टिप्पणीशनिबार, २६ माघ , २०७५

अमेरिकाको ‘पर्खाल राजनीति’

हिमालखबर

-एकराज पाठक

अमेरिकी इतिहासमै बजेटबारेको सबैभन्दा लामो गतिरोध भनिएको सरकारी खर्चसम्बन्धी विवादलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताअघि फुकादिएको भए पनि यो दिगो समाधान भने होइन ।

ट्रम्पले आफ्नो प्रशासनको प्रतिष्ठासँग जोडेर प्राथमिकतामा राखेको मेक्सिकोसँगको पर्खाल निर्माणको निकास गत जनवरी २५ मा गरेको हस्ताक्षरले दिँदैन । सरकारी खर्चसम्बन्धी संसदले पारित गरेको विधेयकमा उनले हस्ताक्षर त गरे तर तीन हप्ताका लागि मात्र । यसरी अहिलेका लागि सरकारी खर्चको गाँठो फेब्रुअरी १५ सम्मका लागि फुकेको मात्र हो ।

विश्वकै शक्तिशाली व्यक्ति मानिने अमेरिकी राष्ट्रपतिकै आफ्नै माग पूरा नहुँदा अमेरिकामा ३५ दिन देखि सरकारी खर्च ठप्प हुन पुगेको थियो । यस अवधिमा संघीय निकायका करिब ८ लाख कर्मचारीहरूले विना तलब काम गरिरहेका थिए । जुन आर्थिक गतिरोध अमेरिकी इतिहासकै सबैभन्दा लामो समयको हो भनिएको थियो ।

आफ्नै सरकार तथा संसदसमक्ष अमेरिकी राष्ट्रपति ट्रम्पको एक बेजोड माग– छिमेकी देश मेक्सिकोसँगको पर्खाल हो । जुन उनको राष्ट्रपतीय निर्वाचन र त्यसयताकै प्रमुख एजेण्डा हो ।

ट्रम्पको यो एजेण्डालाई विपक्षी डेमोक्र्याट दल, केही रिपब्लिकन सदस्य र कतिपय अमेरिकीहरु सम्भव ठान्दैनन् । तर राष्ट्रले जतिजति यो एजेण्डा सम्भव ठान्दैन त्यति नै यो राष्ट्रपति ट्रम्पको प्रष्ठिानको प्रश्न बनिरहेको छ । राष्ट्रपति यो पर्खालसम्बन्धी मागलाई तल्लो सदनमा निर्णायक हैसियतमा रहेको विपक्षी पार्टीले अस्वीकार गर्दै आएको छ । बदलास्वरुप राष्ट्रपति ट्रम्पले पनि खर्च गर्ने अनुमति रोकेका थिए ।

मेक्सिको सीमामा पर्खाल बनाउने बजेटको व्यवस्था गर्नुपर्ने ट्रम्पको मुख्य माग हो । ट्रम्पले यसका लागि अहिलेलाई करिब ६ अर्ब डलर छुट्याउन माग गरेका छन् । संसदले बजेट व्यवस्था नगरेसम्मका लागि सरकारी खर्चसम्बन्धी प्रस्ताव रोक्दै आएको छ । खर्च अनुमति सहजै नदिने ट्रम्पको विगतदेखिकै चेतावनी हो ।

राष्ट्रपति ट्रम्पले सन् २०१६ को आफ्नो निर्वाचन अभियानको मुख्य एजेण्डा नै सीमा निर्माणलाई बनाउँदा मजाकका पात्र पनि बनेका थिए । अहिलेको विश्वले पर्खालले छेकेर नछेकिने उनीहरुको भनाई थियो । तर, अहिले पनि पर्खालकै वरिपरि अमेरिकाको राजनीति फन्फनी घुमिरहेको देखिन्छ ।

मेक्सिकोसँगको सिमानामा बन्ने भनिएको सो पर्खालाको लम्बाई करिब ३ हजार १०० किलोमीटर रहेको छ । यति क्षेत्रमा बन्ने त्यो पर्खाल करिब २५ देखि ३० फिट अग्लो र पाँचदेखि सात फिट चौडाइको हुनेछ । यस्तो अनुत्पादक क्षेत्रमा खर्च गर्नु हुँदैन भन्नेमा अधिकांश अमेरिकीको मत छ ।
यसको लागत अनुमानमा मतैक्य देखिँदैन । कतिपयले यो पर्खाल १२ देखि १५ अर्बसम्ममा तयार हुन्छ भनेका छन् भने कतिपयले निकै धेरै ।

अमेरिकी दैनिक वासिङ्टन पोष्टले छ महिनाअघि गरेको एक सर्वेक्षणले यो पर्खालको अनुमानित लागत २५ देखि ३० अर्ब डलर सार्वजनिक गरेको छ । त्यसो त पर्खाल कति किलोमीटर बनाउने भन्ने नै स्पष्ट छैन । यसको करिब ३ हजार १०० किलोमीटर लम्बाई भएपनि कति क्षेत्रमा पर्खाल बनाउनुपर्ने भन्ने यकिन छैन ।

पर्खाल निर्माण गर्नैपर्ने कारण चाहिँ अवैध आप्रवासीहरुको चाप रोक्न भन्ने ट्रम्पको धारणा हो । र, उनका अनुसार, धेरैजसो आप्रवासी मेक्सिको हुँदै अमेरिका प्रवेश गर्ने गरेका छन् । त्यसमा पनि अधिकांश मेक्सिकन छन् । उनको परिभाषामा मेक्सिको र अवैध रुपमा प्रवेश गर्ने नागरिकबाट अमेरिका असुरक्षित हुन थालेको छ । बढीजसो हुने गरेका गोलीकाण्ड र लुटपाटका घटनामा आप्रवासीकै बढी हात छ ।

पर्खाल मस्तिष्क
आप्रवासी छिर्न रोक्ने यो पर्खाल त यी दुई देशको सिमा क्षेत्रमा भयो । तर अमेरिकी राजनीतिलाई फनफनी घुमाएको अर्काे एक सांकेतिक पर्खाल उत्तर र दक्षिण अमेरिकाको बीचमा छ । त्यो मेक्सिकोको सिमाकोजस्तो नापो र खर्चको होइन तर सांकेतिक भएपनि अमेरिकी राजनीतिलाई केही मात्रामा भने बेरेकै छ ।

केही वर्ष यताको अमेरिकाको एउटा ठूलो चासो उत्तर कोरिया पनि हो । यसै हप्ताको एक सम्बोधनमा राष्ट्रपति ट्रम्पले भनेका थिए– यदि मैले गतवर्ष उत्तर कोरियाली नेता किम जोङ उनलाई नभेटेको भए यतिखेर अमेरिका र उत्तर कोरिया युद्ध गरिरहेका पनि हुनसक्थे । उनले भनेजस्तै युद्ध नै त हुन्थ्यो या हुदैनथ्यो तर उत्तर कोरियाको आणविक परीक्षणले अमेरिकीको मनमा युद्धको त्रास भने जमाएको हुनसक्थ्यो ।

एकाध बाहेक सबैजसो दक्षिण कोरियालीहरु उत्तर र दक्षिण कोरियाका बीचका हालको पर्खाल पूर्वी र पश्चिमी जर्मनीको बर्लिनको पर्खाल झैँ ढलाउन चाहन्छन् । यसको प्रार्थना यतिखेर दक्षिणका कैयौँ चर्चहरुमा जारी छ । तर यो काम न दक्षिण र नत उत्तरकै नागरिकले मात्र चाहेर सम्भव छ । त्यसमा अमेरिकी भूमिका सर्वत्र जगजाहेरै छ । उत्तर र दक्षिणका जस्तै अमेरिकी नागरिक पनि त्यो पर्खाल ढलेको राम्रो मान्छन् ।

सीमामा पर्खालजस्तै उत्तरसँगको बढी हिमचिम पनि अमेरिकी विपक्षीहरुको अनिच्छाको विषय हो । यद्यपि किमसँगको भेट राष्ट्रपति ट्रम्पको एउटा साहसिक निर्णय त हो नै । त्यसैले यता जसरी पर्खाल निर्माणमा ट्रम्पले अडान लिइरहेका छन्, त्यस्तै दृढता उता दुई कोरियाबीचको पर्खाल ढाल्ने काममा लिन सक्नुपर्छ । यदि यसो नहुने हो भने यहाँको राजनीति अरु कैयौँ वर्ष दुई पर्खालले घेरिइरहने छ ।

यसै महिना भियतनाममा हुन लागेको किमसँगको दोस्रो शिखर भेटअघि राष्ट्रपति ट्रम्पका लागि यो एक महत्वपूर्ण सुझाव हो । –रासस

प्रतिकृया दिनुहोस