थप समाचारमंगलबार, २२ माघ , २०७५

मेयर र वडाध्यक्ष नै ‘विद्युत् चोर’

हिमालखबर

रौतहटको गढीमाई नगरपालिका मेयर र वडाध्यक्ष विद्युत् चोरीमा संलग्न पाइएको छ ।

नेपाल विद्युत प्राधिकरणको विद्युत चुहावट नियन्त्रण महाशाखा काठमाडौंबाट खटिएको टोलीले मेयर श्यामप्रसाद यादव (ग्राहक नं ००८.१३.०१) र वडा–६ का अध्यक्ष रामसिंघासन यादव (ग्राहक नं ०७.२०.०३ ए) र गरुडा नगरपालिका–१ का अध्यक्षसरोजराय यादव (ग्राहक नं १८.०८.१९)ले विद्युत चोरी गरेको फेला पारेको हो ।

महाशाखाले गौर क्षेत्रमा विद्युत् चोरी अत्याधिक भएको गुनासो आएपछि इन्जिनियर प्रदिपकुमार शर्माको नेतृत्वमा छड्के जाँच टोली खटाएका थिए । टोलीले १४–२० माघमा गरेको यस्तो जाँच गरेको थियो ।

जाँचका क्रममा मेयर यादवले ‘हुकिङ’ गरी घरमा विद्युत् प्रयोग प्रयोग गरिरहेको पाइएको र उक्त लाइन काटिएको इञ्जिनियर शर्माले बताए ।

“सुरक्षाका कारण मेयरको घरमा राखिएको मिटर खोल्न नसकिएको बताए”, उनले भने । जाँच टोलीले घटनास्थलको मुचुल्कामा मेयरका भाइ संञ्जिवकुमार यादवले हस्ताक्षर गरेको बताए । विद्युत् चोरीमा मेयरविरुद्ध प्राधिकरणको गौर शाखाले कारबाही गर्ने पनि उनले बताए ।

टोलीले गढीमाई–६ का अध्यक्ष रामसिंघासन यादवले त घरमा मात्र नभइ वडा कार्यालय र धरमपुर स्वास्थ्य चौकीमा समेत चोरीकै विद्युत् प्रयोग भइरहेको फेला पारेको छ । “विद्युत् चोरी धेरै देखिएकाले त्यस क्षेत्रको टान्सफर्मरबाटै लाइन काटेका छौं”, शर्माले भने ।

गरुडा–१का अध्यक्ष सरोज राय यादवले भने मिटर बाइपास गरी घरमा बिजुली प्रयोग गरेका थिए । टोलीका अनुसार, वडाध्यक्षले आफ्नो घरमा मात्रै होइन, दाजुभाइको घरमा समेत चोरीकै विद्युत् दिएका थिए ।

प्रतिकृया दिनुहोस