कला/साहित्यआइतबार, २७ माघ , २०७५

सुनील शेट्टीका छोरा अहान बलिउडमा डेब्यू गर्दै

हिमालखबर

सुनील शेट्टीका छोरा अहान शेट्टीले बलिउडमा छिटै कदम राख्ने भएका छन्। दक्षिण भारतीय सुपरहिट फिल्म 'आर एक्स १००' को हिन्दी रिमेकबाट उनले डेब्यू गर्न लागेका हुन्।

मिलन लुथरियाले निर्देशन गर्ने उक्त फिल्मको नाम 'तडप' राखिएको छ। फिल्म रिमेक भए पनि यसको कथावस्तुमा धेरै परिवर्तन गरिएको बताइएको छ।

फिल्मको कथावस्तु सलमान खान अभिनीत 'तेरे नाम' को जस्तै कारुणिक हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। खासगरी क्लाइमेक्स 'तेरे नाम' मा जस्तै दु:खान्त बनाउने योजना छ। फिल्मको निर्माण साजिद नाडियाडवालाले गर्नेछन्।

फिल्मको स्क्रिप्ट पूरा गरेर निर्देशक छायांकनका लागि ठाउँको खोजीमा लागेका छन्।  फिल्मको छायांकन छिटै शुरु हुने निर्माण टोलीले बताएको छ। यद्यपि फिल्मको लागि अभिनेत्रीको टुङ्गो लाग्न बाँकी नै छ।

बलिउडका अन्य स्टारका सन्तान पनि डेब्यूको तयारीमा छन्। सनी देओलका छोरा करण देओल 'पल पल दिल के पास' बाट बलिउडमा प्रवेश गर्दैछन्।

फिल्मको निर्देशन सनीले नै गर्ने बताइएको छ। यस्तै, चङ्की पाण्डेकी छोरी अनन्या पाण्डे करण जौहरको फिल्म 'स्टुडेन्ट अफ द इयर २' बाट डेब्यू गर्ने तयारीमा छिन्। यो फिल्म २०१९ मै रिलिज हुनेछ। एजेन्सी

प्रतिकृया दिनुहोस