डीपीएल: सिवाईसी अत्तरिया र रुपन्देही च्यालेञ्जर्स विजयी
सन्नी पटेलले ब्याट र बल दुवैमा नायकत्व प्रदर्शन गरेपछि घरेलु टोली धनगढी स्टार्स मंगलबार सीवाईसी अत्तरियासँग पाँच रनले पराजित भएको छ । डीपीएलको अघिल्लो दुवै संस्करण विजेता धनगढीको यो दोस्रो पराजय हो ।
टस जितेर ब्याटिङ रोजेको अत्तरियाले २० ओभरमा पाँच विकेटको क्षतिमा ९५ रनको कमजोर योगफल तयार पारेको थियो । तर, धनगढीका लागि यो लक्ष्य नै भारी हुनपुग्यो । ओपनर जयकिसन कोल्सावालाले २१ रन बनाएपछिको बढी रन सन्नीकै नाममा रह्यो । उनले २८ बलमा ३५ रन बनाए । विपीन खत्रीको बलमा क्याच आउट हुनुअघि कप्तान दीपेन्द्रसिंह ऐरीले ११ रनमात्र बनाए ।
धनगढीका लागि रोहन मुस्तफाले दुई, कप्तान सोमपाल कामी, अमिर हयात र विपीन खत्रीले एक/एक विकेट लिए ।
उता दोस्रो ओभरमै धनगढीका सुनिल धमलालाई बोल्ड गरेपछि शुरु भएको सन्नी पटेलको सनसनी रोकिएन । उनले अघिल्लो खेलमा अर्धशतक बनाएका अमित श्रेष्ठलाई ‘कट एण्ड बोल्ड’को शिकार बनाए । र, थप तिन क्याच पनि लिए ।
धनगढीका लागि राजु रिजालले सर्वाधिक २६ रन जोडे भने ओपनर रोहनले १८ रन बनाए । सोमपाल १० रनमै समेटिए ।
बलिङतर्फ नेपालको यू–१९ क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका अत्तरियाका भुवन कार्कीले चार विकेट लिए । सन्नीले दुई, दिपेन्द्रसिंह र दिपेन्द्र रावतले एक/एक विकेट बाँडे । ‘प्लेअर अफ द म्याच’ निसन्देह सन्नी पटेल नै छानिए ।
डीपीएलकै मंगलबारको दोस्रो खेलमा पनि ब्याटिङको खास प्रदर्शन देखिएन । टस जितेर ब्याटिङ गर्न उत्रिएको विराटनगर किंग्सले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै ९३ रनमात्र बनाएको थियो । तर, विराटनगरले अत्तरियाको शैली पछ्याउन भने सकेन ।
रुपन्देहीले १३.१ ओभरमै भीम सार्कीकोे चौकाको मद्दतले पाँच विकेटको क्षतिमै दोस्रो जित दर्ता गरायो । रुपन्देहीले सोमबार धनगढीलाई पराजित गरेको थियो ।
विराटनगरका लागि राजेश पुलामी मगरले सर्वाधिक १७ रन बनाए । मोहम्मद असदुल्लाह खानले १६ र कुशल भुर्तेलले १२ रन बनाउँदा कप्तान करण केसी भने तीन बलमा दुई रन बनाएपछि बसन्त रेग्मीको बलमा क्याच आउट भए ।
रुपन्देहीका लागि पूनित मेहराले तीन, बसन्त रेग्मी र ललितसिंह भण्डारीले दुई/दुई, बिक्रम सोब र कृष्ण कार्कीले एक/एक विकेट लिए ।
त्यसो त रुपन्देहीको शुरुवात पनि राम्रो हुन सकेन । १९ रनमै तीन विकेट गुमाएको टिमका लागि चौथो विकेटका लागि पूनित र बाबर हयातले ३९ रनको साझेदारी गरेका थिए । पूनितले विष्फोटक ब्याटिङ गर्दै २७ बलमै ४६ रन बनाएपछि टिम जितनजिक पुगेको थियो ।
बिराटनगरका अविनाश यादवले दुई विकेट लिए भने करण केसी, सुसन भारी र संसाद शेखले एक/एक विकेट आफ्नो नाममा लेखाए । नयाँ दिल्ली भारत ३० वर्षीय पूनित ‘प्लेअर अफ द म्याच’ चुनिए ।
बुधबारको पहिलो खेल काठमाडौं गोल्डेन्स् र महेन्द्रनगर युनाइटेडबीच हुनेछ भने दोस्रो खेलमा विराटनगर किंग्सले धनगढी स्टार्सको सामना
गर्नेछ ।