द्वन्द्व पीडितलाई न्याय दिन अरु ढिलो नगर: आइसीजे
इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स (आइसिजे)ले शान्ति सम्झौता भएको एक दशक पूरा भइसक्दा पनि द्वन्द्वमा परेका नागरिकले न्याय नपाएको भन्दै सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय कानुनअनुसार न्यायिक प्रक्रिया अगाडि बढाउन माग गरेको छ ।
शान्ति सम्झौता भएको १० वर्ष पूरा भएको अवसरमा आज एक प्रेस विज्ञप्ति जारी गरी आइसिजेले सङ्क्रमणकालीन न्यायसम्बन्धि ऐन संशोधन गर्दा सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानुन तथा घोषणापत्रलाई ध्यान दिन आग्रह गरेको छ ।
आइसिजेले विज्ञप्तिमा भनेको छ– “अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लङ्घनमा आम माफी नदिन, अन्तर्राष्ट्रिय कानुनअनुसार अपराधसम्बन्धी कानुन बनाउन र त्यसमा बेपत्ता, यातना तथा अत्याचार, युद्ध अपराध, मानवताविरुद्धको अपराधमा अन्तर्राष्ट्रिय कानुन र मापदण्डअनुसार गर्नुपर्छ ।”
न्यायिक तटस्थता अपनाउन र अन्तर्राष्ट्रिय मानवअधिकारका विषयलाई ध्यान दिनुपर्नेमा जोड दिँदै सङ्क्रमणकालीन न्यायलाई लैङ्गिक संवेदनशील गर्नुपर्नेमा आइसिजेले जोड दिएको छ । रासस