नेपालको भूपरिवेष्ठित युग सकियोः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाल पूर्ण भुपरिवेष्ठित नरहेको बताएका छन् ।
२ फागुन बिहान ललितपुरस्थित एकान्तकुनामा पानीजहाज कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री भने, “अब भुपरिवेष्ठित युग समाप्त गरेर जलमार्गबाट बाँकी विश्वसँग नेपालको सम्बन्ध बढाउने ढोका खुलेको छ ।”
ओेलीले गतवर्ष आफ्नो भारत भ्रमणमा रेलमार्ग र जलमार्गको लागि भएको संयुक्त जल तथा रेल यातायात सम्झौता कार्यान्वयनले तिव्रता लिइरहेको बताए ।
नेपालका नदीहरुमा महासागरमा चल्ने ठूला नभई साना पानीजहाज ल्याउन सकिने बताँउदै प्रधानमन्त्रीको भनाइ थियो ।
कार्यक्रममा भारतले बाराणसीबाट हल्दियाघाटसम्म पानीजहाज ल्याउन बन्दरगाह बनाइरहेको र त्यहाँबाट नेपालको सीमा २७५ किलोमिटरमात्र रहेको जानकारी दिइएको थियो ।
हल्दियाघाटसम्म आँउने भारतीय पानीजहाजको भार क्षमता ५ हजार मेट्रिक टनसम्मको हुनेछ । त्यहाँबाट साना आकारका पानीजहाज नेपालको नारायणी नदीबाट दासढुंगासम्म ल्याउन सकिनेबारे अध्ययन भइरहेको भौतिक योजना तथा यातायात मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
“पानीजहाजको टिकट किन्न पाइन्छ, हतार नगर्नुहोस,” आफुले पानीजहाज चलाउने योजना सुनाँउदा खिसी गर्नेहरुको ओइरो लागेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले अगाडि भने, “यो दुई,चार जनालाई जागिर खुवाउन खोलेको अड्डा होइन, ।”
सरकारको पानीजहाज कार्यालयमा अहिलेलाई सहसचिवको नेतृत्वमा १६ कर्मचारी रहनेछन् ।