मेलबर्नको निर्णायक खेलमा सन्दीपको तीन विकेट
सिड्नी सिक्सर्सलाई स्तब्ध पार्दै नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्स अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल)को प्लेअफमा छनोट भएको छ ।
प्लेअफमा पुग्न ‘गर या मर’ स्थितिमा रहेको मेलबर्न स्टार्सका लागि सन्दिपले आफूलाई पुनः प्रमाणित गर्दै तीन विकेट लिए । ३.४ ओभरमा ११ रनमात्र दिए । बीबीएलमा यो उनको सबैभन्दा उत्कृट प्रदर्शन हो ।
नेपालीसमय अनुसार आइतबार बिहान भएको खेलमा पहिलो ब्याटिङ गर्दै मेलबर्नले ६ विकेटको क्षतिमा १६८ रन बनाएको थियो । तर, १६९ रनको लक्ष्य पछ्याएको सिड्नी १३.४ ओभरमा ७४ रनमै अलआउट हुनपुग्यो । त्यसो त सिड्नीले यसअघि नै प्लेअफको स्थान सुरक्षित गरिसकेको छ ।
खेलको आठौं ओभरमा बलिङका लागि आएका सन्दीपले पहिलो ओभरमै सिड्नीका टिके कुरानलाई एलबीडब्लूको फन्दामा पारेका थिए । त्यसपछि ११.४ ओभरमा बेन ड्वारशुइसलाई कप्तान ग्लेन म्यासवेल र अन्तिम १३.४ मा लोयड पोपलाई मार्कस् स्टोइनिसबाट क्याच गराउँदै जित निश्चित गराएका थिए ।
मेलबर्नका तर्फबाट ड्यानियल वरल, एडम जाम्पाले दुई/दुई, कप्तान म्यासवेल र जेएम बर्डले एक/एक विकेट बाडेका थिए । सिड्नीका लागि ओपनर डीपी ह्युजले मात्र सर्वाधिक १२ रन जोडन सफल रहे ।
मेलबर्नका लागि ‘प्लेयर अफ द म्याच’ समेत घोषित कप्तान म्यासवेल विशेष रहे । उनले ४३ बलमा ८२ रनको स्कोरकै कारण टिमले १६८ को सम्मानजनक स्कोर बनाएको थियो ।
यो परिणामसँगै मेलबर्नले बिहीबार प्लेअफको शीर्ष स्थानमा रहेको होबर्ट हुरिकान्स्सँग खेल्नेछ भने सिड्नीले दोस्रो स्थानमा रहेको मेलबर्न रेनेगेड्सको सामना गर्नेछ ।