शिविर सम्झेर सहयोग
अमेरिकाको एक्रोनमा पुनर्वास भएका भूटानी शरणार्थीहरुले भाँच्चिएर खुट्टा काट्नु परेका दमक–३ झापाका एक वर्षीय श्रेयन बराइलीको उपचारको लागि एक लाख सात हजार रुपैयाँ सहयोग गरेका छन् ।
सहयोग गर्नेमा एक्रोनका उत्तम रसाइली, रनमाया गजमेर, गंगादेवी घतानी, भक्ती गजमेर र भगिमाया कालिकोटे छन् । उनीहरुले २ फागुनमा उक्त रकम हस्तान्तरण गरेका हुन् ।
बराइलीको गत २३ मंसिरमा कोक्रोबाट लडेर देब्रे खुट्टा भाँच्चिएको थियो । तर, उपचारका क्रममा घुँडा मुनिको भाग शल्यक्रिया गरि काट्नु परेको
थियो । उपचारमा करिव १५ लाख रुपैंया खर्च भइसकेको पिता रविन बराइलीले बताएका छन् । हाल उनको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
पुनर्वास भएको १० वर्षपछि उत्तम रसाइली (३९) माघ अन्तिम साता ओहायो, कोलम्बसबाट पश्चिम झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिबिर आए । उनले दुईसाता अघि त्यहाँ आगलागीबाट छाप्रो गुमाएका १२ परिवारसहित शिविरमा रहेका सुत्केरी, अपाङ्ग र विरामीलाई करीब २ लाख नगद वितरण गरे । सो रकम मध्ये एक लाख ६५ हजार अमेरिकाको ह्यारिसवर्गमा रहेका कुमार सिवाकोटीले गो-फन्ड मार्फत् संकलन गरेका थिए ।
सन् २०१८ को अन्त्यसँग शरणार्थीलाई सहायता बन्द गरिएका कारण उनीहरुको अवस्था दयनिय छ । “निस्तो अलिनो खाएर यही हालतमा १८ वर्ष बसेर अमेरिका गएको हुँ”, उत्तम भन्छन्, “अहिले आफूलाई गरिखान केहि सजिलो भएको बेला सकेको सहयोग गर्न जरुरी ठानेर रकम संकलन गरि आएको थिएँ ।”
उनी सन् २००८ को डिसेम्बरमा मोरङको शनिश्चरे शरणार्थी शिबिरबाट अमेरिका पुनर्वास भएका थिए ।