समाचारबुधबार, २३ माघ , २०७५

हत्या अभियोगमा तीन पक्राउ

हिमालखबर

तनहुँको भानु नगरपालिका–९ काउरेटारका २७ वर्षीय राजु विकको हत्या गरेको अभियोगमा तीनलाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा लमजुङ दूधपोखरी गाउँपालिका–२ स्थायी घर भएका हाल काउरेटारमा बस्ने २८ वर्षीया मनकुमारी विक, लमजुङ दोर्दी गाउँपालिका–३ लामागाउँ स्थायी घर भएर हाल सोही ठाउँ बस्ने २४ वर्षीय आयुष विक र लमजुङ दूधपोखरी–२ का ३५ वर्षीया मनमाया विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

विकको शव सोमबार काउरेटारस्थित रामप्रसाद हड्खलेको बारीमा खनिएको इनारभित्र फेला परेको थियो। दिदी मनकुमारीसमेतले गत १२ मङ्सिर राति कुटपिट एवं चिर्पट प्रहार गरेर घाँटीमा नाम्लोले कसेर राजुको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

पक्राउ परेकामध्ये मनकुमारी र मनमाया दिदी हुन् भने आयुष भाइ हुन्। उनीहरुले राजुलाई मारेपछि इनारभित्र फालेर माथिबाट ढकन लगाएर शव छोपेका थिए। राजुको शव कुहिएर गन्ध आउन थालेपछि स्थानीयवासीले इनार खोलेर हेर्दा शव भेटिएको थियो। पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदातलमा आज म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए। – रासस

प्रतिकृया दिनुहोस