, २५ माउ बंगुर, १५० वटा लोकल कुखुरा छन्। दैनिक १५० लिटर दूध बजार पठाउने गर्छन्। माछा हाल्न तीन वटा पोखरी तयार पारेका छन्। स्नातक पढेका उनी उत्साहित हुँदै भन्छन्, “म त सबैलाई खेती–किसानीमा लाग्न आग्रह गर्छु। जति फलाए पनि खाइदिने उपभोक्ता यहीं रहेछन्।”

प्रतिकृया दिनुहोस