बीबीएल फाइनलः सन्दीपको किफायती बलिङ, स्टार्स पराजित
बिग ब्यास लिगको आइतबार जारी फाइनलमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले विकेट नलिए पनि उत्कृष्ट प्रदर्शन गरे । तर, ब्याटिङमा धैर्यता गुमाएपछि १३ रन अन्तरले मेलवर्न स्टार्स उपाधिबाट बञ्चित बन्यो ।
मेलवर्न रेनेगेड्सलाई कुल १४५ रनमा सिमित गर्ने क्रममा लामिछानेले पूरै चार ओभर बलिङ गर्दै १६ रनमात्र दिए । आफ्नो टोलीका लागि उनले सबैभन्दा किफायती बलिङ गरे ।
१४६ रनको सामान्य लक्ष्य पाएको मेलवर्न स्टार्सका लागि ओपनर बेन डुंक र मार्कस स्टोइनिसले पहिलो विकेटका लागि ९३ रनको शानदार साझेदारी गरेका थिए । तर, डुंग ४५ बलमा ५७ र स्टोइनोस व्यक्तिगत ३९ रन बनाउँदै आउट भएपछि स्टार्सको इनिङलाई कसैले पनि सम्हाल्न सकेन ।
कप्तान ग्लेन म्यासबेल १ रनमै आउट भए । स्टार्सले पूरै ओभर खेल्दै सात विकेटको क्षतिमा १३२ रन मात्र बनाउन सक्यो ।
रेनेगेड्सका लागि ड्यानियल क्रिश्चियन सेमिफाइनलमा झैं नायक बने । उनले दुई विकेट लिए । उनीबाहेक क्यामरोन बोएस र क्रिस ट्रिमेनले दुई, दुई विकेट लिए । ह्यारी गुर्नेले एक विकेट लिए ।
रेनेगेड्सको शुरुवात सुखद थिएन । उसका लागि पुछारका ब्याट्समेनहरु टम कुपर र ड्यानियल क्रिश्चियनले क्रमशः ४३ र ३८ रन बनाए ।
टस जितेर बलिङ रोजेको मेलवर्न स्टार्सका लागि ज्याक्सन बर्ड र एडम जाम्पाले दुई, दुई विकेट लिए । अन्य बलरहरुले कुनै विकेट लिन सकेनन् ।
प्रतियोगीको प्लेयर अफ द म्याच ड्यानियल क्रिश्चियन घोषित भए ।