टिप्पणीआइतबार, २७ माघ , २०७५

ल्होछारको अनेक उत्सव

वसन्त महर्जन

चिनियाँ ज्योतिषको एउटै पद्धति अनुसार मनाइने ल्होछार हामीकहाँ विभिन्न समुदायले फरक नाम र मितिमा मनाउने क्रममा अलग्गै पहिचान दिएका छन्।

तामाङ समुदायको सोनाम ल्होछार मनाइँदै । तस्वीरः मोनिका देउपाला

‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ फेरिनु भएकाले ल्होछारको शाब्दिक अर्थ नयाँ वर्ष हुन्छ । वसन्त आगमनलाई वर्षको शुरूआतको रूपमा मनाउने परम्परा बसालेको चिनियाँ ज्योतिष पद्धति फराकिलो भूगोलमा फैलिएको छ । तर, नयाँ वर्षलाई नेपालमा विभिन्न समुदायले तमु, सोनाम र ग्याल्बो नामबाट अलग–अलग तिथिमितिमा मनाउँछन् ।

गुरुङ समुदायले तमु ल्होछार (१५ पुस), तामाङ समुदायले सोनाम ल्होछार (माघ शुक्ल प्रतिपदा) र शेर्पा समुदायले ग्याल्बो ल्होछार (फागुन शुक्ल प्रतिपदा) मनाउँदै आएका छन् ।

चिनियाँ ज्योतिष परम्परा अनुसार वर्ष गणनामा बाह्र वर्षको एक चक्कर हुन्छ, जसको नाम क्रमशः मुसा, गोरु, बाघ, खरायो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर रहेको छ । १२ वर्ष पाँच फन्को लाग्दा ६० वर्ष हुन्छ, जसलाई एक संवत्सर भनिन्छ । महीनाहरूको नाम पनि विभिन्न जनावरबाट राखिएको छ ।

यस अनुसार क्रमशः बाघ महीना (पुस), खरायो महीना (माघ), गरुड महीना (फागुन), सर्प महीना (चैत), घोडा महीना (वैशाख) भेडा महीना (जेठ) बाँदर महीना (असार), चरा महीना (साउन), कुकुर महीना (भदौ), सुँगुर महीना (असोज), मुसा महीना (कात्तिक) र गोरु महीना (मंसीर) छन् । वर्ष र महीना गणनाको यो पद्धति चीनमा मात्र नभई मंगोलिया, तिब्बत, भूटान र नेपालमा पनि एउटै छ ।

पुस महीनाबाट सूर्य उत्तर दिशातिर जाने भएकाले यसलाई लोफोवा (नयाँ वर्ष फेरेको) मानिन्छ । यो समयदेखि अन्य ग्रह, नक्षत्र र तारामण्डलहरू ठाउँ सर्ने, मानिस र जीवजन्तुको अंग पनि फेरिने र जाडो विदा भएर न्यानो दिनको शुरूआत हुँदा जमीनभित्रका कीराहरू समेत चलमलाएर सर्ने मानिन्छ ।

झारपात र बिरुवा उम्रने तथा पालुवा पलाउने समय पनि यही हो । यो प्राकृतिक फेरबदललाई ध्यानमा राखेर चिनियाँ ज्योतिष पद्धति अनुसार नयाँ वर्ष मानिएको भनाइ पाइन्छ । यो पद्धति पाँच हजार वर्ष पुरानो रहेको अनुमान छ ।

ल्होछार मनाउने थालनीबारे ऐतिहासिक तथ्यहरू छन् । मंगोलियामा सन् १२०६ मा मंगोल जातीय सरदारहरूको महासभाले चिङ्गिस खाँ (सन् ११६२–१२२७) लाई सम्राट उपाधि दिएको र मंगोल एकीकरण भएको अवसरमा फागुन शुक्लपक्ष प्रतिपदाका दिन ल्होछार मनाएको उल्लेख छ ।

पछि पाँचौं दलाई लामा (सन् १६१७–१६८२) ले मंगोल सेनाको सहायतामा सन् १६४२ मा तिब्बतको राज्यसत्ता कब्जा गरेपछि मंगोल परम्परा अनुसार तिब्बतमा पनि यही दिन ल्होछार मनाउन थालियो । राजासँग सम्बन्धित भएकाले यसलाई राजाको ल्होछार पनि भनिन्छ र ग्याल्बो ल्होछारको शाब्दिक अर्थ पनि राजाको ल्होछार नै हुन्छ । नेपालमा यो ल्होछार विशेषतः शेर्पा समुदायले मनाउँछन् ।

नयाँ वर्षका रूपमा मनाइने ल्होछार गुरुङ, तामाङ र शेर्पा समुदायले फरक तिथिमितिमा मनाइरहँदा किन छुट्टाछुट्टै मनाएको भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो, सम्बन्धित समुदायले भने यसलाई बेग्लाबेग्लै पहिचान दिंदै आएका छन् । गुरुङ समुदायले तमु ल्होछार १५ पुसमा मनाउँछन् ।

तामाङ समुदायमा लोकप्रिय सोनाम ल्होछार कुनै बेला काभ्रेको तिमाल लगायत क्षेत्रमा पुसको पूर्णिमामा मनाउने गरिएको बताइन्छ । १५ पुस वा पूर्णिमामा मनाउनु केही दिनको फरक मात्र हो ।

पछिल्लो समय भने सोनाम ल्होछार माघ शुक्लपक्ष प्रतिपदाको दिन मनाउने गरिन्छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि जातीय पहिचान स्थापनाका क्रममा तामाङका जातीय नेताहरूको आह्वान अनुसार उक्त दिन मनाउने प्रचलन व्यापक भएको हो ।

यस वर्ष भने सोनाम र ग्याल्बो ल्होछार एकै दिन (२२ माघ) परेका छन् । मलमासका कारण केही वर्षको अन्तरमा ग्याल्बो ल्होछार एक महीना अगाडि सरेर सोनाम ल्होछारकै दिन पर्छ । फागुन शुक्ल प्रतिपदामा ग्याल्बो ल्होछार पर्ने मान्यता अनुसार यस वर्षका पात्रोहरूमा २३ फागुनमा उल्लेख भएको छ ।

सोनाम ल्होछार मनाउने तामाङ समुदायभित्र पुस पूर्णिमा वा माघ शुक्ल प्रतिपदामध्ये कुनलाई मनाउने भन्नेमा मतान्तर छ । यही समुदायको एउटा विचारले भने फागुन शुक्ल प्रतिपदामा (ग्याल्बो) मनाउनुपर्छ भन्ने जोड गरिरहेको छ । ग्याल्बो ल्होछार मनाउनुपर्छ भन्नेहरूमा प्रायः गेलुग्पा सम्प्रदायका बौद्ध लामाहरू छन् ।

एउटै ज्योतिष पद्धति अपनाए पनि विभिन्न नाम र मितिमा ल्होछार मनाउँदा अलमल र भ्रम हुने गरेको छ । त्यस्तै ल्होछारलाई बौद्ध चाडपर्वका रूपमा वर्गीकरण गरेको पाइए पनि यो बौद्ध धर्मदर्शनसँग सम्बन्धित होइन । बौद्ध जनसमुदायले मनाउने ल्होछार सांस्कृतिक जीवन अनुकूल पारिंदा बौद्ध चाड जस्तो देखिएको मात्र हो ।

प्रतिकृया दिनुहोस