समाचारशुक्रबार, २५ माघ , २०७५

इलाममा प्रदुषण कर हट्यो

हिमालखबर

जिल्लावासीको चर्को विरोधपछि इलाम नगरपालिकाले लिँदै आएको अतिरिक्त प्रदुषण कर हटाउने भएको छ ।

इलाम नगरपालिकाभित्रका पम्पबाट पेट्रोलियम पदार्थमा लिइँदै आइएको अतिरिक्त कर नगरकार्यपालिकाको बैठकले हटाउने निर्णय गरेको हो । संघीय सरकारले यसअघि नै यो कर हटाउन पत्र पठाए पनि इलाम नगरपालिकाले वास्ता गरेको थिएन ।

इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले १ फागुनबाट यो कर नलिने निर्णय भएको बताए । नगरपालिकाले गत ७ भदौबाट प्रतिलिटर इन्धनबाट ५० पैसा ‘प्रदुषण नियन्त्रण कर’ भनेर लिँदै आएको थियो ।

तर, नगर कार्यपालिकाको बैठकले आउँदो आर्थिक वर्षदेखि घरबहाल कर सातबाट १० प्रतिशत बढाउने निर्णय गरेको छ । प्रदेश सरकारबाट नै न्यूनतम १० प्रतिशत घरबहाल कर उठाउनु भनेर आदेश आएपछि कर बढाउन लागिएको प्रमुख बस्नेतको भनाइ छ । –रासस

प्रतिकृया दिनुहोस