कला/साहित्यशनिबार, २६ माघ , २०७५

केही मिठो 'बाट' गर...!

रविन गिरी

केही मिठो बात गर को यो फरक ‘भर्सन’ सुन्नेलाई नारायणगोपालले नै गाएको हो भन्दा पत्यार लाग्दैन ।

नेपालीभाषीले सम्भवतः सबैभन्दा बढी सुनेका, रुचाइएका र ‘स्वरसम्राट’ उपाधिले समेत सम्मानित गायक हुन्, नारायणगोपाल गुरुवाचार्य ।

१९ मंसीर २०४७ सालमा ५१ वर्षकै अल्पायुमा निधन हुनुअघि उनले करीब एक सय ३७ वटा गीत रेकर्ड गरे, जसमध्ये अधिकांश कालजयी बने ।

काठमाडौं, किलागलको नेवार परिवारमा जन्मे, हुर्केता पनि नारायणगोपालबारे एउटा धारणा सदैव रह्यो– नारायणगोपालले नेपाली भाषा बोल्दा उनको मातृभाषा नेपाल भाषाको प्रभाव देखिए पनि गायनमा त्यसको अंशसमेत कतै पाइँदैन ।

अर्थात्, नेपाली भाषाको गीत उनी शुद्ध नेपाली भाषाकै उच्चारणको अनुशासनभित्र गाउन सक्ने खूबी राख्दथे । तर, म्युजिक नेपालले आफ्नो यूट्युब च्यानलमा राखेको यो अत्याधिक लोकप्रिय गीतले भने बेग्लै तथ्य इंकित गर्छ ।

गीत हो, केही मिठो बात गर... । कालीप्रसाद रिजाल रचित यो गीतमा स्वर र संगीत नारायण गोपालले नै दिएका छन् । यूट्युबमा यो गीतको दुई फरक भर्सन सुन्न पाइन्छ ।

पहिलो, जुन हामी सबैले सुन्दैआएको भर्सन, जहाँ नारायणगोपालको उच्चारणमा कुनै फरक पाइँदैन ।

दोस्रो भर्सन, जहाँ उनी ‘बात’लाई ‘बाट’ उच्चारण गर्छन । त को ठाउँमा ट त सुनिन्छ नै, द पनि ड बनेको छ ।

पूरै गीत सुन्ने हो भने, यस्तो सुनिन्छः

केही मिठो बाट गर, राट टेसै ढल्किदैछ
भरे फेरि एकान्तमा रुनु   छदैंछ

रमाइलो कुरा गर, सपनाको कुरा गर
सँगसँगै बिटाएको सम्झनाको कुरा गर
डुःख छोड डुःखलाईजिन्डगानी छदैंछ
भरे फेरि एकान्टमा रुनु छदैंछ

आऊ नाचौं अन्ध्यारोमा जूनकिरी नाँचेजस्टै
बतासमा उडौं आज सिमलको भुवाजस्टै
डुई कदम साथ हिडौं छुट्टिनु त छदैंछ
भरे फेरि एकान्टमा रुनु त छदैंछ

म्युजिक नेपालले एकवर्षअघि (मार्च ८, २०१८) मा ‘अपलोड’ गरेको यो गीतले अहिलेसम्म २२ लाख ५४ हजारभन्दा बढी ‘भ्यूज’ पाइसकेको छ ।

पहिलोपटक यो फरक ‘भर्सन’ सुन्नेलाई यो गीत नारायणगोपालले नै गाएको हो भन्दा पत्यार लाग्दैन । गीत सुनेका कतिपयले युट्यबमै उच्चारणको गल्ती पनि औंल्याउँदै यस्तै आशंका पनि गरेका छन् ।

कतिले पुरानो ट्रयाक हुनसक्ने प्रतिक्रिया दिएका छन् । त्यसो त यो गीतको थुप्रै ‘कभर भर्सन’ पनि छन् ।

तर, यो गीतमा स्वर नारायणगोपालकै छ । लय पनि उही छ । मात्र फरक छ, बाजागाजा र ठाउँठाउँका उच्चारण ।

यस्तो कहिले र कसरी भयो ?

पंक्तिकार जस्तो साधारण स्रोतालाई मात्र होइन, म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्माका लागि समेत यो प्रश्न नौलो र उदेकलाग्दो थियो ।

उनीसमेत आफ्नो कम्पनीको च्यानलबाट यस्तो गीत अपलोड भएकोमा अनभिज्ञ रहेछन् । “हामीबाट गल्ती भयो”, शर्माले प्रतिक्रियामा यही
भने ।

तर, यो गीतको सार्वजनिकरणबाट एउटा फरक र थाहा पाउनै पर्ने तथ्य सामुन्ने आयो । उनै शर्माका अनुसार, उच्चारणमा फरक परेको गीतको यो भर्सन नारायणगोपालले ‘ट्रयाक’मा गाएका थिए, जसलाई म्युजिक नेपालले आफ्नो आर्काइभमा राखिराखेको थियो ।

आफूले ‘ट्रयाक’ सुन्दा ‘बात’ उच्चारणमा त को ठाउँमा ट सुनेको र आफूसहित नारायणगोपालका नजिकका केहीको सल्लाहमा उनले अन्तिम रेर्कडिङमा ‘बाट’सहित अरु अमिल्दा उच्चारणलाई पनि सूधारेका थिए ।

“यो २०४४ सालतिरको कुरा हुनुपर्छ”, शर्मा सम्झन्छन्, “अन्तिम रेकर्डिड राम्रो भएकाले पहिलेको ‘ट्रयाक’ सबैले बिर्सिए, तर यूट्युबमा ‘अपलोड’ गर्ने हाम्रा साथीहरुलाई कुन, ट्रयाक र कुन फाइनल गीत भन्ने हेक्का भएन जस्तो छ, म यसबारे बुझ्छु ।

शर्माले भने झैं नारायण गोपालको यो ट्रयाक भर्सनमा ‘बात’को ठाउँमा ‘बाट’सँगै अरु ठाउँमा पनि उच्चारण अमिल्दा सुनिन्छन् । ...

के यस गीतका सर्जक कालिप्रसाद रिजाललाई गीतका यी दुई भर्सन र नारायण गोपालको यस्तो उच्चारणबारे थाहा थियो ?

“यसरी प्रश्न नै त कसैले गरेको थिएन, तर एक, दुई जनाले यस्तो पो सुनियो भनेका थिए, तर त्यो कुरा ‘लाइभ’मा नारायणगोपालजीले गाएको गीतमा हो कि भन्ने मलाई लागेको थियो”, उनले भने, “त्यसपछि मैले फेरि यूट्युबमा सुने, मलाई त केही फरक लागेन ।”

तर, रिजालले सुनेको पनि ट्रयाक रेकर्डिड थिएन । उही फाइनल ‘भर्सन’ नै थियो । ट्रयाक रेकर्डिडबारे त बल्ल उनले थाहा पाउँदैछन् ।

उनका लागि ट्रयाक भर्सनमा सुनिने उच्चारण दुर्लभ हो । “स्वयं नारायण गोपालका लागि पनि यो दुर्लभ हुनुपर्छ”, उनी भन्छन् ।

कालीप्रसाद रिजालका शब्दमा नारायण गोपालले जम्मा ८ वटा गीत गाएका छन्, जसमध्ये आँखा छोपी नरोऊ भनि, झरेको पात झैं भयो, झर्‍यो जिन्दगी फुट्यो जिन्दगी, यसैगरी बिताइदिन्छु दुई दिनको जिन्दगी माया गर्नेको चिखो माया सदावहार छन् ।

रिजालका भनाइमा, उनी २०३२/३३ सालतिर सूचना विभागमा कार्यरत रहँदा नारायणगोपाल स्वयं उनीसँग गीत माग्न कार्यालयमै आएका थिए । त्योबेलादेखि जीवन रहेसम्म दुईको सम्बन्ध मधुर रह्यो ।

केही मिठो बात गर मा नारायणगोपालले प्रयोग गरेका थिए, नेपाली गीतमा पश्चिमा संगीतको, यो प्रयोग उनको करियरकै उचाई थियो”, रिजाललाई यस्तो लाग्छ ।

नारायणगोपालको ट्रयाकसमेत सुरक्षित राखेको म्युजिक नेपालका सहकर्मीले सन्तोष शर्माकै भनाइमा ‘भूलवश’ अपलोड गरे पनि यसले नेपाली संगीतको इतिहासमा भने यसले हानी पुर्‍याएको छैन ।

खाट्टी नेवारी समुदायका नारायणगोपालका गीतमा मातृभाषाको छनक आउनु अस्वभाविक पक्कै होइन । यस्तो हुनु आफू हुनुको चिनारी पनि हो ।

राष्ट्रिय भाषामा गीत नगाएसम्म ‘हाम्रो संगीतकर्मी’ नै नमान्ने राष्ट्रवादको एकखाले सोंच र संस्कार हावी हुञ्जेल ‘त’, ‘ट’ भइरहन्छ । हुनसक्छ, यस्ता धेरै सिर्जना लुकेका छन्, जसलाई हामीले सुन्नै बाँकी छ ।

 

प्रतिकृया दिनुहोस