भीमकाय शरीरका रोली २ फागुनमा नेपाल आउँदै
नेपाली खेलकुदमा पहिलो पल्ट आयोजना हुन लागेको ‘आइएफबीबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ (प्रो क्वालिफायर)’ का लागि विश्व बडिबिल्डिङका हस्ती रोली विङ्कलार भोलि, २ फागुनमा नेपाल आउने भएका छन् ।
आज पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा आयोजक आइएफबीबी लिग नेपालका अध्यक्ष सानु गुरुङले रोली नेपाल आउन लागेको जानकारी गराएका हुन् ।
रोली विश्व बडिबिल्डिङमा सबैभन्दा ठूलो ज्यान भएका खेलाडी हुन् ।
उनको हातको पाखुरा २४ इन्च, छाती ६० र खुट्टा ४८ इन्चको छ । सोसल मिडिया इन्स्टाग्राममा १२ लाख मानिसले उनलाई पछ्याउँछन् ।
रोली पहिलो पटक नेपालमा आइएफबीबी प्रोफेसनल लिगको ‘प्रो क्वालिफायर’ मा ‘गेष्ट पोजर’ को रुपमा देखा पर्न लागेका हुन् ।
पत्रकार सम्मेलनमा प्रतियोगितामा सहभागिता जनाउन १५ राष्ट्रका खेलाडीले अनलाइन दर्ता गरेको जानकारी दिइयो ।
नेपालमा आयोजना हुन लागेको ‘प्रो क्वालिफायर’ मा ‘मेन्स फिजिक’, ‘मेन्स क्लासिक फिजिक’, ‘मेन्स बडिबिल्डिङ’ र ‘ओमन फिजिक’ गरि ४ वटा प्रो कार्डका लागि प्रतिस्पर्धा हुँदैछ ।
प्रो कार्ड पाउने ४ खेलाडीले अमेरिकाको लस भेगासमा आयोजना हुने ‘मिस्टर ओलम्पिया’ मा भाग लिन पाउनेछन् ।
४ फागुनमा काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आइएफबीबी लिग नेपालले जनाएको छ ।
फाइनल सम्पन्न भएपछि रोलीले आफ्नो भीमकाय शरीर प्रदर्शन गर्नेछन् ।