समाचारशुक्रबार, २५ माघ , २०७५

बाल यौन दुर्व्यवहारविरुद्ध ‘सेफ्टी पोर्टल’

सविना देवकोटा

इन्टरनेटमा रहेका बाल यौन दुर्व्यवहारजन्य सामग्री कम गर्न www.childsafety.org.np सञ्चालनमा आएको छ।

इन्टरनेटमा उपलब्ध बालहिंसा, यौन दुर्व्यवहारजन्य तस्वीर वा भिडियो सामग्री फेला परेमा त्यसको लिंक, तस्वीर, भिडियो यस अनलाइन पोर्टलमा जोसुकैले पनि उजुरी गर्न सक्ने फोरम फर डिजिटल इक्वालिटी का संस्थापक तथा कार्यकारी निर्देशक बाबुराम अर्याल बताउँछन्। उजुरी गर्दा पहिचान खुलाउनै पर्छ भन्ने बाध्यता नरहेको उनले बताए।

पोर्टलले सम्बन्धित सेवा प्रदायकको सहयोगमा उक्त सामग्री स्रोतबाटै हटाउन समेत पहल गर्ने अर्याल बताउँछन्। स्थानीय सञ्जालबाहेक इन्टरनेट वाच फाउण्डेशनले संयोजन गरेको अन्तर्राष्ट्रिय सञ्जाल मार्फत उक्त सामग्री हटाउन सक्रिय रूपमा पहल गर्नेछ।

यसरी प्राप्त उजुरीलाई इन्टरनेट वाच फाउन्डेशनले विकास गरेको आई डब्लु एफ पोर्टलको टुल्स मार्फत प्राविधिक विश्लेषण गरी विस्तृत रूपमा प्रतिवेदन तयार गर्नेछ भने यसरी प्राप्त प्रतिवेदनलाई नेपाल प्रहरी लगायत कानून कार्यान्वयन निकायले थप अनुसन्धान तथा कानूनी कारबाहीको लागि प्रयोग गर्न सक्नेछ ।

हाल नेपालमा बाल यौन दुर्व्यवहारकाे घटनाको उजुरी बढेको नेपाल प्रहरी, साइबर ब्यूरोका ज्वाइन्ट डाइरेक्टर नवीन्द्र अर्याल बताउँछन् । भन्छन्, “चाइल्ड सेफ्टी पोर्टलले यस किसिमको अपराध र घटनामा हामीलाई अनुसन्धान गर्न सहयोग हुनेछ ।”

त्यसो त साइबर स्पेशमा बालबालिकाको सुरक्षा विश्वव्यापी रूपमै संवेदनशील विषय भएको इन्टरनेट वाच फाउण्डेशनकी निर्देशक एम्मा डग्लस बताउँछिन् । नेपालमा यसको चुनौतीलाई सम्बोधन गर्न स्थानीय साझेदार संस्थाहरूसँगको अभियानमा इन्टरनेट वाच फाउण्डेशनको साथ रहिरहने उनले बताइन् ।

पोर्टलको माध्यमबाट बाल दुव्र्यवहारको घटनामा पीडितलाई प्राविधिक अनुसन्धानमा सहायता, मनोसामाजिक परामर्श, कानूनी परामर्श तथा अदालती सहायता समेत उपलब्ध हुने कार्यकारी निर्देशक अर्यालले जानकारी दिए । पोर्टलमा दुव्र्यवहारजन्य सामग्रीको उजुरी गर्ने ‘टुल्स’ लगायत बालबालिकालाई इन्टरनेट प्रयोग गर्ने सम्बन्धमा आवश्यक जानकारीमूलक सामग्री, नीति तथा कानून लगायत सामग्री पनि उपलब्ध छ ।

विश्व सुरक्षित इन्टरनेट दिवस मनाउने सन्दर्भमा फोरम फर डिजिटल इक्वालिटी, इन्टरनेट सोसाइटी नेपाल र सेन्टर फर ल एण्ड टेक्नोलोजीको साझा अभियान अनलाइन चाइल्ड प्रोटेक्सन इनिसिएटिभ र इन्टरनेट वाच फाउन्डेशनको संयुक्त पहलमा उक्त पोर्टलको 'लन्च' गरिएको हो ।

प्रतिकृया दिनुहोस