समाचारबिहिबार, २४ माघ , २०७५

हिमपातले एसइई तयारी प्रभावित, जुफाल विमानस्थल बन्द

हिमालखबर

हिमाली जिल्ला डोल्पामा आज बिहानैदेखि भारी हिमपात शुरु भएको छ ।

हिमपातका कारण जिल्लाका विभिन्न विद्यालयमा एसइई परीक्षाको तयारी कक्षा लिइरहेका एक हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

“यस वर्ष लगातार चौथो पटकसम्म परेको हिमपातले चिसो अत्यधिक बढेको छ, बढ्दो चिसोका कारण एसइई तयारी कक्षा लिन आउन विद्यार्थीको संख्या ज्यादैं घटेको छ,” जनप्रभा मावि लिकुका शिक्षक दीपक पराजुलीले भने, “बिहानैदेखि हिमपात हुन थालेपछि विद्यालय चौरमा बाक्लो हिँउ जमेको छ ।”

जिल्लाका जनप्रभा मावि लिकु, त्रिपुराकोट मावि मद्यु, आदर्श मावि जुफाल, सरस्वती मावि दुनै लगायतका आधा दर्जन विद्यालयमा एसइई तयारी कक्षा सञ्चालन भइरहेको छ । हिमपातका कारण बढेको चिसोले कोठामै बसेर पढन सकिने भए पनि हात बाहिर झिकेर लेख्न गाह्रो हुने जनप्रभा माविमा एसइई तयारी कक्षा लिइरहेकी छात्रा सरीता देवकोटा बताउँछिन् ।

यसअघि तेस्रो पटकसम्म परेको हिँउ बिलाउन नपाउँदै पुनः हिमपात शुरु भएपछि डोल्पालीको जनजीवन थप कष्टकर बनेको छ । पशुवस्तुलाई घाँसपात गर्नसमेत समस्या भएको छ ।

जुफाल विमानस्थल बन्द
बिहानदेखि शुरु भएको हिमपातका कारण जुफाल विमानस्थलमा बाक्लो हिँउ जमेको छ । जहाज अवतरण गर्ने हवाई मार्गमा नै बाक्लो हिँउ जमेपछि जुफाल विमानस्थल आज अवरुद्ध भएको हो ।

हिमपातका कारण नेपालगञ्जदेखि हुने कुनै पनि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण जुफालका प्रमुख बालकुमार शर्माले बताए ।

विमानस्थल अवरुद्ध भएपछि यात्रु विमानस्थलमै अलपत्र परेका छन् भने दैनिक उपभोग्य सामग्री ढुवानी गर्नसमेत समस्या भएको छ । बिहानदेखि शुरु भएको हिमपात बेलुकीसम्म जारी रहे दुई–तीन दिनसम्म जुफाल विमानस्थल अवरुद्ध हुने सम्भावना रहेको शर्माले बताए ।

प्रतिकृया दिनुहोस