समाचारआइतबार, २७ माघ , २०७५

३७ मेगावाटको माथिल्लो त्रिशूली ३– बी जलविद्युत् आयोजनाको शिलान्यास

हिमालखबर

नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनीको मुख्य लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिशूली ३–बी जलविद्युत् आयोजनाको शिलान्यास भएको छ ।

आज ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री वर्षमान पुनले आयोजनाको शिलान्यास गरेका हुन् ।

अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड रुपैयाँ र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रहेको आयोजनाको निर्माण २०७७ फागुनमा सक्ने लक्ष्य छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको शिलान्यास गर्ने कार्यक्रम तय भए पनि प्रधानमन्त्रीको कार्यक्रम विशेष कारणले स्थगित भएपछि मन्त्री पुनले शिलान्यास गरेका हुन् ।

आयोजना ‘इन्जिनियरिङ, खरीद तथा निर्माण’ मोडेलमा निर्माण गरिनेछ ।

यसका लागि, चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इक्जिनियरिङसँग २९ माघ २०७४ मा ठेक्का सम्झौता भएको थियो ।

ठेक्का सम्झौताअनुसार, ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण तथा जडान गर्नेछ ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठेकेदार कम्पनीले हाल निर्माण कार्यका लागि आवश्यक सम्पूर्ण निर्माण उपकरण तथा सामाग्रीको परिचालन गरी मुख्य सुरुङ (३८०० मिटर), विद्युत् गृह, सर्ज ट्यांक लगायतका संरचनाको काम शुरु गर्ने अवस्थामा रहेको जानकारी दिए ।

नुवाकोट र रसुवामा निर्माण हुने आयोजना प्राधिकरणले अहिले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए को क्यास्केड आयोजना हो ।

क्यास्केड भएकाले माथिल्लो त्रिशूली ३ बीले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु पर्नेछैन ।

आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०÷३० प्रतिशत शेयर छ ।

कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत शेयर रहने छ ।

विद्युत् बिक्रीबाट वार्षिक करिब १ अर्ब ८९ करोड रुपैयाँ आम्दानी हुने कम्पनीका प्रबन्ध–सञ्चालक मोहन गौतमले जानकारी दिए ।

आयोजनाको विद्युत् गृहबाट करीब ३ किलोमिटर प्रसारण लाइनमार्फत त्रिशूली ३ बी हब सब–स्टेसनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा पठाइनेछ ।

प्रतिकृया दिनुहोस