टिप्पणीबुधबार, १ फाल्गुण , २०७५

भाइदेगःपुनर्निर्माण–भगीरथ भैयालाई ‘पुनर्जीवन’

हिमालखबर

- गौरीबहादुर कार्की 

चौतारा भगीरथ भैयाको कृतिलाई नागरिक स्तरबाटै जीवन्त बनाएर उनलाई श्रद्धाञ्जली दिने काममा जुटेको छ, सांस्कृतिक सम्पदा संरक्षण समूह, पाटन।

हाल पुनर्निर्माण भइरहेको भाइदेगःको मन्दिर । तस्वीरः मोनिका देउपाला

अहिले पाटन मंगलबजारस्थित ठूलो घण्टाबाट पश्चिमतर्फ हेर्दा एउटा संरचना पुनर्निर्माण भइरहेको देखिन्छ । तत्कालीन चौतारा अर्थात् प्रधानमन्त्री भगीरथ भैयाले बनाएको भाइदेगः मन्दिरको पुनर्निर्माण भइरहेको हो ।

पाटनका राजा सिद्धिनरसिंह मल्लको शेषपछि उनका छोरा श्रीनिवास मल्लले फर्पिङ निवासी सर्वसाधारण नागरिक भगीरथलाई चौतारा पदमा नियुक्त गरेका थिए । प्रधानमन्त्रीलाई त्यतिबेला चौतारा भनिन्थ्यो । भगीरथको योग्यताको कदर गर्दै श्रीनिवास मल्लले आफू र भगीरथ बीच भिन्नता नरहेको उल्लेख गरेको अभिलेख मच्छिन्द्र बहाल टोलमा छ ।

भगीरथ भैयाले ने.सं. ७६४ मा पाटन दरबार परिसरमै उमामहेश्वर स्थापना गरेर लामो धर्मशाला (सत्तल) बनाए । अचेल त्यो धर्मशालालाई लामोपाटी भनिन्छ । विक्रम सम्वत् १७३५ मा दरबारको अगाडि पश्चिमतर्फ विश्वनाथको तीनतले छत्रे (प्यागोडा) शैलीमा मन्दिर बनाए ।

त्यो मन्दिर दरबार परिसरकै दोस्रो अग्लो मन्दिरमा गनिन्थ्यो । नेवारी भाषामा मन्दिरलाई ‘देगल वा देगः’ भनिन्छ । अचेल यो मन्दिरलाई उनै भगीरथ भैयाको नामबाट भाइदेगः, भैया देगल, भाइदेवल पनि भनिन्छ ।

मुगल शासक औरङ्गजेबले विक्रम सम्वत् १७२६ (सन् १६६९) मा नेपालीहरूको समेत पवित्र तीर्थ काशी (बनारस) को विश्वनाथ मन्दिर भत्काइदिएका थिए । विश्वनाथ मन्दिर भत्केको खबरले नेपालमा पनि चिन्ता फैलिएछ ।

त्यसको ९ वर्षपछि आजभन्दा ३४० वर्ष अगाडि श्रद्धालुले पाटनमै विश्वनाथको दर्शन पूजन गर्न सकुन् भनेर चौतारा भगीरथ भैयाले यो मन्दिर बनाइदिएका हुन् । भत्काइएको काशीको विश्वनाथको मन्दिरको विकल्पमा उपमहादेशमै अर्को मन्दिर बनाइएको यो पहिलो घटना मानिन्छ ।

मल्लकालमा मन्दिर बनाउने क्षमता अद्भुत र उत्कृष्ट थियो । १७औं शताब्दीमा बनेको सुन्दर कलाकृति २५५ वर्षपछि १९९० सालको महाभूकम्पमा ढल्यो । त्यसपछिको पुनर्निर्माणमा तीनतले छत्रे शैलीको सट्टा एकतले गुम्बज शैलीमा शिवलिङ्ग मात्र छोप्ने गरी बनाइयो । पाटन दरबार क्षेत्रको अति महङ्खवपूर्ण शान र सौन्दर्य लोप गराइयो ।

हाम्रा पुर्खाले छाडेर गएको त्यो अमूल्य सम्पत्तिको पुनर्निर्माण किन नगर्ने ? अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने ? भनी पाटनका सम्पदापे्रमीहरू तातेछन् । र, सम्पदाविद् सत्यमोहन जोशीको संरक्षकत्वमा सांस्कृतिक सम्पदा संरक्षण समूह, पाटन खडा गरियो ।

मन्दिर शुरूकै स्वरुपमा निर्माण गर्नका लागि त्यसको चित्र खोजिरहेका सम्पदाप्रेमीले १९९० साल अगाडिको भाइदेगः मन्दिरको स्वरुप देखिने तस्वीर फेला पारेका छन् ।

हेनरी एम्ब्रोस ओल्डफिल्डले १९१० सालमा कोरेको भाइदेगः मन्दिरको भुईंतलाको कलात्मक चित्र ।

छत्रेशैलीको मन्दिर, मन्दिरको भुइँतलाको कलाकारिता देखिने चित्र लगायतका तस्वीरहरूले मन्दिरको वास्तुशैली, गजुर, बुट्टे टुँडाल, थाम, झिगटीको छाना आदि कलात्मक स्वरुप देखाउँछन् । अहिले परम्परागत शैली र स्वरुपमा मात्र होइन, निर्माण सामग्री समेत काठ, दाची र मा अपा भनिने परम्परागत ईंटा, सुर्की, माटो प्रयोग गरेर भाइदेगःको पुनर्निर्माण गरिंदैछ ।

जङ्गबहादुरका पालामा बेलायती मिसनमा आएका सर्जन हेनरी एम्ब्रोस ओल्डफिल्डले बनाएको मन्दिरको चित्रकला पाइएपछि मौलिक स्वरुपमै पुनर्निर्माण गर्न सजिलो भएको छ । ओल्डफिल्ड आफैं कुशल चित्रकार र कलाका पारखी थिए । उनले नेपाली चित्रकार राजमान सिंह लगायतबाट विभिन्न मन्दिरका चित्र बनाउन लगाएका थिए ।

हेनरीको चित्रकलाले मन्दिरको भुईं तलाको थाम, निदाल, टुँडालको बुट्टा कस्तो थियो भन्ने प्रष्ट पारेको छ । यी ओल्डफिल्ड बेलायती शासनका बेला भारतको राजधानी कलकत्तामा चार वर्षको सेवापछि नेपाल सरुवा गरिएका थिए । १५ वर्ष बढी नेपाल बसेका यिनले दरबार, मन्दिर, सांस्कृतिक सम्पदा आदिका धेरै चित्र बनाए ।

त्यस्तै १९८६ सालतिर खिचिएको तस्वीर जर्मनीका फिलिक्स ब्राण्डिटको संकलनमा फेला परेकाले मन्दिरको पुरानो स्वरुप पत्ता लगाउन झन् सजिलो भएछ । त्यो तस्वीरले मन्दिरको शुरूको आकार र अवस्थिति पहिचान गरी डिजाइन गर्नलाई सहयोग पु¥यायो । यो तस्वीर धेरै सफा नभए पनि काठको थामको बुट्टा देखिने हुँदा ओल्डफिल्डको चित्रको पुष्ट्याईं गरेको छ ।

पुरानो मन्दिरको २० वटा टुँडाल पाटन संग्रहालयमा सुरक्षित पाइएपछि त्यही टुँडालको आधारमा मन्दिरको आकृति र नापो निर्धारण गर्न सजिलो भएको सम्पदाविद्हरू बताउँछन् ।

१९१० सालमा हेनरी ओल्डफिल्डले हातले कोरेको बेलायती म्युजियमबाट प्राप्त चित्र भने बेजोड छ । विदेशीको आँखा र कलमले यो मन्दिरका टुँडाल, थाम, झ्याल आदिका बुट्टा तस्वीर खिचेझैं कोरेका छन् ।

हाम्रा अधिकांश मन्दिरका प्रत्येक टुँडालमा अलग–अलग देवी–देवताका अलग मुद्राको चित्र कुँदेको पाइन्छ । यो मन्दिरमा पनि अलग–अलग मुद्राका अलग–अलग चित्र रहेको ओल्डफिल्डको चित्रबाट देखिन्छ ।

अब बन्ने भाइदेगः मन्दिरको नमूना चित्र ।

ईंटाको गारोको बनावट, बुट्टा काटेको काठको तह–तह कार्नेस यो मन्दिरको अर्को महङ्खवपूर्ण कला हो । दुई थामको बीचमा बुट्टे तोरण समेत रहेको तस्वीरमा देखिन्छ । जमीनमाथि पेटीको तहको गारो ठाउँठाउँमा चर्केको समेत ओल्डफिल्डले चित्रमा उतारेका छन् । यो चित्र र पाटन दरबारको भण्डारखालमा फेला परेको १७ टुँडाल बीच तुलना गरे पनि चित्रकला कति जीवन्त रहेछ भन्ने थाहा भइहाल्छ ।

चौतारा भगीरथ भैया शूरवीर लडाका मात्र थिएनन्, कला, सम्पदा र विकासपे्रमी पनि थिए भन्ने कुरा यिनले बनाउन लगाएका मन्दिर लगायतका सम्पदाबाट पुष्टि हुन्छ । उनले फर्पिङ शेषनारायणमा पनि मन्दिर, सत्तल बनाएका थिए । यिनी १६ वर्षसम्म पाटनको चौतारा रहे ।

राजा श्रीनिवास मल्ललाई पदच्युत गरेर उनका छोरा योगनरेन्द्र मल्ल १७४१ पुसमा राजा भए । र, प्रधानमन्त्री भगीरथ भैया नेपाल दरबारको परम्परागत षड्यन्त्रको शिकार भए । नयाँ राजाले यिनको क्षमता चिन्न सकेनन् । अर्को वर्ष भदौमा यी महान लडाकू र सम्पदापे्रमी, राजभक्त चौताराको भीम मल्लको झैं दरबारमै निर्ममतापूर्वक हत्या भयो ।

यिनै चौतारा भगीरथ भैयाको १७औं शताब्दीको अमर कृतिलाई जीवन्त बनाएर उनलाई श्रद्धाञ्जली दिने काम सांस्कृतिक सम्पदा संरक्षण समूह, पाटन ले गरिरहेको छ । यो पुनीत कार्यमा यथोचित सहयोग पुर्‍याउने काम हुन सकेमा नेपाली कला र सम्पदाको संरक्षणमा टेवा पुग्नेछ ।

प्रतिकृया दिनुहोस