दस्तावेजशनिबार, २६ माघ , २०७५

भोटको सीमा नाकामा फौज

ज्ञानमणि नेपाल

श्री ३ जंगबहादुर राणाले सुदूरपश्चिमको डोटी गौंडामा खटिएका कर्णेल कृष्णध्वज कुँवरलाई पत्र लेखेर भोटमा आक्रमण गर्न सबै व्यवस्था मिलाउन अह्राएका थिए।

जंगबहादुर राणा ।

भोटमा आक्रमण गर्ने तयारी स्वरूप श्री ३ जंगबहादुर राणाले वि.सं. १९११ साउन–भदौदेखि नै भोटसँगका सीमा पूर्व, पश्चिम र कुती, केरुङ आदि नाकामा फौज तीव्र रूपमा तैनाथ पार्न लगाए । फौजका लागि आवश्यक रसदपानी, हातहतियार र गोलीगट्ठाको व्यवस्था गरिएको थियो ।

चीनमा उठेको विद्रोह दबाउने नाममा जंगबहादुरले सेना पठाउने रणनीति बनाए पनि त्यहाँका बादशाहले नेपालको सैन्य सहायता लिन चाहेका छैनन् भनेर उनलाई थाहा भइसकेको थियो ।

ल्हासास्थित चिनियाँ अम्बाहरूले नेपाल सरकारको अर्जी चीन पठाउन गाह्रो मानी बादशाह स्वयं विद्रोह दबाउन सक्षम भए पनि श्री ५ को मद्दत गर्ने सदिच्छा बुझेर अर्जी पठाइदिएको भन्ने व्यहोराबाटै सो मनसाय जाहेर हुन्थ्यो । 

भदौभित्र खबर पठाउन आग्रह गर्दै जंगबहादुरले चीनका बादशाहलाई सहयोग गर्ने निहुँमा तयारी गरिराख्ने नीति अख्तियार गरेका थिए । उताबाट खबर आए पनि नआए पनि उक्त अवधिभित्रै सीमाका चौकीहरूमा सेना पठाउनुपर्ने थियो ।

सेना तयारी अवस्थामा राख्दै तिनलाई पुग्दो रसदपानी र हातहतियार पनि तयार राख्नुपर्ने थियो । किनकि आन्तरिक तयारी त भोटसँग युद्ध गर्ने थियो ।

जंगबहादुरले उदयपुरको चौदण्डीमा तैनाथीको जिम्मेवारी पाएका कप्तान भीमल आलेमगरबाट आवश्यक पर्ने हातहतियारको तेरिज लिइसकेका थिए । युद्धका लागि सामग्री राख्ने थुन्से, डाला, भुने आदि बुन्न पूर्वतिर पाइने बेत र कुम्भीपाट पनि झिकाइसकेका थिए ।

यस्तै, कुती र खासा सिमानाका सुब्बा मानसरोवर सिंहलाई पनि रकम पठाई काठ चिरेर अन्न राख्ने ठूल्ठूला गोदाम–घर बनाउन र पाएसम्म चामल, मकै, कोदो, गहुँ, उवा, चिउरा किन्न अह्राएका थिए ।

अन्न लिएर भोटतिर नून साट्न जाने नेपालीसँग अन्न किनेर नगदले नै नून किनाएर पठाउने पनि गरिएको थियो । जम्मा भएको अन्न भुटेर र पिसेर थैला–थैलामा राख्न भनिएको थियो । किनकि त्यसरी पिसेर थैलामा राखिने अनाज युद्धको बेला खपत गर्न गोदामबाट तत्काल झिकेर लैजान सकिन्थ्यो ।

अर्कातिर, भोटमा पर्याप्त दाउरा नपाइने भएकाले पकाउने लेठोविना सातु फुक्कै वा नूनपानीमा घोलेर खान सजिलो हुन्थ्यो भने भुटेका मकै, भटमास, गेडागुडी र चिउरा पनि त्यसै खान सकिन्थ्यो । युद्धको प्रयोजनले ठूलो परिमाणमा अन्न भुट्ने, जाँतो र ढिंकीमा पिस्ने–कुट्ने काममा धेरै महिला र पुरुषले काम पाएका थिए ।

वीरकालीन कवि उदयानन्द अज्र्यालले पृथ्वीनारायण शाहकालको युद्धको विशद वर्णन गरेका छन् । जस्तैः “भाइभारदारदेखि जनतासम्मका योद्धाहरू युद्धमैदानमा लडिरहेका छन् । ज्योतिषी पण्डित युद्धको साइत दैनिक बताइरहेका छन् ।

वैद्यहरू घाइते भएका योद्धाहरूको औषधोपचार गरिरहेका छन् । दमाईहरू नयाँ लुगा सिउने, पुराना टाल्ने, सातु–सामल हाल्ने थैला–धोक्राहरू र बस्ने–सुत्ने पालहरू सिइरहेका छन् । सार्की घोडाका काँठी र जुत्ता सिइरहेका छन् । रसदपानी, गोलीगट्ठा र अन्य मालमत्ता बोक्ने कामदारहरू खटिइरहेका छन् ।”

भोट युद्धको तयारीका बेला भने भेडा, च्याङ्ग्रा, घोडा, खच्चर र गधाहरूलाई भारी बोकाइएको थियो । युद्धका लागि सबै जोहो गरेर तयारी अवस्थामा राख्न जंगबहादुरले सुदूरपश्चिम डोटी गौंडामा खटिएका कृष्णध्वज कुँवर राणाजीलाई पत्र लेखेर अह्राएका थिए ।

त्यहाँ अंग्रेजहरूसँग भैपरिआउने काम मिलाउन, मुलुकको बन्दोबस्त र असुल–तहसिलको काम पनि गर्न सरदार कर्णसिंह महत र सुब्बा वीरभञ्जन माझीलाई खटाउन अह्राइएको थियो । गौंडाको दैनिक काम तल–माथि नपरोस् भन्दै आफ्नो परिवारको पनि खानपिनको व्यवस्था मिलाई आफूले गर्नुपर्ने सबै कामको बन्दोबस्त मिलाउन भनिएको थियो ।

साथै, त्यहाँ रहेका कालीजंग, रणभीम, भवानीबक्स र ज्वाला दल गरेर चार कम्पनीका हातहतियारसहित जम्मा जवान ८०५, तोप चलाउने जवान २३ र कप्तान वरफानसिंह बस्नेत, कप्तान जबर कार्की, कप्तान बुद्धिमानसिंह बस्नेतलाई लगेर भोट जाने बाटोमा हुम्लामा गई बस्नू भनेर निर्देश गरिएको थियो ।

जंगबहादुरले पत्रमा दुई कम्पनी पल्टन पिपा गौंडामा निसान पूजाका लागि राख्नू, अरू १५ जमदार साथैमा लैजानू, पिपा आफैंले भर्ना गर्दा पनि हुने उल्लेख गरेका थिए ।

हतियार जाँचेर साबुत राख्न, बन्दूक र बारुद लगायतका खजाना अपुग भए प्यूठानबाट झिकाउन, सैनिकहरूलाई तालिम दिई तैनाथ राख्न, फौजलाई एक वर्षसम्म पुग्ने रसदपानी खरीद गरेर पर्याप्त राख्न भनिएको थियो । युद्ध लड्न यहाँबाट आदेश दिनासाथै हिंड्नुपर्ने समेत उनले लेखेका थिए ।


श्री प्राइम मिनिष्टरबाट श्रीकर्णेल कृष्णध्वज कुँवर राणाजीलाई लेखिगयाको

उप्रान्त सर्दार कनकसिं महत, सुवा वीरभंजन माझ्लिे सिलगढिमा बसि गौंडा मुहुडाको काम र अंग्रेजसँगको कामपर्दा औ मुलुकको वरवन्दोवस्त जाँचबुझ् असुल तहसिलको काममा सल्लाह सँग गर्नु. गौंडा थामनु. केहि कुरामा गाफिल नपरोस् भनि अह्राई इ तीन जनालाई सिलगढिमा राखि मुलुकको बन्दोबस्त आफुले गन्र्या काम सबै सकि तेरा परिवारलाई खानापिनाको बन्दोवस्त बाँधी सरदार सुब्बाका जिम्मा सिलगढीमा छोडी तसँगका श्रीकालिजङ्पल्टनका नाल २०१ श्री रणभिम पल्टनका नाल २०१ श्रीभवानीवक्स कंपनिका नाल १०१ श्रीज्वालादल कंपनीका नाल १०१ श्रीचन्दननाथ पल्टनका नाल २०१ जम्मा नाल ८०५ इनै पल्टनका गोलन्दाज २३ र कपतान वरफानसिं वश्न्यात कपतान जवर कार्की कपतान बुद्धिमान सिंह कपतानलाई साथमा लिई भोटतिरको बाटाको नजिक पारि फौजलाई बस्नाको सुविस्ता हेरि तैले भदौ मैन्हामा हुम्ला जाइवस् श्रीनञा श्रीनाथ श्रीअडिदमन कंपनीका पीपा १/१ निसान पुजाका टहलुलाई गौंडामा थामि पिपा १५/१५ र ज्यामादार समेत तैले लैगयास् इनहरूले पिपा नदिया येस कंपनीका पिपा तैंले भर्ना गरि लग्यास् गोलंन्दाज जना छ येताबाट पठायाका छन्. इनहरूलाइ पनि सामेल राखि तेसतरफका तोप मध्ये बढीया साबुदतोप २ तयार गरि आफ्नासाथमा राख, तोप धेरै लगीकाम छैन १ तोपलाई २ सय गोला र ४ सय गिराफ चाहिन्छ यस तजविजले पल्टनका अरु खजाना रसद सबै तागिता गरि जति उठाउन सक्छस् उती तोप लैजा ६ पंनिको तोप भारी हुन्छ ४ पंनी ५ पंनिको तोप लैजान्या काम गरेस्, तोपलाइ चाहिन्या गोला गिराफ खरखजाना र बन्दुकलाई जनहि गोलिसमेतको गठ्ठा १५ का दरले गठ्ठा र जनहि ९/९ का दरले चाहिन्या पत्थर अरु खरखजाना जो चाहिन्छन् तयार गन्र्या काम गर्नु, बंदुक संगीन तोस्दान मार्तौल सुजनी गैह्र साबुत भया नभयाको जाँचि साबुत गराई ताहाँका बन्दुक जाँचदा बनाउदा वनीनसकन्या भै नपुग्याको बन्दुक बारुद गोलि प्युठानाबाट झ्किाउन्या काम गर्नु, सिसा जो पायाको खरिद गरि बन्दुकको मोहरिमा मिलाई गोलिगठ्ठा ढाल्न लाउनु लडाई पर्दा गोलि सानो ठुलो भै नबिग्रियोस्. २ तोपका गिराफ गोला पनि तयार गरि सिपाहिहरूलाई पनि तारो हांन लगाई तालिम गरि तयार गरि राख्न्या काम गर इ पल्टनका लाजिम्मा भरिया समेतले वर्षदिन खानलाई रसद खरिद गरि राख्नु, जङ्गी खजाना तयार गरि रसद खरिद गर्नलाई दस्तखत पठायाको छ । सो दस्तखत बमोजिमको रुपैया ली सबै काम कुराको गाफिल नपारी तयार गर्नु, ताहाँ नपुग्याको कुरालाई ञाहा लेखि पठा र ञाहाबाट ताकित भै आउला जुन दिन लड्न जा भनि हामीले भनि पठाउँला. उस दिन जालास् जोरावरसिंह मरेका ठाउँमा लड्न तैंले जानुपन्र्या छ.

११ साल भाद्र बदी १३ रोज २ मा ।

प्रतिकृया दिनुहोस