प्रयोग भइसकेका प्लास्टिक किन्दै इलाम नगरपालिका, बेच्न कोही गएनन्
इलाम नगरपालिकाले प्रयोग भइसकेका फोहर प्लास्टिक खरीद गर्ने घोषणा गरेको छ ।
नगरपालिकाले स्वच्छ वातावरणका लागि प्लास्टिकजन्य फोहर खरीद गर्न थालेको हो ।
१ माघबाट प्रतिकिलो १५ रुपैयाँका दरले प्लास्टिकजन्य फोहर खरीद गर्ने व्यवस्था गरिएपनि अहिलेसम्म बेच्न कोही नआएको नगरप्रमुख महेश बस्नेतले जानकारी दिए ।
बेच्न कोही नआएपछि प्लास्टिक खरीद गर्न नगरपालिकाले ठाउँ तोक्ने र प्रसारप्रचारलाई अगाडि बढाउने तयारी गरेको छ ।
नगरपालिकाले २०६७ देखि पोलिथिनको झोलामा प्रतिबन्ध लगाएको हुनाले त्यस्ता झोला भने खरीद नगरिने नगरप्रमुख बस्नेतले बताए ।
नगरपालिकाले मिनिरल वाटरको बोतल र खाद्यवस्तु प्याकेजीङ भएको प्लास्टिक मात्रै खरीद गर्नेछ ।
खरीद गरेको प्लास्टिकलाई प्रशोधन गरेर पेट्रोलियम पदार्थ निकाल्ने वा सडक पक्की गर्नमा प्रयोग गरिने अलकत्र बनाउने योजना नगरपालिकाको छ । –रासस
पढ्नुहोस् ।