समाचारसोमबार, २८ माघ , २०७५

इन्टरनेटबाटै सवारी जाँच !

हिमालखबर

अब तपाईँको गाडी इन्टरनेटबाटै जाँच हुनेछ । लामो दूरीका गाडीमा दुई चालक भए नभएको, चालकले कति दूरीसम्म गाडी चलाएको, चालक परिवर्तन भए नभएको लगायत जाँच इन्टरनेटबाटै हुनेछ ।

यसका लागि बाँके जिल्ला ट्राफिक प्रहरीले ‘ट्राफिक कम्युनिकेशन एप' सञ्चालनमा ल्याएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायका अनुसार यो एप पहिलो चरणमा आइतबारदेखि बाँकेको कोहलपुर, नवलपुरको भूमही, काठमाडौँको नागढुङ्गा र सर्लाहीको कमैयामा सञ्चालनमा ल्याइएको छ ।

यो एपले तपाईँले गाडी कति समय चलाउनुभयो, चालक परिवर्तन गर्नुभयो कि भएन, नियम मिचे, नमिचेको लगायतका जानकारीसँगै चालकको तस्वीरसहितको सबै कुराको अभिलेख राख्नेछ । एपको जानकारीका आधारमा सवारी चालकलाई कारवाही गरिनेछ । यदि कारवाहीबाट बच्ने हो भने ‘ट्राफिक कम्युनिकेशन एप’को निर्देशन पालना गर्नुपर्ने हुन्छ ।

“लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनको सुरक्षाका लागि एपले महत्वपूर्ण भूमिका खेल्ने र दुर्घटना न्यूनीकरणमा समेत उपयोगी हुने विश्वास गरेका छौँ”, प्रहरी निरीक्षक रोकायले भने, “सर्भरमा लामो दूरीका सवारी चालक, बस नम्बर तथा प्रस्थान समय राखिनेछ ।”

यातायात व्यवस्था ऐन २०४९ ले लामो दूरीका सवारी साधनमा दुई सवारी चालक अनिवार्य राख्नुपर्ने व्यवस्था गरे पनि यातायात व्यवसायीले कार्यान्वयन गर्न आनाकानी गरिरहेका थिए । –रासस

 

प्रतिकृया दिनुहोस