इरानलाई पराजित गर्दै नेपाल वुमन्स् गोल्डकपको फाइनलमा
भारतको उडिसामा जारी हिरो वुमन्स् गोल्डकपमा नेपाल फाइनल प्रवेश गरेको छ ।
बुधबार भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको खेलमा इरानलाई ३—० गोलअन्तरले पराजित गर्दै नेपालले फाइनलको सम्भावना बलियो बनाएको
थियो । तर, नेपालको फाइनल यात्रामा आयोजक भारत र म्यानमारबीचको खेलको नतिजा निर्णायक थियो ।
बुधबार बेलुकीको खेलमा म्यानमारले भारतमाथि २—० को नतिजा हात पारेपछि आयोजकको फाइनलको खेल्ने सपना तुहिएको थियो ।
नेपालको जितमा फेरि पनि सावित्री भण्डारी आत्मविश्वासी देखिइन् । उनले खेलको ५९ र ८९ मिनेटमा गोल गरिन् । नेपालका लागि पहिलो गोल भने अनिता बस्नेतले ४१ औं मिनेटमा गरेकी थिइन् ।
नेपालले शुक्रबार फाइनल खेल्नेछ । फाइनलमा नेपालले लिग चरणको उद्घाटन खेलमा म्यानमारसँग ३—० गोलले पराजित भएको विगत बिर्सनुपर्नेछ ।
चार देश सम्मिलित वुमन्स गोल्डकपमा म्यानमार सबै खेल जितसहित ९ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल ६, भारत ३ र इरान जितविहीन पुछारमा छ ।
पहिलो खेलमा म्यानमारसँग पराजित भएपछि नेपालले आफ्नो दोस्रो खेलमा भारतलाई २—१ ले पराजित गरेको थियो । प्रतियोगितामा चार गोल गर्दै नेपालकी सावित्री भण्डारी अहिलेसम्मकी उच्च गोल स्कोरर बनेकी छिन् ।
सन् २०२० मा हुने ओलम्पिको दोस्रो चरणको छनोटको तयारीका रुपमा भारतको उडिसा सरकारले यो प्रतियोगिता आयोजना गरेको हो ।