ब्लगसोमबार, २८ माघ , २०७५

राजा त्रिभुवनको ‘तपाईं’ र ‘तिमी’

भैरव रिसाल

‘बिजुली गारत’ पल्टन सिंहदरबारमा हुन्जेल शिष्ट आचार–व्यवहार गर्ने त्रिभुवन त्यो सैन्य शक्ति नारायणहिटी भित्रिएपछि भने परिवर्तन भएछन्।

राजाहरूले राजनीतिक नेता र अन्य व्यक्तिलाई सम्बोधन गर्दा कस्तो आदरार्थी शब्द प्रयोग गर्थे भन्नेबारे बेलाबेला चर्चाको विषय बन्ने गर्छ । यस सम्बन्धमा राजा त्रिभुवनसँग जोडिएको विचित्रको घटना छ ।

नेपाली सेनाको बिजुली गारत पल्टन नारायणहिटी दरबार नछिरुन्जेल उनी नेता, साहित्यकार, कलाकार र पत्रकारहरूलाई ‘तपाईं’ भनेर सम्बोधन गर्दा रहेछन् । अरूले तपाईं भन्दा पनि सहजै लिंदा रहेछन् । ‘सरकार’ वा ‘हजूर’ भनेर कसैबाट चाकडीको भाषा अपेक्षा गर्दैनथे ।

२००७ सालताका राजा त्रिभुवनसँग भेट गर्न जागरण साप्ताहिक पत्रिकाका प्रधान सम्पादक हृदयचन्द्रसिंह प्रधान र सम्पादक युगकवि सिद्धिचरण श्रेष्ठ गएका रहेछन् । कुराकानीका क्रममा उनीहरूले राजालाई ‘तपाईं’ सम्बोधन गरेछन् । दुवैले ‘हामीले तपाईं भन्यौं नि !’ भन्दा त्रिभुवनले मुसुक्क हाँसेर भनेछन्, “मलाई तपाईं भनेको असाध्यै मन पर्छ ।”

तर, सात सालको परिवर्तनपछि सैन्य शक्ति दरबारमा केन्द्रित गरेसँगै त्रिभुवनको स्वभाव र व्यवहार नै परिवर्तन भएछ । सत्ताको साँचो राणाबाट शाह खलकको हातमा परेपछि सेनाको स्वरुप परिवर्तन नभए पनि नियन्त्रण भने फेरियो । १ वैशाख २००८ मा उनले सेनाको ‘सुप्रिम कमाण्डर इन चिफ’ को पद प्रधानमन्त्रीबाट आफ्नै बाहुलीमा लिए ।

सोही दिनदेखि सिंहदरबारमा रहेको बिजुली गारत, पाश्र्वदल र कालीबहादुर गणलाई नारायणहिटीको रानीदरबार लगियो । यस्तै, सम्पूर्ण बारुदखाना, हतियार, खरखजानाहरूमा तीन वटा साँचो लगाउने व्यवस्था गरी हरेकको एक/एक साँचो राजाले राख्न थाले ।

त्यसपछि भने त्रिभुवनको बोली र स्वभाव दुवैमा परिवर्तन देखिन थाल्यो । ‘तपाईं’ भन्दै आएकाहरूलाई ‘तिमी’ भन्न थाले । भेटघाट पनि धेरै घटाए ।

आफूलाई सामान्य मानिसमा रूपान्तरण गर्न लागेका राजा सामन्त हुनेतर्फ अगाडि बढे । बुझनेहरूले यसलाई ‘बिजुली गारत’ को चमत्कार भन्न थालेका थिए ।

बिजुली गारतको वृत्तान्त
नेपालमा ‘सरकार’ को पद्धति बस्दा स्थायी खालको पल्टन वा सेना थिएन । आवश्यकता अनुसार तीन महीना, ६ महीनाका लागि सेनामा भर्ना गरिन्थ्यो र काम सकिनासाथ विघटन गरिन्थ्यो ।

यस्ता पल्टनलाई ‘मिलिसिया’ भनिंदोरहेछ । ब्यारेक प्रथा थिएन । राज्यलाई स्थायी खालको सेना आवश्यक ठानेर प्रधानमन्त्री भीमसेन थापाको पालादेखि दुईदेखि तीन हजारसम्म जवान भएका पल्टन राख्न थालिएछ । त्यसको नाम समय अनुसार कहिले ए.डी.सी. कम्पनी त कहिले ‘समरजंग’ पनि राखिएको रहेछ ।

पहिला ‘बिजुली गारत’ पल्टनलाई मात्र छाउनी अर्थात् ब्यारेकमा राखिन्थ्यो । ९ माघ २००८ मा डा.के.आई. सिंहले रक्षा दलको सहयोगमा सिंहदरबारमा विद्रोह गरेपछि सबै सेना ब्यारेकमा राख्न थालियो ।

नेता लगायत सबैलाई ‘तपाईं’ सम्बोधन गर्ने राजाले २००८ सालपछि त आफू विशेष रहेको छनक दिन थाले। २३ साउन २०१० को मन्त्रिमण्डलले पारित गरेको थियो, ‘श्री ५ र मौसूफको परिवारको सम्बन्धमा उहाँ भन्ने शब्द प्रयोग नगरी मौसूफ भन्ने शब्द प्रयोग गर्नू।’

राणा शासनको बेला राजा, राजपरिवारसँगै श्री ३ को सुरक्षा बिजुली गारतले हेथ्र्यो । त्यो समयमा बिजुली गारतको महत्व अझ बढी थियो । ‘कसैले रोकटोक गरेमा हत्यासम्म गरिदिनू’ भन्ने सनद खड्ग निशाना बिजुली गारतले पाएको थियो । त्यसै कारण वीरशमशेरले श्री ३ रणोद्दीप सिंहको हत्या गर्नुअघि उनको सुरक्षार्थ तैनाथ बिजुली गारतलाई कब्जामा लिएका थिए । वीरशमशेरलाई कप्तान फौजसिंह खत्रीले सघाएका थिए ।

बिजुली गारत नाम राख्नुको पनि गहिरो अर्थ रहेछ । आकाशमा बिजुली चम्के झैं तेजिलो र फूर्तिलो गार्ड भन्ने भाव बुझाउने गरी त्यो नाम राखिएको थियो । सात सालको परिवर्तनपछि उक्त पल्टन सहित धेरै समूह मिसाएर गोरखबहादुर गण बनाइयो । पछि त राजपरिवारको सुरक्षाको लागि छुट्टै शाही रक्षक वाहिनी नै बनाइयो ।

पहिला नेतालगायत सबैलाई ‘तपाईं’ सम्बोधन गरेर सम्मान प्रकट गर्ने राजा त्रिभुवनले २००८ सालपछि त आफू विशेष रहेको छनक दिन थाले ।

त्यो कुरा दुई वर्षमै प्रकट भयो । २३ साउन २०१० को मन्त्रिमण्डलले पारित गरेको थियो, ‘श्री ५ र मौसूफको परिवारको सम्बन्धमा उहाँ भन्ने शब्द प्रयोग नगरी मौसूफ भन्ने शब्द प्रयोग गर्नू ।’

प्रतिकृया दिनुहोस