डीपीएलः विराटनगर किंग्स र काठमाडौं गोल्डेन्सलाई सफलता
डीपीएल तेस्रो संस्करणको बुधबारको खेलमा पनि दुई सुदूरपश्चिमेली टोली धनगढी स्टार्स र महेन्द्रनगर युनाइटेडले खुशी आत्मसात गर्न सकेनन् । धनगढीलाई विराटनगर किंग्सले २१ रन र महेन्द्रनगरलाई काठमाडौं गोल्डेन्सले सात रनले पराजित हरायो ।
काठमाडौं गोल्डेन्सका अमित डबास।
योसँगै अघिल्ला दुई संस्करणको डीपीएल विजेता धनगढी स्टार्स्ले लगातार तेस्रो पराजय भोगेको छ । हारसँगै प्लेअफमा उसको सम्भावना अनिश्चित बनेको छ ।
टस जितेर पहिले ब्याटिङ छानेको विराटनगरले ९ विकेटको क्षतिमा एक सय तीन रन बनाएको थियो । एक सय चार रनको सामान्य लक्ष्य पछ्याएको धनगढीलाई ८२ रनमै अलआउट गर्ने क्रममा विराटनगरका बायाँ हाले अर्थोडक्स बलर अभिनाश यादव नायक बने । उनले १९ औं ओभरमा कप्तान सोमपाल कामी, सर्वेन्द्र खनाल र विपीन क्षेत्रीको विकेट लिए । अन्तिमका चार विकेट यादवकै नाम रह्यो । कप्तान करण केसीले पनि चार विकेट लिए । बाँकी दुई विकेट सुसन भारीले खसाले ।
‘प्लेयर अफ द म्याच’को पुरस्कार ग्रहण गर्दै करण केसी (सबैभन्दा दायाँ) र डीपीएल ३ का सद्भाव दूत दक्षिणअफ्रिकाका पूर्व क्रिकेटर जोन्टी रोड्स (सबैभन्दा बायाँ)
धनगढीका लागि सन्दीप राजाजीले ३४ र राजु रिजालले १५ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । ओपनर रोहन मुस्तफा र सुनिल धमाला दुवै करण केसीको बलमा बोल्ड भएपछि धनगढीको जिततर्फको यात्रा शुरुमै धरापमा परेको थियो ।
यसअघि पहिलो खेलमा पराजित विराटनगरका लागि उनै अभिनाश यादवले सर्वाधिक २७ रन बनाए । ४२ रनमै पाँच विकेट गुमाएको विराटनगरका लागि अभिनाश र करण केसीले ३२ रनको साझेदारी गरे । करणले २१ रन बनाए । ब्याटिङ र बलिङतर्फ कप्तानी इनिङ खेलेका करण नै ‘प्लेयर अफ द म्याच’ चुनिए ।
शुरुवातमै आक्रामक धनगढीका लागि सोमपालले तीन, विपीन कार्कीले तीन, रोबिन क्षेत्रीले दुई र सुनिल धमालाले एक विकेट लिएका थिए ।
डीपीएलको बुधबारकै पहिलो खेलमा अंकित डबासले फेरि पनि ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि काठमाडौं गोल्डेन्स्ले महेन्द्रनगर युनाइटेडमाथि सात रनको विजय हासिल गरेको छ । काठमाडौंको यो दोस्रो जित हो भने महेन्द्रनगरको दोस्रो हार ।
टस हारेर ब्याटिङमा निम्त्याइएको काठमाडौंले ५ विकेटको क्षतिमा एक सय ३४ रनको योगफल तयार पार्यो । जसमा, अंकित एक्लैले ५५ बलको सामना गर्दै नटआउट ६५ रन बनाए । धनगढी स्टार्स्सँगको पहिलो खेलमा डबासले टिमका लागि २९ रन र एक विकेट लिएर ‘प्लेअर अफ द म्याच’ बनेका थिए ।
६.५ ओभरमा स्कोरबोर्डमा ३७ रन छँदा कप्तान ज्ञानेन्द्र मल्लको तेस्रो विकेट गुमाएको काठमाडौंका लागि डबासले नेतृत्वदायी भूमिका खेले । योगेन्द्रसिंह कार्कीले पनि १४ बलमा २२ रन बनाउँदै योगफलमा उकास्न योगदान गरे ।
महेन्द्रनगरका तर्फबाट अमर रौटेलाले दुई विकेट लिए भने मोहम्मद नाभेद, अविनाश बोहरा र सागर ढकालले एक /एक विकेट लिए ।
एक सय ३५ रनको लक्ष्य लिएको महेन्द्रनगरले निर्धारित २० ओभरमा एक सय २७ रनमात्र बनायो । टिमका लागि उनै बलर रौटेलाले सर्वाधिक २८ रन बनाए । कप्तान शरद भेषवाकर २३ रनमा आउट भए भने बाँकी कुनै पनि ब्याट्समेनले गतिलो प्रदर्शन गर्न सकेनन् ।
बलिङमा रशिद खान जमे, उनले तीन विकेट लिए । डबासले दुई विकेट लिदैं बलिङमा पनि प्रशंसा कमाए । नन्दन यादव, ललितनारायण राजवंशी र योगेन्द्रसिंह कार्कीले एक÷एक विकेट लिए । खेलको ‘प्लेअर अफ द म्याच’ डबास घोषित भए ।
बिहीबारको पहिलो खेल सीवाईसी अत्तरियाविरुद्ध रुपन्देही च्यालेञ्जर्स र दोस्रो खेल विराटनगर किंग्स र महेन्द्रनगर युनाइटेडबीच हुनेछ