थप समाचारबुधबार, २३ माघ , २०७५

हराएका ७० प्रतिशत मोबाइल भेटिंदैनन्

हिमालखबर

मध्यपुर थिमि–१ लोकन्थली बस्ने अरविन्द आचार्यको सामसुङ ग्यालेक्सी जे फाइभ मोबाइल सार्वजनिक यातायातमा बालकोटबाट कौशलटार आउने क्रममा हरायो । उनले महानगरीय प्रहरी वृत्त थिमिमा २३ मंसीरमा मोबाइल खोजिदिन आग्रह गर्दै निवेदन दिए।

प्रहरीले उक्त मोबाइल स्वयम्भूका एक व्यक्तिसँग फेला पारी गत १५ माघमा उनलाई बुझायो ।

मध्यपुर थिमि–१ लोकन्थली नै बस्ने कीर्तिनधि भट्टको भिभो भि नाइन मोबाइल स्थानीय निष्ट स्कूल नजिक हराएपछि ३ माघमा प्रहरीमा रिपोर्ट गरे ।

प्रहरीले सो मोबाइल सेट १० दिनपछि लोकन्थलीबाटै फेला पारी भट्टलाई १४ माघमा दियो ।

त्यसैगरी गत २० पुसमा मध्यपुर अस्पताल हाताबाटै हराएको मध्यपुर थिमि राधेराधे बस्ने मोहनकृष्ण खनालको सामसुङ ग्यालेक्सी जे सेभेन मोबाइल २० दिनपछि प्रहरीबाट खनालले पाए । प्रहरीले सो मोबाइल नयाँ बानेश्वरमा फेला पारेको थियो ।

महानगरीय प्रहरी वृत्त थिमिले चालू आर्थिक वर्ष २०७५÷७६ मा मात्र ३५ वटा हराएका मोबाइल फेला पारी मोबाइल धनीलाई बुझाएको छ । वृत्तका अनुसार हप्तामा दुई–चार वटा मोबाइल हराएका निवेदन आउने गरेको छ।

हराएकामध्ये महीनामा पाँच–सातवटा मोबाइल फेला पर्ने गरेको छ । प्रहरीले हराएको मोबाइलका सम्बन्धमा निवेदन लिनका लागि मोबाइल सेटको प्रकार र मोबाइल सेटमा हुने आइओएमआई नम्बरसहितको विवरण उल्लेख भएको निवेदनको ढाँचा नै तयार गरी लागू गरेको छ।

पीडितले सो निवेदन भरेर दिएपछि निवेदनलाई प्रहरीको अपराध महाशाखा टेकुमा अनुसन्धान र खोजतलासका लागि पठाउने गरिएको वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए।

उनका अनुसार मोबाइलको खोजी र अनुसन्धान गर्न नेपाल प्रहरीले हाललाई अपराध महाशाखामा मात्र युनिट खोलेको छ ।

मोबाइल सेवा प्रदायक टेलिकम कम्पनीसँग पनि सहकार्य र समन्वय गर्नुपर्ने र मोबाइल खोजीको प्रविधिका कारण पनि हाललाई महाशाखामार्फत मोबाइलको खोजी तथा अनुसन्धान गर्ने गरिएको उनले बताए।

मोबाइल हराएको निवेदनका आधारमा खोज तथा अनुसन्धान गर्ने र फेला परेपछि कुन प्रकृतिबाट हराएको सो अनुसार कारवाही अघि बढाउने गरेको केसीले बताए ।

“चोरी भएको निवेदन हो भने चोरी मुद्दा दायर गरी कारबाही अघि बढाउने गरेका छौँ,” उनले भने, हाल छ वटा मोबाइल चोरीका मुद्दा अदालतमा विचाराधीन छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले परिसर र परिसर मातहतका जिल्लाका दुई प्रहरी वृत्तमा गरी सरदर दैनिक एक मोबाइल हराएको निवेदन पर्ने गरेकोमा २५ देखि ३० प्रतिशत मोबाइल फेला पर्ने गरेको बताए। – रासस

 

प्रतिकृया दिनुहोस