समाचारशनिबार, २६ माघ , २०७५

राजकुमारीको चुनाव लड्ने घोषणाले थाइल्याण्डमा तरंग

हिमालखबर

थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीले प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकोमा असन्तुष्टि जनाएका छन् ।

‘थाई रक्षा चार्ट पार्टी’का तर्फबाट उनकी ६७ वर्षीया दिदी तथा थाई राजकुमारी उबोलरतना महिडोलले शुक्रबार उम्मेदवारीको घोषणा गरेकी थिइन ।

राजकुमारी अहिले पनि राजपरिवारको सदस्य भएकाले दलिय राजनीतिमा संलग्न हुनु उचित नहुने राजाको भनाई छ ।

तत्कालिन राजा भूमिबोल अदुल्यादेज र रानी सिरिकितको जेठी सन्तान उबोलरतनालाई सन् १९७२ मा राजपद्वी दिइएको थियो ।

उबोलरतनाले सन् १९७२ मा अमेरिकी नागरिक पिटर जेन्सनसँग विवाह गरेपछि राजपद्वी त्यागेकी थिइन् । तर, जेन्सनसँग सम्बन्ध विच्छेदपछि उनी पुनः थाइल्यान्ड फर्केकी थिइन् । त्यसपछि उनलाई पुनः राजपरिवारकै सदस्यको सम्मान दिइएको छ ।

शाही दरबारद्धारा जारी वक्तव्यमा राजपरिवारका सदस्यहरु राजनीतिमा सक्रिय हुनु संविधान, परम्परा, संस्कृति र संवैधानिक राजतन्त्रको मान्यता विपरित हुने उल्लेख गरिएको छ ।

थाइल्याण्डमा २४ मार्चमा आम निर्वाचन हुँदैछ । थाइल्यान्डको आधुनिक इतिहासमा राजपरिवारका कुनै सदस्यले मुख्य राजनीतिक भूमिकामा दाबी गरेको यो पहिलो घटना हो । सन् १९३२ मा संवैधानिक राजतन्त्रको व्यवस्था भएयता थाइल्यान्डमा प्रधानमन्त्रीका रुपमा कुनैपनि राजसंस्थाका व्यक्ति प्रधानमन्त्रीमा नियुक्त भएका छैनन् ।

थाई राजतन्त्रलाई परम्परागतरुपमा राजनीतिक प्रतिस्पर्धाभन्दा माथि पवित्र संस्थाका रुपमा हेर्ने गरिन्छ । थाइल्यान्डको कडा कानुनी व्यवस्थाका कारण राजतन्त्रविरुद्ध आलोचना गर्न पनि पाइन्न । राजतन्त्रले मुलुकमा राजनीतिक संकट उत्पन्न भएका बखत हस्तक्षेप गर्ने गरेको छ ।

सिनावात्राको प्रभाव

पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको राजनीतिक प्रभावका कारण राजकुमारीले उम्मेदवारी दिएको बताइन्छ ।

थाइल्याण्डमा थाक्सिन समर्थक “राता” टिसर्टधारी र राजावादी “पहेंला” टिसर्टधारीबीच परम्परागत दुश्मनी रहँदै आएकामा राजकुमारीको उम्मेदवारीले दुबैलाई एक ठाउँमा ल्याउने अपेक्षा गरिएको छ । यी दुई समूहबीचकोे हिंसाले गएको दशकमा थाइल्यान्डको राजनीतिलाई अस्थिर बनाएको थियो ।

‘थाई रक्षा चार्ट पार्टी’ अर्बपति थाई नेता थाक्सिन सिनावात्राको प्रभावमा रहेको मानिन्छ । उनी थाइल्यान्डको राजनीतिमा निकै प्रभावशाली व्यक्तित्व मानिन्छन् । उनी सेना र बैंककस्थित धनाढ्य वर्गले नरुचाए पनि ग्रामीण क्षेत्रमा लोकप्रिय छन् ।

सिनावात्रालाई सन् २००६ मा सैनिक सत्ताविद्रोहबाट पदच्यूत गरिएको थियो । तर सन् २०१४ मा उनकी बहिनी यिङ्लकको सत्तामा पुनरागमन भएको थियो । अन्ततः उनलाई पनि भ्रष्टाचारको आरोपमा सत्ताबाट हटाइएको थियो ।

राजकुमारीको कदमले सैनिक नेता प्रयुत चान–ओ–चाको राजनीतिक इच्छामा निकै ठूलो प्रहार गरेको छ । उनी चुनावमार्फत नागरिक नेताका रुपमा स्थापित गर्न इच्छुक छन् । उनी पाँच वर्षदेखि सत्तामा हुनुहुन्छ ।

सर्वसाधारणसँग घुलमिल हुन अभिरुचि राख्ने राजकुमारीको घोषणासँगै प्रयुतले पनि प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिएको घोषणा गरेका छन् । उनी फालाङ प्रचारत सैनिक पार्टीबाट उम्मेदवार बनेका छन् । –रासस/सिन्ह्वा

 

प्रतिकृया दिनुहोस