समाचारशनिबार, २६ माघ , २०७५

बढे क्यान्सरका रोगी, पुरुषभन्दा महिला बढी प्रभावित

हिमालखबर

पाल्पामा क्यान्सर रोगका बिरामी बढेका छन् । आर्थिक वर्ष २०७४/७५ मा जिल्लामा ११३ क्यान्सर रोगका बिरामी भेटिए। अघिल्लो आर्थिक वर्ष क्यान्सर रोगी ८३ जना मात्र थिए।

क्यान्सरबाट पुरुषभन्दा महिला बढी प्रभावित देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीका अनुसार, ११३ क्यान्सर रोगीमध्ये ६७ जना महिला छन्।

क्यान्सरबाट महिला बढी प्रभावित हुनुमा छिटोछिटो बच्चा जन्माउनु, उमेर नपुग्दै आमा बन्नु, सरसफाइमा ध्यान नदिनुजस्ता कारण महत्वपूर्ण छन्। यसवाहेक सुर्तीजन्य, मादकपदार्थजन्य वस्तुको अत्यधिक सेवन, प्रदूषणयुक्त वातावरणमा काम गर्नु, खानपानमा ध्यान नदिनुजस्ता क्यान्सरका कारक मानिन्छन्।

महिलामा हुने क्यान्सरमा स्तन क्यान्सर, पाठेघरको क्यान्सर प्रमुख छन् भने पुरुषमा घाँटी, मुखमा बढीमा क्यान्सरको संक्रमण देखिएको छ। सरकारले क्यान्सर रोगका बिरामीका लागि उपचार खर्चबापत रु. एक लाख रकम उपलब्ध गराउन थालेपछि अस्पताल आउने बिरामीको संख्या बढेको स्वास्थ्यकर्मीहरु बताउँछन्।

क्यान्सर रोग लागेको पहिलो र दोस्रो चरणमा नै उपचार थाल्ने हो भने यो रोगबाट बच्न सकिन्छ । तेस्रो र चौँथो चरणमा पुगेका बिरामीको उपचार भने जटिल छ । जिल्लामा पत्ता लागेका क्यान्सर रोगीलाई थप उपचारका लागि भरतपुर र काठमाडौँ पठाउने गरिन्छ। – रासस

 

प्रतिकृया दिनुहोस