टिप्पणीमंगलबार, २९ माघ , २०७५

माछा खाने चरा

कमल मादेन

कुनै समय काठमाडौं उपत्यकामा प्रशस्त पाइने क्रिस्टेड किङफिसर पछिल्लो समय देखिंदैन।

ह्वाइट–थ्रोटेड किङफिसर । तस्वीर: कमल मादेन

ललितपुरको नक्खु खोलामा सधैंजसो एकाबिहानै माछा खाने चरा देखिन्छ । मलमूत्र मिसिने खोलामा माछा त कमै पाइएला, तर बिहानको आहारा जुटाउन यो चराले त्यही ठाउँ रोज्छ । यो चराले खोला किनारको डिलमा चुच्चोले प्वाल पारेर गुँड बनाई बचेरा काढ्छ । यसैका आधारमा हुनुपर्छ, थारू समुदायले यसलाई ‘माटीकोरे’ भन्छन् ।

माछा खाएर जीवन निर्वाह गर्ने चरा असंख्य छन् । बकुल्ला, हाँस, सारस, जलकौवा आदिले माछा खाए पनि तिनलाई माछा खाने चरा भनिंदैन । उड्न फूर्तिलो, आकारमा मुठीभरको र माछाको शिकार गर्न सिपालु पक्षीलाई यो नाम दिइएको छ । माछा समाउन सक्ने अद्भुत क्षमता भएकाले यसले ‘किङफिसर’ उपमा पाएको छ । किङफिसर विभिन्न प्रकारका हुन्छन् ।

माछा समात्ने भएकाले यो चराको चुच्चो लामो हुन्छ । यसले माछा भोजन गर्न ज्यान जोखिममा पारेर पानीभित्र डुबुल्की मार्छ । त्यसरी डुबुल्की मार्दा वा बाहिर निस्कँदा अन्य मांसहारी जन्तुको शिकार बन्न सक्छ ।

पाइड किङफिसर । तस्वीर: यात्रा राई

माछा खाने चरा भनिए पनि यसले माछाका साथै भ्यागुता, स–साना कीरा, मुसा, छेपारो र आक्कलझुक्कल रूपमा चराचुरुङ्गीका बच्चालाई समेत आहारा बनाउँछ । राकेश सूद, कृपालज्योती मजुम्दार र अभिक गुप्ता लिखित प्रिडेसन बाइ ह्वाइट–थ्रोटेड किङफिसर अन कमन उल्फ स्नेक (सन् २०१०) लेखमा माछा खाने चराले सर्प पनि खाने उल्लेख छ । यो प्रजातिको किङफिसरको चुच्चो रातो हुन्छ ।

काठमाडौंको वागमती र टौदह क्षेत्रमा क्रिस्टेड किङफिसर पाइएको तथ्यांक छ । छिरबिरे रङको हुने यो चरा नेपालमा पाइने माछा खाने चरामध्ये सबैभन्दा लाम्चो हुन्छ । यसको पखेटा र पुच्छरमा तेर्सा धर्साहरू हुन्छन् ।

सन् २००३ यता वागमती र टौदह क्षेत्रमा चराको निरन्तर अवलोकन गर्दै आएका एरेन्ड वान रिस्सेनको द बर्ड्स अफ वागमती एण्ड टौदह एरिया, २००३–२०१६ (सन् २०१७) पुस्तकमा क्रिस्टेड किङफिसर १९ अक्टोबर २०११ मा एकपटक मात्र देखेको उल्लेख छ ।

द स्टेटस अफ नेपाल्स बर्डस्ः द नेशनल रेड लिस्ट सिरिज भोलम–३ (सन् २०१६) पुस्तकमा क्रिस्टेड किङफिसर नेपालका धेरैजसो पहाडी तथा हिमाली जिल्लामा पाइने, काठमाडौं उपत्यकामा भने विरलै पाइने लेखिएको छ । यो प्रजातिको किङफिसर नेपालमा पाइन्छ भन्ने जानकारी ब्रायन हड्सनले सन् १८४४ मै गराएका थिए ।

कमन किङफिसर । तस्वीर: यात्रा राई

त्यो बेला उपत्यकामा यो चरा प्रशस्तै थियो होला, अहिले भने अक्सर कमन किङफिसर मात्र देखिन्छ । हड्सनले चित्रकार राजमान सिंहलाई कोर्न लगाएको यसको चित्र द स्टेटस अफ नेपाल्स बर्डस्ः द नेशनल रेड लिस्ट सिरिज पुस्तकमा समेटिएको छ ।

दक्षिण एशियामा उत्पत्ति भएको मानिने उक्त चरा इष्ट इन्डिया कम्पनीका एक डेनिस कारिन्दा कुनार्त जाकोब टेम्निकले सन् १८३४ मा पहिलो पटक पत्ता लगाएका थिए ।

कोशीटप्पुमा किङफिसर
गएको माघको पहिलो साता सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षमा पुग्दा त्यहाँ माछा खाने चराका तीन प्रजाति देख्न पाइयो । तथ्यांक अनुसार भने आरक्ष र आसपासका क्षेत्रमा ६ प्रजातिका यस्ता चरा पाइन्छन् । ह्वाइट–थ्रोटेड, कमन, स्टर्क–विल्ड र पाइड किङफिसर आरक्षको धेरैजसो भागमा देखिन्छ । क्रिस्टेड किङफिसर भने कोशी नदीको उत्तरमा चतरातिर यदाकदा भेटिन्छ ।

स्टर्क–विल्ड । तस्वीरः सञ्जय था

आरक्षको अत्यन्तै दुर्लभ माछा खाने चरा भने ब्लाक–क्याप किङफिसर हो । ह्वाइट–थ्रोटेड किङफिसरको जस्तै रूप हुने यसको टाउको र पखेटाको केही भाग कालो हुन्छ ।

कठालो सेतो, बैजनी नीलो रङ हुने शरीरको माथिल्लो भाग फिक्का सुन्तले र पखेटाको आधा भाग कालो हुन्छ । चरा अनुसन्धानकर्ता हटन चौधरीले आरक्ष नजिक सुनसरी खोलामा ब्ल्याक–क्याप किङफिसर सन् १९९६/१९९७ मा र त्यसपछि ८/९ वर्षअघि एक पटक कोशीमा देखेका थिए ।

सानो र छिरबिरे रङको पाइड किङफिसर तराईतिर तालतलैया नजिक भेटिन्छ । यसले आहार पक्रन आकाशमा एकै ठाउँ अडिएर नियाल्छ र निशाना पहिल्याएपछि सोझै तल द्रुत वेगमा आएर आहारा समाउँछ । स्टर्क–विल्ड किङफिसर कोशीटप्पु आरक्षमा अक्सर भेटिन्छ । सुस्तरी बग्ने पानीमा आहार खोज्ने यसको चुच्चो निकै ठूलो हुन्छ ।

प्रतिकृया दिनुहोस