गण्डकी प्रदेशको उपलब्धि – मुख्यमन्त्री भेलादेखि चीन भ्रमणसम्म
गण्डकी प्रदेश सरकाले एक वर्षका उपलब्धि सार्वजनिक गरेको छ । प्रदेश सरकार स्थापना भएको अवसरमा शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले १३० बुँदे उपलब्धि सार्वजनिक गरेको हो ।
प्रदेश सरकारले आफ्ना उपलब्धीमा प्रदेशको नाम र राजधानी तोक्न सफल भएको, २५ वटा विधेयक प्रदेशसभामा पेश गरेकोमा २१ वटा पारित भइसकेको, नीति कार्यक्रम तथा बजेट ल्याएर कार्यान्वयनमा गएको उल्लेख गरेको छ ।
गण्डकीले आफ्ना उपलब्धिको रुपमा भएको सातै प्रदेशका मुख्यमन्त्रीहरुको बैठकलाई समेत राखिएको छ । संघीय सरकारले संविधानमा उल्लेख भएअनुसार प्रदेशलाई अधिकार नदिएको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गत २१ भदौमा उक्त भेला डाकेका थिए ।
यस्तै, मुख्यमन्त्रीको चीन भ्रमणलाई पनि उपलब्धीको रुपमा राखिएको छ । प्रदेश सरकार गठन भएपछि पहिलो पटक मुख्यमन्त्री गुरुङ ९–१५ असाजमा चीनको हाइनान प्रान्तको भ्रमण गरेका थिए । हाइनान प्रान्तका गभर्नरको निमन्त्रणमा भएको भ्रमणमा हाइनान र गण्डकी प्रदेशबीच भगिनी सम्बन्ध स्थापना गरी द्धिपक्षीय हितका लागि भ्रमण आदान– प्रदान भएको र सहयोग आदान प्रदानको सहमति भएको थियो ।
४ फागुन २०७४ मा गुरुङले मुख्यमन्त्रीको रुपमा सपथ लिएर मन्त्रिपरिषद गठन गरेका थिए ।
स्थापना दिवसको अवसरमा बोल्दै मुख्यमन्त्री गुरुङले अन्तर प्रदेश समन्वय परिषदको बैठकमा २९ वटा निर्णय भएपनि कार्यान्वयनमा संघीय सरकारले चासो नदिएको बताए ।
‘प्रधानमन्त्रीकै अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय कार्यान्वयनमा आएन,' उनले भने, 'संघीय सरकारको ढिलासुस्तीले हामीलाई असर गर्यो ।’ उनले प्रदेश सरकारले आफ्नै बलबुतामा जग हालेको भन्दै अब परिणाम देखिने दाबी गरे ।
कार्यक्रममा बोल्दै प्रदेश प्रमुख बाबुराम कुँवरले एक वर्षमा प्रदेश सरकारले आधारभूत तहका संचरना निर्माण गर्दै उपलब्धिमूलक नजिता हासिल गरेको बताए । ‘कानून निर्माण, योजना तर्जुमा, संरचना स्थापना र विकासका कामहरु प्रदेश सरकारले गरेको छ । यसलाई उपलब्धि नै भन्नुपर्दछ,’ उनले भने ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दल गण्डकीका नेता कृष्णचन्द्र नेपालीले प्रदेश सरकारको उपलब्धी कागजमा नभई फिल्डमा देखिनुपर्ने बताए । उनले एउटै पार्टीको सरकार भएपनि प्रदेशसँगको सहकार्यमा संघीय सरकार अनुदार भएको भन्दै आलोचना गरेका थिए ।
- युवराज श्रेष्ठ, पोखरा