कला/साहित्यशुक्रबार, २५ माघ , २०७५

बुद्धको मूर्ति बनाउन जापान पुगे मञ्जुल

गोपाल गडतौला

मोरङ मिक्लाजोङका मञ्जुल बराइली ‘मितेरी’ (३८) जापानको कुमामोतोको चट्टानमा बुद्ध मूर्ति कुँदिरहेका छन्।

मोरङको मिक्लुक खोला किनार बस्तीका अरू साथीहरु समूहमा खेलिरहेका हुन्थे। तर बालक मञ्जुल बराइलीको ध्याउन्न भने अर्कै हुन्थ्यो। उनी छिनु चलाउँदै ढुंगालाई कुनै आकार दिइरहेका हुन्थे।

जापानको कुमामोतोमा मूर्ति कुँदिरहेका नेपाली मूर्तिकारहरु दायाँबाट क्रमशः सानुभाई विक, रामचन्द्र पण्डित, मञ्जुल र गणेश राई। 

कक्षा ६ मा सामाजिक शिक्षा विषय पढ्दा मञ्जुलले पहिलो पटक अरनिकोको जीवनीबारे सुने, अनि उनीभित्र कलाकार बन्ने सपना सजियो। “कक्षामा शिक्षकको मुखबाट सुनेको अरनिकोको ठाउँमा आफूलाई राखेर बुझेछु” उनी भन्छन्, “सपना देख्न सजिलो भए पनि पूरा गर्न त अरूको पनि साथ चाहिन्थ्यो।” तर, उनको बाल रुचिलाई घरबाट अवरोध भएन। शनिबार र स्कूल विदाको दिन उनी मिक्लुक खोलाको बगरबाट ढुंगा बोकेर घर ल्याउँथे। मूर्तिकलामा पछिपछि त सिकर्मी बाबुले पनि सघाउन थाले। स्कूल र घाँस–दाउराको कामबाट बचेको समय उनी मूर्ति बनाउन तल्लीन हुन्थे। भन्छन्, “हेरेर शिक्षकहरूले पनि प्रशंसा गर्न थालेपछि ऊर्जा बढ्यो।”

२०६५ सालमा मञ्जुलले मोरङको उर्लाबारीमा पत्रकार सम्मेलन गरेर देशलाई एक हजार वटा मूर्ति उपहार दिने योजना सार्वजनिक गरे। यस क्रममा उनले राष्ट्रिय विभूतिसँगै विश्वचर्चित वैज्ञानिक, दार्शनिक, राजनीतिज्ञ आदिका १५० वटा मूर्ति कुँदिसकेका छन्।

मञ्जुलले बनाएको आदिकवि भानुभक्तको सालिक ।

मञ्जुलले रु.१५ लाख पारिश्रमिक लिएर बनाएको विन्ध्यवासिनीको मूर्ति काठमाडौंको नैकापमा स्थापना गरिएको छ। यस्तै, तेह्रथुमको संक्रान्ति बजारमा स्थापित किरात धर्मगुरु फाल्गुनन्दको सालिक र झापाको दमकमा राखिएको आदिकवि भानुभक्त आचार्यको अर्धकदको सालिक पनि उनैले बनाएका हुन्। उनका अनुसार, गएको २० वर्षमा कम्तीमा दुई हजार वटा मूर्ति बनाइसकेका छन्। “मूर्ति कुँद्न एकाग्रता, कल्पनाशीलता, धैर्य सँगै पाखुरीमा बल पनि चाहिंदो रहेछ”, उनी अनुभव सुनाउँछन्।

रुचि र जीविकाको मेलो बनेको मूर्तिकलाले मञ्जुललाई सामाजिक पहिचानसँगै सम्मान पनि दिएको छ। उनी २०७३ सालमा राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट पुरस्कृत समेत भएका थिए।

 ‘बुद्ध बुझाऔं’

मञ्जुल यतिबेला जापानको क्युशु द्वीपको कुमामोतो शहरमा मूर्ति बनाउन व्यस्त छन्। मूर्तिकारको रूपमा पहिलो अन्तर्राष्ट्रिय अनुभवमै उनी विशिष्ट परियोजनामा जोडिएका छन्। त्यहाँको आमाकुसा पर्यटन प्रतिष्ठानले ७० फुट अग्लो र २०० फुट चौडा चट्टानी पहरालाई कुँदेर बुद्धको मूर्ति बनाउन मूर्तिकारहरूको खोजी गर्यो। यसका लागि पहिल्यैदेखि जापानमा रहेका दिलीप लामिछाने सम्पर्कसूत्र बनेपछि मञ्जुलसँगै सानुभाइ विक (काभ्रे), रामचन्द्र पण्डित (उदयपुर) र गणेश राई (मोरङ) छनोट भए। २०१६ सेप्टेम्बरदेखि शुरू भएको पाँचवर्षे परियोजनामा यी कलाकारहरू दैनिक रु.१२ हजारदेखि १५ हजार पारिश्रमिकमा अनुबन्धित भएका हुन्।

मञ्जुलले  ‘प्रलयको सँघारमा पृथ्वी’ विषयमा बनाएको मूर्ति।

जापान बसाइको साढे दुई वर्षको अनुभवले उनलाई सिकाएको कुरा हो– ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भनेर बोलेर/लेखेर मात्र पुग्दैन। लाखौं बौद्धमार्गी रहेको जापानका नागरिकको अंग्रेजी भाषाप्रति रुचि छैन। उनीहरूलाई बुद्ध जन्मस्थलबारे जापानी भाषामै बुझाउन जरूरी रहेको बताउँदै उनी थप्छन्, “बुद्धबारे जापान लगायत मुलुकका नागरिकलाई थाहा दिएर जीवनमा एक पटक लुम्बिनी आउन आग्रह गर्न सकियो भने मात्र पनि नेपालको पर्यटन उद्योग उँचाइमा पुग्छ।”

गएको पुसमा नेपाल आएका मञ्जुलले ललितकला प्रज्ञा–प्रतिष्ठान गएर बुद्ध जन्मस्थलबारे विश्वमा प्रचारप्रसार गर्न अपनाउनुपर्ने तरिका सुझाएका थिए। विश्वमा बुद्धका मूर्ति रहेका स्थलहरूको सचित्र विवरण संकलन गरेर ती ठाउँमा नेपाल सरकारले धन्यवादपत्र पठाउने नीति लिए विश्वभरिको बौद्ध समाजले मुलुक चिन्ने उनको भनाइ थियो।

मञ्जुल प्रकृति र शान्तिलाई केन्द्रमा राखेर मूर्ति बनाउन रुचाउँछन्। २०७३ सालमा इटहरीमा ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको मूर्ति कार्यशालामा उनले ‘प्रलयको सँघारमा पृथ्वी’ विषयमा मिसाइल आधा गाडिएको मूर्ति बनाए। २०६८ सालमा उनले आसुरी प्रवृत्तिको मानिसभित्र पनि सद्गुणी चरित्र लुकेको हुने संकेत गर्दै एक महीना लगाएर १९ इन्च अग्लो मूर्ति बनाए र नाम दिए, ‘शान्तिको आविष्कार।’ “मान्छेले झट्ट हेर्दा नबुझिएला, कलाकारले शान्तिको चाहना यसरी नै प्रकट गर्ने हो”, उनी भन्छन्।

 

 

 

 

प्रतिकृया दिनुहोस