टिप्पणीशनिबार, ४ फाल्गुण , २०७५

सयकडा पाँचमा अडिएको समाज

शेखर खरेल

समाजको समुच्च क्षेत्रमा भ्रष्टाचार झाङ्गिरहँदा केही सत्यनिष्ठ र जुझारू व्यक्तिका कारण आशाको उज्यालो जीवित छ।

स्केचः भानु भट्टराई

स्टेज प्रहसनमा व्यस्त रहने हास्य अभिनेता मनोज गजुरेल हालै चलचित्रको पर्दामा देखिए । गजुरेल अभिनीत ‘सयकडा दश’ भ्रष्टाचारको विषयमा केन्द्रित छ । भ्रष्टाचारको संसारमा ‘सयकडा दश’ अर्थात् ‘दश प्रतिशत’ त्यसरी छुट्याइन्छ, जसरी मानिसहरू मंगल वा शोक कर्म गर्दा देवता वा पितृलाई केही भाग छुट्याउँछन् ।

दश प्रतिशतको मार्जिन नराखी कुनै पनि सरकारी (कहिलेकाहीं गैरसरकारी पनि) कामका बोलकबोल वा टेण्डरको कल्पनासम्म गरिंदैन । यस्तो दश प्रतिशतमा हकदाबी गर्ने व्यक्ति सरकारमा बस्ने राजनीतिकर्मी र ‘राष्ट्रसेवक’ कर्मचारी हुन्छन्, जसको भरणपोषण देशकै ढुकुटीबाट हुन्छ ।

कहिले यी नेता–कर्मचारी आफैं ‘दश प्रतिशत’ हकदाबी गरिरहेका हुन्छन् भने कहिलेकाहीं उनीहरूका विश्वासपात्रले सहजकर्ता वा वारेस बनेर असुल गर्छन् । पाकिस्तानकी दिवंगत नेतृ बेनजीर भुट्टो प्रधानमन्त्री रहँदा उनका पति आसिफ अलि जर्दारीले भ्रष्टाचारको समानान्तर सत्ता चलाएकाले उनलाई ‘मिस्टर टेन पर्सेन्ट’ उपनाम दिइएको थियो ।

नेपाली समाजमा भ्रष्टाचार व्याप्त भएको तथ्य ट्रान्सपरेन्सी इन्टरनेशनलदेखि महालेखा परीक्षक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रतिवेदनहरूले पुष्टि गर्दै आएका छन् ।

संसदको लेखा, सुशासनदेखि कुनै विवादास्पद खरीद प्रकरणमा गठन हुने विशेष समितिहरूले अनियमितता भएको किटानी गर्दै कारबाही गर्न अख्तियारलाई सिफारिश गरेका अनेक उदाहरण छन् ।

नागरिकहरूले सरकारी सेवा लिने क्रममा कुनै न कुनै बहानामा अतिरिक्त दस्तुर (स्पिड मनी) तिर्दै आएका छन् । भ्रष्टाचार हाम्रो समाजमा भयावह रोग बने पनि यसको शल्यक्रिया गर्ने निकायको अपेक्षित सक्रियता देखिंदैन ।

कार्यालयमा मुसा मार्ने विष किन्न होस् वा देशका बृहत् परियोजना अनि वाइड बडी विमान जस्ता ठूलो खरीददारी, भ्रष्टाचार मिसिएकै हुन्छ । सेवा प्रदायक अड्डादेखि नियमनकारी निकाय र अदालत, कोही पनि भ्रष्टाचारदेखि अछुतो छैनन् ।

भ्रष्टाचार निवारण गर्ने संवैधानिक अंग अख्तियारकै आयुक्त राजनारायण पाठक हालै घूस प्रकरणमा मुछिएपछि राजीनामा दिन बाध्य भए । काठमाडौं जिल्ला अदालतका नायव सुब्बा भोलानाथ चालिसे रु.५ लाख घूससहित समातिए ।

अख्तियारसमक्ष चालिसेले अदालतका न्यायाधीश बाबुकाजी बानियाँसँगको ‘सेटिङ’ मा घूस लिएको साबिती दिए । उता, ३३ किलो सुन तस्करी र त्यससँगै जोडिएको सनम शाक्य हत्या प्रकरणमा न्यायिक मोलाहिजा गरिएको आशंकामा उच्च न्यायालय, विराटनगरका न्यायाधीशहरू तानिएका छन् । न्याय पाउने अन्तिम गन्तव्य न्यायालयले समेत पछिल्लो समय साख गुमाएको छ ।

माथिका प्रसंग र उदाहरणको आलोकमा हेर्दा नेपाली समाज अन्धकारमय देखिन्छ । के देशमा उज्यालोको अंश कतै छैन त ? लेखक एवं शल्यचिकित्सक सरोज धिताल नेपाली समाजको अलग्गै शल्यक्रिया गर्दै अँध्याराका बीच पनि उज्यालाका किरण देख्छन् ।

आफ्ना आलेखहरूको सँगालो ‘उज्यालाका बीउ’ मा उनी लेख्छन्, “उज्यालोका बीउ जताततै छन् । चुनौती छ, तिनलाई चिनेर जतनका साथ हुर्काउने, झाङ्गिन दिने, उज्यालोको खेती गर्ने ।

आजको सबभन्दा साहसी र महान् क्रान्तिकारी त्यो हो, जो अन्धकारको साम्राज्यलाई जित्न पूर्णरूपमा वर्तमानमा अवस्थित भएर उज्यालोको खेती गर्छ ।”

उज्यालोको खेती गर्नेमध्येका एक त डा.धिताल स्वयं हुन्, जसले ‘प्राइभेट प्राक्टिस्’ बाट प्रशस्त द्रव्य कमाउन सक्ने संभावनालाई तिलाञ्जली दिंदै आम मानिसको पहुँचमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन् । अन्धकारको साम्राज्य जित्न सबैभन्दा पहिले त व्यक्ति नै सत्यनिष्ठ हुनुपर्छ । डाक्टर गोविन्द केसी किन मेडिकल माफिया विरुद्धको लडाइँमा छन् भन्ने कुराको उत्तर उनी उभिएको सत्य निष्ठाको धरातलले नै बताउँछ ।

नेपालका समग्र सार्वजनिक क्षेत्र भ्रष्टीकरणउन्मुख छन् । स्वास्थ्य र शिक्षा, प्रशासन र सुरक्षा, आर्थिक, न्यायिकदेखि आमसंचार क्षेत्र समेतलाई अन्धकारले नराम्ररी गाँजिसकेको छ । तर, त्यहाँ निष्पट्ट अँध्यारो मात्र छैन, ‘उज्यालोका बीउ’ कतै न कतै छरिएका छन् ।

कुनै प्रामाणिक आँकडाको आधारमा पंक्तिकारको दाबी होइन, तर पनि हर एक क्षेत्र त्यसमा आवद्ध ‘सयकडा पाँच’ सत्यनिष्ठ र जुझारू व्यक्तिका कारण समाज पतनको डिलबाट झर्न जोगिएको छ ।

अधिकांश नेता ढोंगी र भ्रष्ट छन्, तर ‘सयकडा पाँच’ ले राजनीतिको धिपधिपे दियो निभ्न दिएका छैनन् । प्रशासन, प्रहरी, न्याय सेवा आदिको अवस्था पनि यही हो, भलै ती स्वयं प्रताडित भएका किन नहुन् !

समाजको समुच्च क्षेत्र भ्रष्टीकरणउन्मुख रहँदा ती ‘सयकडा पाँच’ का निम्ति कार्यसम्पादन सहज छैन । तर, जबसम्म सेवामा रहन्छन्, उनीहरू सम्झाैता वा मोलाहिजा गर्दैनन् । राजीनामा खल्तीमा राखेर जोखिमका साथ उनीहरू काम गरिरहेकै हुन्छन् ।

हालै नेपाल प्रहरीका उपरीक्षक नरेन्द्र उप्रेतीले पदोन्नतिमा पक्षपात भएको जनाउँदै राजीनामा दिए । उप्रेतीलाई व्यक्तिगत रूपमा नचिने पनि पंक्तिकार यकिनका साथ के भन्न सक्छ भने, चरित्र वा आत्मबल नभएको कुनै पनि व्यक्ति नेतृत्वप्रति औंला उठाउँदै राजीनामा गर्न सक्दैन । 

प्रतिकृया दिनुहोस