महेन्द्रनगर युनाइटेड र धनगढी स्टार्सलाई धक्का
सोमबारदेखि शुरु धनगढी प्रिमियर लिग (डीपीएल)को तेस्रो संस्करणको दोस्रो खेलमा रुपन्देही च्यालेञ्जरर्सले महेन्द्रनगर युनाइटेडलाई स्तब्ध तुल्यायो ।
जम्माजम्मी एक सय ११ रनमा समेटिएको रुपन्देहीविरुद्ध महेन्द्रनगरका लागि मात्र दुई रन बाधक बन्यो । महेन्द्रनगरले ८ विकेटको क्षतिमा एक सय नौं रन मात्र जोडनसक्यो ।
टस जितेर ब्याटिङ गरेको रुपन्देही लागि प्रदीप ऐरीले आफ्नो खराब फर्मलाई फेरि पनि निरन्तरता दिए । उनी शून्यमै आउट हुँदा सन्दीप सुनार (१५) र बाबर हयात (१४) ले केही बेर इनिङ सम्हाले । बिनोद भण्डारीले १६ बलमा १९ रन बनाएर टिमलाई थोरै उकास्दैं गर्दा अर्को इनिङबाट सुमित महर्जन ३५ बल खेल्दै २७ रन योगदान दिए । बिक्रम सोबले नटआउट १० बलमा १६ रन बनाएपछि मात्र टिमले एकसयको स्कोर पार गरेको थियो ।
रुपन्देहीलाई कम स्कोरमा सिमित पार्न सिद्धान्त लोहनीले तीन, अविनाश बोहरा र सागर ढकालले दुई÷दुई र कप्तान शरद भेषवाकरले एक विकेट लिए ।
कम स्कोरमा जित निकाल्न ओपनिङमै आएका शरद र दिलीप नाथको जोडी जम्न सकेन । टिमका लागि सुब्रमण्यम् आनन्दले सर्वाधिक २५, रोहितकुमार पौडेलले २४ र बलर मोहम्मद नाभिदले १२ रन बनाए । अन्य कसैले स्कोरमा दोहोरो अंक जोडन सकेनन् ।
रुपन्देहीको सनसनी जितमा बिक्रम सोबनै नायक बने । उनले शरद, रोहितकुमार र सिद्धान्त पौडेलजस्ता महत्वपूर्ण खेलाडीको विकेट लिए । पूनित मेहराले दुई र ललितसिंह भण्डारी, बसन्त रेग्मी र कृष्ण कार्कीले एक/एक विकेट लिए ।
बिक्रम सोब प्लेअर अफ द म्याच घोषित भए । मंगलबारको पहिलो खेल सीवाईसी अत्तरियाविरुद्ध धनगढी स्टार्स् र विराटनगर किंग्सविरुद्ध रुपन्देही च्यालेञ्जरबीच हुनेछ ।
प्रतियोगीताको पहिलो खेलमा भने बदलाको भाव प्रमुख बन्यो । प्रतियोगिताको दुवै संस्करणको बिजेता धनगढी स्टार्स्लाई गतवर्षको उपविजेता काठमाडौंले गोल्डेन्स्ले चार विकेटले पराजित गर्यो ।
टस जितेर फिल्डिङ रोजेको काठमाडौंले धनगढीका ओपनरद्वय रोहन मुस्तफा र सुनिल धमालालाई टिमको स्कार ६ रनमै पेभेलियन फर्काएको थियो । तर, मध्यक्रममा अमित श्रेष्ठको अर्धशतक, सन्दीप राजाजीको २८ र सर्वेन्द्र खनालको १० बलमै २५ रनको मद्दतले धनगढी निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानमा १३२ रन बनाउन सफल रह्यो ।
काठमाडौंका लागि नन्दनकुमार यादव दुई, ललितनारायण राजवंशीले एक र अमित धबासले एक विकेट लिए ।
जितका लागि काठमाडौंलाई पनि सहज भएन । ओपनर गौरव तमोर ५.६ ओभरमा २८ रनको व्यक्तिगत स्कोरमा बाहिरिएपछि अनिल साहले धैर्यतापूर्वक ब्याटिङ समालेका थिए । उनले ४० बलमा २४ रन बनाए । तेस्रो नम्बरमा ब्याटिङमा आएका अमित धबासले २३ बलमा सर्वाधिक २९ रनको योगदान दिए ।
टिमको स्कोर ९५ रन छँदा अनिल आउट भएपछि कप्तान ज्ञानेन्द्र मल्ल, सोनु तामाङ र योगेन्द्रसिंह कार्कीले लगालग विकेट गुमाएका थिए ।
जितका लागि १८ बलमा २९ रन चाहिने अवस्थामा मेहबुब आलम र बिक्रम भुसालले क्रमशः १२ र १४ रन बनाउँदै गतवर्षको फाइनलको बदला लिएका थिए ।
धनगढीका लागि युएईका रोहन मुस्तफाले चार विकेट लिए । कप्तान सोमपाल कामी विकेटविहीन रहँदा अमिर हयात र विपीन खत्रीले एक÷विकेट लिए । काठमाडौंको टोलीबाट बलिङ र ब्याटिङतर्फ नै योगदान दिएका भारतको झारखण्ड क्रिकेट टोलीका सदस्य धबास प्लेअर अफ द म्याच चुनिए ।