समाचारमंगलबार, २९ माघ , २०७५

वर्षदिनभित्रै नेपाली सीमासम्म भारतीय पानी जहाज

नेपाललाई लाभ लिन आग्रह

हिमालखबर

भारतले एक वर्षभित्र नेपाल–भारत सीमा क्षेत्रको त्रिवेणीघाटसम्म जल यातायातको सञ्जाल विस्तार हुने भन्दै त्यसबाट फाइदा लिन नेपाललाई आग्रह गरेको छ ।

भारत भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र भारतका जलस्रोत, नदी विकास तथा गङ्गा संरक्षणमन्त्री नितिन गडकरीबीच मंगलबार भएको द्विपक्षीय भेटवार्ताका क्रममा भारतीय पक्षले यस्तो आग्रह गरेको हो ।

सरकारले हालैमात्र पानी जहाज सञ्चालनका लागि प्रशासनिक संयन्त्र निर्माण गर्ने निर्णय गरेको थियो । यसअघि जल तथा ऊर्जा आयोगको सचिवालयले पनि पानी जहाज सञ्चालनका लागि समिति गठन गरेर अध्ययन गरिरहेको छ । प्रारम्भिक अध्ययनअनुसार कोशी र नारायणी नदीमा पानीजहाज चलाउन सकिने देखिएको छ ।

कोलकत्ता हुँदै हल्दियादेखि नारायणी नदी तथा दुई देशको सीमा त्रिवेणीघाटसम्मको जल यातायात मार्गको निर्माण सम्पन्न हुने भन्दै भारतीय पक्षले त्यसबाट नेपालले बढीभन्दा बढी लाभ लिनसक्ने बताएको हो । भेटमा सहभागी नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जल यातायातको क्षेत्रमा भइरहेको प्रगतिका विषयमा मन्त्री पुन र भारतीय मन्त्री गडकरीबीच महत्वपूर्ण छलफल भएको जानकारी दिए ।

गत चैतमा भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा समेत पानी जहाज सञ्चालनको विषयमा भारतीय पक्षसँग छलफल भएको थियो । जल तथा ऊर्जा आयोगको सचिवालयले जल यातायात र पानी जहाज सञ्चालनका विषयमा अध्ययन गरिरहेको छ । भारत सरकारले कोलकत्तादेखि वनारससम्म पानी जहाज सञ्चालनमा ल्याइसकेको छ ।

नेपालमा यसअघि विसं २०२७ मा पानी जहाजसम्बन्धी कानूनी प्रबन्ध गरिएको थियो । प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको छलफलका आधारमा सरकारले जलमार्गका बारेमा भारतीय पक्षसँग द्विपक्षीय परामर्शका लागि संयन्त्र नै बनाएको छ । भारतले कोलकातादेखि हल्दिया हुँदै बनारससम्म करिब एक हजार ४०० किलोमिटर लामो जलमार्ग निर्माण गरिरहेको छ ।

विगतमा भएको नेपाल र भारतका अधिकारीबीचको छलफलमा समेत गण्डकी नदीमा पानी जहाज सञ्चालनमा ल्याउन सकिने विषयमा सहमति भएको थियो । द्विपक्षीय भेटवार्तामा लामो सममयदेखि अगाडि बढ्न नसकेको पञ्चेश्वर बहुद्देश्यीय आयोजनाको बारेमा विचार–विमर्श भएको थियो । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको भएपनि त्यसलाई अन्तिम रुप दिन सकिएको छैन । –रासस

 

प्रतिकृया दिनुहोस