समाचारबिहिबार, २४ माघ , २०७५

दाङमा सडक दुर्घटना, एकजनाको मृत्यु, प्रदेश सांसद सहित १६ जना घाइते

हिमालखबर

बुटवलबाट दाङ जाँदै गरेको बा १८ च ६८३६ नम्बरको कार र घोराहीबाट लमही जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

दाङको घोराही–लमही सडक खण्डको मुसोट खोला नजिकै भएको दुर्घटनामा परि रूकुम पश्चिमको खलंगा नगरपालिका वडा नं. २ मुसिकोटकी २७ बर्षीया रमिता शर्माको मृत्यु भएको हो ।

दुर्घटनामा परि दाङ क्षेत्र नं. ३, प्रदेशसभा ख बाट निर्वाचित सांसद उत्तर वली घाइते भएका छन् । उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ ।

वलीलाई फ्लोरेन्स अस्पताल, लमहीमा सामान्य उपचार गरि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सांसद वलीको गाडीमा सवार एक जना सहित बसमा सवार १४ जना घाइते छन् । उनीहरुको अवस्था सामान्य छ ।

प्रतिकृया दिनुहोस