समाचारबिहिबार, २४ माघ , २०७५

विद्यार्थीलाई ‘झरी बिदा’

हिमालखबर

 मुगु जिल्लाभरि रहेका सामुदायिक तथा निजी विद्यालयमा बिहीबार झरी बिदा दिइएको छ ।

 हिमपातकै बीचमा सञ्चालित बडिमालिका नगरपालिका ७ ढम्कनेस्थित सरस्वती आधारभूत विद्यालय । तस्वीरहरु: प्रकाश सिंह

बिहानदेखि जिल्लामा उच्च क्षेत्रमा हिमपात र बेसीमा पानी पर्न थालेपछि मुगु जिल्लाका प्रायः विद्यालयले १० बजे विद्यालय खोलेर प्रार्थना र राष्ट्रिय गानपछि झरी बिदा दिइएको हो ।

अत्यधिक चिसो र झरीका कारण विद्यालयमा विद्याथीको न्यून उपस्थिति र शिक्षकलाई अध्यापन गर्नसमेत जाडोले समस्या भएपछि अधिकांश विद्यालयले विद्याथीलाई झरी बिदा दिएका हुन् । शिक्षक भने आगो बालेर ताप्दै विद्यालयमा बसेका थिए ।

छायाँनाथ रारा नगपालिकास्थित महाकाली नमूना माविका प्रध्यानाध्यापक देवबहादुर मल्लले बिहानदेखि पानी पर्न थालेपछि एक हजार २०० विद्यार्थीमा २०० जनासम्म मात्र विद्यालय आएकाले पढाइ हुन नसकेको बताए ।

नगरक्षेत्रका ४४ सामुदायिक, ६ निजी विद्यालय र एक वटा क्याम्पसमा आज झरी र चिसोका कारण अध्यापन प्रभावित भएको छ ।

जिल्लाका यातायातका दुई विकल्पमध्ये दुई साताअघि देखि कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी सडकखण्डको घुच्ची, बुलबुलेमा चार फिट हिउँ जम्दा यातायातका साधन बन्ध भएका छन् भने रारा विमानस्थलमा पनि आज उडान भएनन् । –रासस

हिमपातले सास्ती
हिमपातले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका बझाङ्ग, हुम्ला, जुम्ला, बाजुरा, दार्चुला, बैतडी, अछाम लगायत जिल्लाको जनजीवन प्रभावित भएको छ ।

बाजुराको पाण्डुसैन र मार्तडीको विचमा पर्ने पोरखे लेखमा धेरै हिमपात भएपछि सदरमुकाम उत्तर कोल्टि सम्मको यातायात बन्द भएको छ । बझाङ्गको काँडा, दोलिचौर, सुरमा, गडरा लगायतका उच्च भागमा हिमपाँत भएको छ ।

मुगुका दोल्पु, किरमी, पोलु, मुगु लगायतका ठाँउमा हिमपात हुँदा भेडा चरिचरन र सामान ढुवानी गर्न निकै समस्या भएको स्थानीय लोकबहादुर विश्वकर्मा बताउँछन् ।

हिमपातकै कारण नेपालगञ्जबाट बाजुरा, हुम्ला, जुम्ला, डोल्पा, मुगुमा हुने नियमित उडान सेवा बन्द भएका छन् । प्रकाश सिंह, बाजुरा



 

 

प्रतिकृया दिनुहोस