थप समाचारमंगलबार, २२ माघ , २०७५

‘विस्तारित चक्रपथको डिजाइन कस्तो–कस्तो !’

हिमालखबर

कलंकी–कोटेश्वर विस्तारित चक्रपथ कुन मोडलमा बनाइएको भन्नेबारे आफूहरु नै अलमलमा रहेको ‘ट्रान्सपोर्ट इन्जिनियर’हरुले बताएका छन् ।

आज ललितपुरको पाटनढोकामा आयोजिक ‘सुरक्षित चक्रपथ’ विषयक अन्तरक्रिया कार्यक्रममा इन्जिनियरहरुले चक्रपथको डिजाइन शहर अनुकुल नभएको बताएका हुन् ।

कार्यक्रममा बोल्दै इन्जिनियर शुभेच्छा भट्टले चक्रपथ जस्तो डिजाइन अन्य कुनै पनि मुलुकमा आफूले नदेखेको बताएकी छन् । उनले प्रश्न गरिन् “चक्रपथको बीचमा राखिएको थोरै अग्लो भाग के हो ? आकर्षक बनाउन राखिएको हो की ? त्यसको अरु केही उपयोगीता छ ? मैंले बुझ्न सकेकी छैन ।”

मिडियन, ग्रिन बेल्ट, प्रर्याप्त टर्निङ प्वाइन्ट नभएको यस्तो शहरी सडक संसारकै नमुना भएको भन्दै भट्टले व्यङग्य समेत गरिन् ।

अष्ट्रेलियाबाट भिडियोकल मार्फत आफ्नो भनाइ राखेका इन्जिनियर पार्थ पराजुलीले आठ लेनको सडकमा जेब्रा क्रस कुनै मुलुकमा नहुने बताए । उनले भने “अन्य मुलुकमा आठ लेनको सडक पार गर्नको लागि कि अन्डर पास हुन्छ, कि ओभरहेड ब्रिज ।” चक्रपथको डिजाइनमा गम्भीर त्रुटी भएको उनको भनाइ छ ।

वातावरण इन्जिनियर भुषण तुलाधरले चक्रपथ विस्तारको क्रममा वातावरणीय प्रभाव मुल्याङ्कन नभएको र ग्रिन बेल्ट नराखिएको भन्दै आपत्ती जनाएका छन् । ग्रिन बेल्ट स्वच्छ वातावरणका साथै सुन्दर शहरका लागि पनि आवश्यक रहेको उनको भनाइ छ ।

त्यस्तै, कार्यक्रममा पूर्व ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथुले चक्रपथ असुरक्षित भएको बताएका छन् । “चक्रपथ कुनै पनि हिसाबले प्रयोग गर्न लायक छैन ।” उनले भने– “तुरुन्तै सडकको बीचमा प्लाष्टिककै भएपनि डिभाइडर राख्न आवश्यक छ ।” ठाउँठाउँमा जेब्रा क्रसिङ र ट्राफिक लाइट जति सक्दो चाँडो राख्नुपर्ने उनले सुझाएका छन् ।

 

 

प्रतिकृया दिनुहोस