टिप्पणीमंगलबार, २९ माघ , २०७५

हराउँदै बोन्पो

हिमालखबर

- फुर्पा तामाङ

परम्परागत विश्वास अनुसार दुष्टात्मा भगाउन झारफुक गर्ने बोन्पोहरू जडीबुटीबाट रोगी–बिरामीको उपचार पनि गर्छन्। 

बाेन्पाेहरु । तस्वीर: फुर्पा तामाङ

वोन धर्म मान्ने बोन्पो (झाँक्री) हरू झारफुक गर्ने विद्यामा पोख्त हुन्छन् । पछिल्लो समय भने बोन्पो विद्या लोप हुँदै गएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, ठूलोभार्खु र सानोभार्खुमा केही वर्ष अघिसम्म ३०–४० जना बोन्पोहरू थिए । गाउँको सिमेभूमे पूजा गर्दा बोन्पोहरू बाजेदेखि नातिसम्म लहरै झाँक्री पोशाकमा ढ्याङ्ग्रो ठटाएर नाच्थे । अहिले बोन्पोहरू उल्लेख्य संख्यामा छैनन् ।

गोसाइँकुण्डका मुख्य पुजारी बोन्पो दावा तामाङका अनुसार, पुरानो पुस्ता बितेर जाने र नयाँ पुस्ताले सिक्न चासो नदिंदा बोन्पो विद्या हराउँदै गएको छ । गुरुसँग लामो संगतमा बसेर अभ्यास र साधना गर्नुपर्ने भएकाले नयाँ पुस्ताले वास्ता नगरेको उनी बताउँछन् ।

आफूलाई प्रकृतिपूजक मान्ने बोन्पोहरू आकाश, धर्ती, ग्रह, तारा, सूर्य, चन्द्रमा, हिमाल, वन, खोला र अदृश्य शक्तिहरूमा विश्वास गर्छन् । पूजाको समयमा भगवान र मानव समुदायबीच एक–अर्काको कुरा बोन्पोले पुर्‍याउन सक्ने विश्वास गरिन्छ ।

रुढिवादी लागे पनि यो विषय प्राचीनकालदेखिकै अभ्यास र जनजातिहरूको संस्कृतिसँग जोडिएको छ । बोन्पो विद्या जैविक विविधता संरक्षण, अनुशासित र तृप्त जीवन पद्धति, मानव सेवामा समर्पित तथा सामाजिक द्वन्द्व व्यवस्थापनको दृष्टिकोणले पनि महत्वपूर्ण छ ।

गुरुलाई निकै आदर गर्ने बोन्पोहरू अनुशासन कडाइका साथ पालना गर्छन् । उनीहरू परम्परागत मान्यता अनुसार दुष्टात्माहरूलाई भगाउने मात्र होइन, वनबाट जडीबुटी ल्याएर रोगी–बिरामीको उपचार पनि गर्छन् ।

यसो गरेबापत भार्खु गाउँका बोन्पोहरूले दक्षिणा लिंदैनन् । उनीहरूको भनाइमा सेवा र धर्मकर्ममा पैसाको लेनदेन गर्नुहुँदैन । गुरुको आदेश पनि यही हो । आवश्यक परे उनीहरू रातभर जाग्राम बसेर बिरामीलाई निको पार्न कोशिश गर्छन् । बोन्पोहरू धार्मिक रीतिरिवाज त मान्छन् नै, आध्यात्मिक र कोमल हृदयका हुन्छन् । सकेसम्म मच्र्ये (बलि) होइन, कच्र्ये (बलि विना) पूजा गर्छन् ।

रसुवामा श्यार, बर्देन, न्हुप र च्योबा सम्प्रदायका बोन्पोहरू बस्छन् । यिनलाई झाँक्री पोशाक (नम्जा) र पूजा गर्ने विधि (केलु) बाट चिन्न सकिन्छ । गएको हप्ता ठूलोभार्खु गाउँका बोन्पो तेम्बा नामग्याल तामाङ (५७) को मृत्यु भयो ।

एक महीनाअघि ब्राबल गाउँका यही सम्प्रदायका झाँक्री फुर्पा ग्याल्बो तामाङ (६१) बितेका थिए । यी दुईको निधनपछि ज्याङ न्हारो इङ्टुङ् बेन् सम्प्रदाय अन्तर्गतको श्यार बोन्पो लोप हुने अवस्थामा पुगेको छ । तेम्बा नामग्यालका तीन जना शिष्य झाँक्रीहरू छन् ।

बोन्पोले जन्मदेखि मृत्युसम्मका सम्पूर्ण संस्कार गराउँछन् । सातौं शताब्दीमा बौद्ध गुरु पद्मसम्भव (गुरु रिम्पोछे) देखा परेपछि बोन्पो र बौद्ध लामाबीच ‘मृत्युअघिका सबै काम बोन्पोले गर्ने, मृत्युपछिको लामाले गर्ने’ सम्झाैता भएको मानिन्छ । तर, बोन्पोको मृत्यु भएमा बोन्पोले नै मृत्यु सम्बन्धी संस्कार गर्ने र त्यसपछि मात्र लामाले शव जिम्मा लिएर घेवासम्मको काम गर्ने सम्झाैता गरियो ।

सोही अनुसार बोन्पोको मृत्यु भएपछि बोन्पोले शवको ठिसोल पूजा (शुद्ध पानी छर्कने) गर्नुपर्छ । शव जलाउन लैजाँदा पनि स्वर्गको बाटो देखाउने सेतो वस्त्र (लम्देन) बोन्पोले नै समाउनुपर्छ ।

चिता तयार पार्नेसम्मको काम सकेपछि मात्र शव लामालाई जिम्मा लगाइन्छ । बोन्पोले बेन्डोल (बोन्पो घेवा) गरेपछि लामाले आफ्नो विधिबाट घेवा गर्नुपर्छ । साउने पूर्णिमामा गोसाइँकुण्ड (छोकर) मा बोन्पोको बेन्शे (आत्मा) पुर्‍याएपछि मात्र मृतक बोन्पोको संस्कारको काम सकिन्छ ।

बोन्पोहरू स्वर्गलाई ल्हायी रिक्चेनकी डल् अर्थात् भगवानको संसार भन्छन् । बोन्पो घेवा गरेपछि बोन्पोहरू भगवानको संसार (स्वर्ग) मा पुग्ने विश्वास गरिन्छ । बोन्पो मरेपछि लामाले घेवा नगरे पनि हुने तर बोन्पो घेवा गर्न अनिवार्य मानिन्छ ।

बोन्पोहरू जाने मृत्यु मार्गलाई सोसोगङ् (सोसो डाँडा) भन्छन् । बौद्ध लामाका अनुसार मृत्युपछि स्वर्ग (थोरी), स्वर्ग र नर्क बीचको ठाउँ (बर्दो) र नर्क (ङ्याल्वा) मा पुगिन्छ । लामाले मन्त्रको माध्यमबाट मृतकको आत्मालाई सम्झाइबुझाइ गरेर स्वर्गमा पुर्‍याउने विश्वास गरिन्छ ।

प्रतिकृया दिनुहोस