कला/साहित्यसोमबार, २८ माघ , २०७५

हलिउड संगीतकारको सारङगी मोह

हिमालखबर

हलिउड चलचित्रमा संगीत भरिसकेका एरीक बोङकाङले तीन वर्षअघि पोखरामा सुमधुर धुन निकाल्ने बाजा देखे । पहिलोपटक देखेको भएपनि त्यसबाट निस्कने ध्वनीले एरीकलाई मोहनी लगायो । त्यो थियो नेपालको मौलिक बाजा– सारङगी ।

 पाेखरामा एरीक बोङकाङ । तस्वीर: युवराज श्रेष्ठ

सारङगीको सुमधुर ध्वनीले फुत्किनै नदिएपछि उनले आफूसँगै लिएर गए । जब उनी आफ्नो देश कोलम्बिया पुगे पोखरा र सारङगीको यादले अचाक्ली सताउन थाल्यो ।

त्यही सारङगीको धुन र पोखराको मायाले उनलाई चारपटकसम्म कोलम्बिया–पोखरा आउजाउ गरायो । यही बीचमा उनले सारङगी रेट्न मात्रै सिकेनन् त्यसबाट नेपाली सारङगी वादकले जसरी सुमधुर आवाज निकाल्न सक्ने पनि भए । उनले रेट्ने सारङगीको धुन पोखरामा मात्रै सिमित भएन, अन्य देशमा पनि घन्किन थाल्यो । अहिले उनी जहाँ जान्छन्– सारङगी साथमै हुन्छ ।

पोखरामा गत शनिबार आयोजित ‘पोखरा लिटरेचर फेष्टिभल’मा एरीकले सारङगी र यसको धुनप्रति आफ्नो अगाध प्रेम रहेको बताए ।

सारङगी बोकेर दर्शक अघि बसेका एरीकले नेपाली युवाले सारङगीमा चासो नदिएको भन्दै चिन्ता व्यक्त गरे । “सारङगीका धेरै धुन अहिलेको पुस्तालाई जानकारी नै छैन,” उनले भने, “यो त धुनको महासागर हो ।”

सारङगीबारे केही अनुभव सुनाएपछि उनले फरक–फरक धुन बजाएर उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाए । उक्त अवसरमा एरीकले सारङगी रेटेर ‘ब्रतबन्धको धुन’ र ‘धान रोप्ने बेला बजाइने धुन’ लगायतका लोपोन्मुख धुन सुनाए ।

युवराज श्रेष्ठ, पोखरा ।

 

प्रतिकृया दिनुहोस